गण्डकी प्रदेशले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न भन्दै गत चैतमा १५ करोड बजेट विनियोजन गरेर ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बनायो।
उक्त कोषमा निजी तथा सामुदायिक क्षेत्रबाट ३ करोड ३ लाख भन्दा बढी रकम जम्मा भएको छ।
कोषमा संकलन भएको रकम स्वास्थ्य सामाग्री खरिद, उपचार, राहत लगायतमा खर्च भएका छन्।
हालसम्म १४ करोड ४२ लाख बढी रकम खर्च भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै रकम कोरोना रोकथाम, नियन्त्रण र उपचारका सामाग्री खरिदमा खर्च भएका छन्।
कोषबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसोलेसन वार्ड बनाउन ५० लाख, धौलागिरी अञ्चलअस्पताल बाग्लुङमा आइसियु कक्ष बनाउन ६० लाख, चीनबाट आएको पिसिआर मेसिनमा सफ्टवेयर खरिद गर्न ५ लाख, धौलागिरी अस्पतालमा चैतदेखि ५ जना स्टाफ नर्स करारमा भर्ना गर्दा असारसम्मको तलब बापत ४ लाख ३३ हजार खर्च भएको छ।
यस्तै, प्रदेश आपुर्ति केन्द्र मार्फत कोरोना संक्रमण नियन्त्रण तथा उपचारका सामग्री खरिद गर्दा ५ करोड ५ लाख, चिनियाँ पिसिआर मेसिन ल्याउँदा हेलिकप्टर खर्च २ लाख २२ हजार भएको छ।
प्रदेशका ११ वटै जिल्ला अस्पताललाई आईसियु व्यवस्थापन तालिमका दिँदा ३ लाख १८ हजार, प्रदेश प्रयोगशाला स्थापनामा २१ लाख ५० हजार खर्च भएको छ।
प्रदेश आपुर्ति केन्द्रबाट पुनः कोरोना परिक्षण लगायतका सामाग्री खरिद गर्न ७ करोड ३१ लाख रुपैयाँ विनियोजन भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आपुर्ति केन्द्रबाट एउटा पिसिआर मेसिन २९ लाख ८८ हजारमा खरिद भइसकेको छ भने अर्को मेसिन खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ।
यस्तै, भिटिएम किट २६ हजार थान, पिसिआर किट १७ हजार ५ सय थान, पिपिई ६ सय थान, पिसिआर टेष्टका लागि पिपिई १२ सय थान, माइक्रो सेन्टी फ्युज, मास्क, ग्लब्स लगायतका सामग्री खरिद गरेको आपुर्ति केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताए।
कोरोना रोकथाम कोषबाट स्याङ्जाको कालिका सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड बनाउन १० लाख, प्रदेशका ११ जिल्लालाई नमुना संकलन, ट्रेसिङ लगायतका खर्च गर्न ४९ लाख रुपैयाँ पठाएको छ।
यही कोषबाट स्थानीय सरकार मार्फत मजदुर तथा विपन्न नागरिकलाई राहत दिन ५ करोड ५० लाख खर्च भएको जनाएको छ।
प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा रहेको कोष परिचालन समितिले निर्णय गरेर उक्त खर्च भएका हुन्।
कोरोना रोकथाम कोषमा प्रदेश सरकार र निजी तथा सामुदायिक क्षेत्रबाट १८ करोड ३ लाख १२ हजार जम्मा भएकोमा १४ करोड ४२ लाख ९५ हजार खर्च भइसकेको छ।
कोषमा अब ३ करोड ६० लाख १७ हजार रुपैयाँ मात्र बाँकी रहेको छ।
प्रदेश सरकारले कोषमा पुन १५ करोड थप्ने तयारी गरेको छ।
बिहीबार संसदमा बोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले कोषमा २ पटक गरी ३० करोड बजेटको व्यवस्था गरेको बताएका थिए।
कोष स्थापना गर्दा १५ करोड र अब प्रदेशको मन्त्रीपरिषद् बैठक बसेर १५ करोड थप्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले जनाएको छ।