अछामको बयलपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै जिउमा आगो लगाएर मृत्यु भएका सिद्धार्थ आउजीबारे सुदुरपश्चिम प्रदेशसभामा चर्चा चलेको छ।
प्रदेश सांसदहरूले मृतक आउजीकी पत्नीलाई रोजगारी र बच्चाको शिक्षादीक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्।
छैठौं अधिवेशनको बाह्रौं बैठकको शून्य समयमा प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले अस्पतालमा सरसफाई कर्मचारीको रुपमा कार्यरत आउजीको मृत्युको घटना दुखद भएको भन्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए।
'मृतकको परिवारलाई क्षतिपूर्ति, श्रीमतीलाई जागिर दिलाउन म प्रदेश सरकारलाई आग्रह गर्छु,' उनले भने 'नमुना अस्पातलको रूपमा रहेको बयलपाटा अस्पतालले आर्थिक मन्दीका कारण कर्मचारी निकाल्नुपर्दा त्यहाँको स्वास्थ्य क्षेत्रमा प्रभाव परेको छ।'
अर्का सांसद अक्कलबहादुर रावलले पनि बयलपाटा अस्पतालमा घटेको घटना दर्दनाक भएको बताए।
उनले यस घटनाबारे छनाविन गर्न प्रदेश र संघ सरकारको ध्यानाकर्षण गरे।
प्रदेशसभा सदस्य अमरबहादुर साउदले पनि मृतक आउजीकी श्रीमतीको रोजगारी र छोरोछोरीको नि:शुल्क पठनपाठनको माग गरे।
अर्का सांसद अम्बीकुमारी थापाले जागिरबाट निकालिएका कारण आत्मदाह गरेका आउजीकी श्रीमतीलाई त्यहीँ अस्पतालमा रोजगारीको व्यवस्था र छोराछोरीको निशुल्क उच्चशिक्षाको व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने माग गरिन्।
उनले विभिन्न राजनीतिक दल बसेर महामारीमा जगिरबाट निकाल्नु हुँदैन भन्दा पनि प्रशासनले कर्मचारी निकालेको विषयमा छानबिन हुनुपर्ने माग राखिन्।
आउजीले सोमबार बयलपाटा अस्पतालमा आफ्नै शरीरमा आगो लगाएका थिए। उक्त अस्पतालमा उपचार हुन नसक्ने भएपछि उनलाई नेपालगन्ज पुर्याइएको थियो।
उपचारको क्रममा सोमबारै उनको मृत्यु भएको थियो। बयलपाटा अस्पताल सञ्चालन गर्ने न्याय हेल्थ नेपालले जुलाई अन्त्यपछि उनी लगायत ३५ जना कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको थियो।
दाताहरूले दिएको अनुदानले चल्ने उक्त अस्पतालका लागि रकम आउन कम भएको भन्दै न्याय नेपालले कर्मचारी कटौती गर्ने निर्णय गर्नुपर्ने जनाएको थियो।