भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुलाई समेत सरकारले पिसिआर गराउन नसक्ने बताइरहेका बेला केही सांसदहरूले दोस्रो पटकसम्म पिसिआर परीक्षण गरेका छन्।
संसद बैठकमा सहभागी हुन सांसदहरूले कोरोना जाँचका लागि अनिवार्य पिसिआर गर्नुपर्ने व्यवस्था संसद सचिवालयले गरेको छ।
संसद सचिवालयले सांसदहरूलाई आचारसंहिता जारी गर्दै उपत्यका छाड्न रोक लगाएको थियो। तर सांसदहरू राहत बाँड्ने नाममा जिल्ला पुगेर आउने र पुन: पिसिआर परीक्षण गराउन थालेका हुन्।
अर्कोतर्फ सरकारले क्वारेन्टिनमा भएका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्ने निर्देशिका जारी गरेको छ। परीक्षणको चाप बढेपछि सरकारले कोभिड-१९ टेस्टिङको नयाँ निर्देशिका जारी गर्दै लक्षण नदेखिएकाको पिसिआर परीक्षण नगर्ने नीति लिएको हो। तर सांसदहरूले भने पिसिआर गराएका हुन्।
सम्बन्धित समाचार :
अब क्वारेन्टिनमा भएका सबैको पिसिआर परीक्षण नहुने, यस्तो छ नयाँ निर्देशिका
सांसदहरूको गत वैशाख २५ र २६ गते नयाँ बानेश्वरस्थित संसद भवन परिसरमै पिसिआरका लागि स्वाब संकलन गरिएको थियो। तर जिल्ला पुगेर फर्किएका सांसदहरूलाई संसद सचिवालयले पुन: टेकु अस्पतालमा रिफर गर्दै पिसिआर गराएको हो।
संसद सचिवालयका स्वास्थ्य शाखाका डाक्टर पुष्प रिजालका अनुसार १५ जनाभन्दा धेरै सांसदले दोस्रो पटक पिसिआर गराएका छन्।
पिसिआर गराउनेमा सांसदहरू कृष्णबहादुर महरा, कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठ, केदार सिग्देल, मातृका यादव, पदम गिरीलगायत रहेका छन्।
'गाउँमा मान्छे मरेका छन्, राहत बाँड्न जानुपर्ने हुन्छ, स्थानीयको दु:खमा जनप्रतिनिधि नजाने भन्ने हुँदैन भनेर भन्नुहुन्छ', रिजालले सेतोपाटीसँग भने, 'हामीले त पिसिआर नगरी संसद बैठकभित्र नछिराउने भएकाले जिल्लाबाट फर्किएको ४८ घन्टाअघि जानकरी गराउन भन्ने गरेका छौं।'
पर्वतका सांसद पदम गिरीले आफू पारिवारिक काम भएकाले जिल्ला गएको सेतोपाटीलाई बताए।
'पारिवारिक काम थियो, जिल्ला पुगेर आएँ', गिरीले सेतोपाटीसँग भने, 'पिसिआर गराएको हुँ। रिपोर्ट नेगेटिभ आएको छ।'
नेकपाकै सांसद एवम् पूर्वसभामुख कृष्णबहादुर महराले पनि रोल्पा पुगेर गोरु जोतेको भिडिओ केही दिन फेसबुकमा पोस्ट गरेका थिए। महराको पनि स्वाब संकलन गरिएको डाक्टर रिजालले बताए।
नेकपाका प्रमुख सचेतक देव गुरूङले जिल्ला गएर फर्किएका सांसदहरूको पिसिआर परीक्षण गरिएको बताए।
'बाहिर जिल्ला नजान आचारसंहिता जारी भएको छ', गुरुङले भने, 'काम परेका माननीयहरू जानुहुन्छ। उहाँहरूले पुन: पिसिआर गर्नुहुन्छ।'