पर्वतको कुश्मा नगरपालिका ३ का ३५ वर्षे युवा जेठ २१ गते मोदी खोलामा माछा मारेर मोटरसाइकलमा फर्कदै थिए।
अचानक मोटरसाइकल दुर्घटनामा परे। दुर्घटनाबाट उनको टाउकोमा चोट लाग्यो। उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल भर्ना भए।
टाउकोमा गम्भिर चोट लागेका कारण उनको अप्रेसन गर्नुपर्ने भयो। अप्रेसनअघि कोरोना भाइरस परिक्षण गर्न अस्पतालले स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठायो। स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको रिपोर्ट शुक्रबार बिहान मात्रै आयो।
मोटरसाइकल दुर्घटनामा घाइते भएका युवालाई भेट्न आफन्त र शुभचिन्तक अस्पताल पुगेका थिए। यही क्रममा पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरी समेत ति युवालाई भेट्न अस्पताल पुगे।
‘म ४, ५ दिनअघि भेट्न गएको हो, तर नजिक गइनँ’ सांसद गिरीले सेतोपाटीलाई भने, ‘बेडसम्म पनि पुगिनँ, उनी निदाइरहेका थिए।’
काठमाडौं फर्केर सांसद गिरीले पनि स्वाब परिक्षण गरेको बताए। ‘बिहिबार मैले कोरोना परिक्षणका लागि स्वाब दिएको थिएँ, आज बिहान ११ बजे रिपोर्ट आयो,’ उनले भने, ‘मेरो पिसिआर रिपोर्ट नेगेटिभ छ।’
ती युवाको कुनै ‘ट्राभल हिष्ट्री’ नभएको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बताए। ‘उहाँलाई कोरोना अस्पतालबाटै सरेको हुनुपर्छ, उनले सेतोपाटीलाई भने, होइन भने कहीं नगएको, कसैलाई नभेटेको मान्छेलाई कसरी कोरोना लाग्छ।’
कोरोना पुष्टि भएसँगै ति युवालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा सारिएको छ। उनीसँगै गण्डकी प्रदेशमा शुक्रबार मात्र ४१ जना नयाँ संक्रमित थपिएका छन्।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए।