जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
पार्टीको दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहित शीर्ष नेताहरुको बैठकले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
'हामीले संविधान संशोधन पक्षमा मतदान गर्ने निर्णय गरेका छौं', जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सेतोपाटीसँग भने।
समाजवादी पार्टीले संविधान संशोधनको विषयमा सदस्यहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छ। त्यसका लागि पार्टीले शनिबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत डाकेको छ।
'हामीले संविधान संशोधनको पक्षमा उभिने र मतदान गर्ने निर्णय गरेका छौँ', पार्टीका नेता शरतसिंह भण्डारीले सतोपाटीसँग भने, 'हामीले सरिता गिरीलाई पनि स्पष्ट रुपमा संविधान संशोधन माथि दर्ता गराएको संशोधन फिर्ता लिन सुझाव दिएका छौँ।'
समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले नयाँ नक्सा समेट्न ल्याएको संविधान संशोधन विधेयकमाथि नै संशोधन दर्ता गराएकी छिन्। समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनी सहितको पत्र दिइसकेका छन्।
गिरीलाई पनि भोलिको संसदीय दलको बैठकमा डाकिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए।
'उहाँले बैठकमा संविधान संशोधन प्रस्तुत भएपछि छलफलमा पनि फिर्ता लिन सक्नुहुन्छ', अरगरियाले भने, 'त्यसअघि पार्टीको बैठकमा पनि छलफल हुन्छ।'