प्रतिनिधि सभाबाट शनिबार नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्ने प्रस्ताव सर्वसम्मतले पारित भयो। २७५ सांसद मध्ये २५८ सांसद मतदानमा सहभागि भएर पक्षमा मत दिए।
बाँकी १७ सांसद मध्ये ४ सांसद निलम्बित छन्। सभामुख अग्नि सापकोटाले मत दिएनन्। तर कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूभाग नक्सामा समेटिएको ऐतिहासिक संसद बैठकमा १२ सांसद अनुपस्थित भए।
अनुपस्थित हुनेमा सबैभन्दा धेरै सत्तारुढ नेकपाका सांसद छन्। नेकपाका ४ सांसद बैठकमा गएनन्।
नेकपाका मुगुका सांसद गोपालबहादुर बमले ऐतिहासिक दिनमा सहभागि हुन नपाउँदा दु:ख लागेको बताए। 'मेरो घाँटीमा इन्फेक्सन भएको छ', बमले भने, 'मैले दलमा जानकारी गराएर आराम गरिरहेको छु।' उनले आफूले नर्भिक अस्पतालमा उपचार गराएको बताए।
नेकपाकै अर्का सांसद हरिबोल गजुरेल लडेर घाइते भएका छन्। उनी घरमै ट्वाइलेटमा चिप्लिएका हुन्। नेकपाकी सचेतक शान्ता चौधरीले गजुरेल अशक्त हुने गरि लडेको बताइन्।
नेकपाका अन्य दुई सांसद धनबहादुर बुढा र शिवकुमार मण्डल पनि बैठकमा अनुपस्थित रहे। मण्डल विराटनगरमा रहेको नेकपाका एक नेताले जानकारी दिए।
'हामीले सिरियस ह्विप लगाएका थियौँ। धनबहादुर बुढाले सुगर बढेर आउन नसक्ने भन्नु भएको जानकारी आएको छ। तर त्यो कारण हुनुपर्ने देखिदैँन। केही साथीहरुलाई उहाँले बैठकबारे थाहै भएन पनि भन्नुभएछ', ती नेताले सेतोपाटीसँग भने, 'शिवकुमार मण्डलले बैठकबारे थाहा पाइएन भन्नु भएछ।'
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पनि ३ सांसद बैठकमा अनुपस्थित भए। कांग्रेस सचेतक पुष्पा भुसालले तीनै जनाको स्वास्थ्यमा समस्या रहेको र दललाई पूर्व जानकारी गराएको बताइन्। 'ज्ञानकुमारी छन्त्याल गंगालाल अस्पतालमा भर्ना हुनु भएको छ, उहाँको अवस्था गम्भीर छ, अर्का सूर्यबहादुर केसी पोखरामा हुनुहुन्छ। उहाँ किड्नीको बिरामी हुनुहुन्छ। समस्या भएकाले हिँड्न सक्नु भएन', भुसालले भनिन्, 'नागेन्द्र कुमार सरको पनि स्वास्थ्य समस्याले नआउनु भएको हो।'
उनले पार्टीलाई पूर्व जानकारी गराएरै सांसदहरु अनुपस्थित भएको बताइन्।
राजपाका पनि ३ सांसद बैठकमा अनुपस्थित भएका थिए। सांसद अमृता अग्रहरी बैठकमा सहभागि भएपनि मतदान सुरु हुनु अघि बैठक कक्षबाट बाहिरिएकी थिइन्।
'म बैठकमा गएको थिएँ। डाइरिया भयो । संसद भवनको ट्वाइलेट कति आउने जाने गर्नु भनेर घर आएँ। पछि पानी पनि पर्यो। जान पाइएन', अग्रहरीले भनिन्, 'संविधान संशोधनमा हाम्रो पार्टीको समर्थन छ। मेरो पनि छ।'
राजपाकै अर्की सांसद दुलारी देवी खत्वेनी भने छोराको विवाहमा सहभागी हुन सप्तरी पुगेकी छिन्।
खत्वेनीका श्रीमान् महेन्द्र खङ्गले २८ गते छोराको विवाहमा सहभागि हुन श्रीमती सहित परिवारै सप्तरी आएको बताए। साथै उनले काठमाडौं फर्कन नसकेको उल्लेख गरे। 'काठमाडौं जान सिडिओको आदेश, गृह मन्त्रालयको आदेश चाहिन्छ। बैठकमा सहभागि हुन पनि फेरी पिसिआर टेस्ट गर्नुपर्छ', उनले भने, 'त्यसैले बैठकमा काठमाडौं आउन सकिएन।'
राजपाका अनुपस्थित अर्का सांसद प्रमोद साहले पनि आफ्नो स्वास्थ्यको कारण उपस्थित हुन नसकेको बताए। 'म त जनकपुर पुगेर जाँच गरेर अहिले सर्लाही आएर आराम गरिरहेको छु', साहले भने, 'समस्या भएर आवाज समेत ननिस्कने अवस्था भएको छ।'
समाजवादी पार्टीका दुई सांसद मत विभाजनमा अनुपस्थित भएका थिए। समाजवादी पार्टीकी सांसद सरिता गिरी बैठकमा सहभागि भएपनि बहिष्कार गरेर हिँडेकी थिइन्। समाजवादीकै अर्का सांसद सूर्य नारायण यादवले भने आफू व्यक्तिगत कारणले सप्तरी आएको बताए। उनले सेतोपाटीको जिज्ञासामा कारण खुलाउन चाहेनन्।
'म जिल्ला आएको छु। अनुपस्थित हुनुको कारण राजनीतिक होइन। यसअघिको संविधान संशोधनसँग सम्बन्धित बैठकमा सहभागि भएको छु। मेरो समर्थन छ', यादवले भने, 'व्यक्तिगत कारणले उपस्थित हुन सकिनँ।'
प्रतिनिधि सभाले सर्वसम्मतले पारित गरेको संविधान संशोधन माथि अब राष्ट्रिय सभामा छलफल हुनेछ। राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले लागू भएको घोषणासँगै नेपालको नयाँ निशान छाप प्रयोगमा आउनेछ।