सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको भिडिओ कन्फ्रेन्स सकिएको छ।
कन्फ्रेन्समा नेकपा नेताहरू पार्टी कार्यालय धुम्बाराहीबाट सहभागी भएका थिए। झन्डै दुई घन्टा चलेको भिडिओ कन्फ्रेन्समा नेपाल-चीन सम्बन्ध, दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको नेताहरूले बताएका छन्।
कन्फ्रेन्सको सुरू कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाएर गरिएको थियो।
कन्फ्रेन्समा सहभागी नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार चीनका तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमख सुन ताओ र तिब्बत कमिटीका सचिव यु याङजेले धारणा राखेका थिए।
‘चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखले दुई देशको सम्बन्ध घनिष्ठ रहेको हो। नेपालले सधैँ एक चीन नीतिप्रति साथ दिएको बताउनु भयो,’ भट्टराईले भने,‘कोरोना महामारीविरूद्ध लड्न चीनले नेपाललाई आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो।’
भट्टराईका अनुसार गत डिसेम्बरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेकपा नेताहरूको चीन भ्रमण तय भएको थियो। तर चीनमा कोरोना महामारी फैलिएपछि उक्त भ्रमण स्थगित भयो।
‘आज त्यही टोलीका सदस्य र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबीच कुरा भएको हो,’उनले भने।
चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव यु याङ जेले हिमालय क्षेत्रको अन्तरदेशीय सम्पर्क सञ्जाल बनाउन दुबै देश मिलेर काम गर्ने पर्ने बताएको भट्टराईले बताए। उनले दुबै देशले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ पनि सार्वजनिक गर्ने बताएका थिए।
भिडिओ कन्फ्रेन्समा नेकपाका अध्यक्ष प्रचण्डले नेपाल र चीनसँगको सम्बन्ध र कम्युनिष्ट पार्टीबीच सम्बन्धबारे चर्चा गरेका थिए।
कन्फ्रेन्समा सहभागी नेकपा युवा नेता कल्याण रोक्काले धेरै औपचारिक कुराकानी भएको बताए।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाभाइरसविरूद्ध नेपालले गरिरहेका कामबारे चर्चा गरेका थिए।
समयमै लकडाउन गरिएकाले संक्रमणलाई कम गर्न सकिएको उनको भनाइ थियो।