चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई आफ्नै मोडेलको समाजवाद विकास गर्न सुझाव दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी स्कुल विभाग, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटीको संयूक्त संयोजनमा भएको कार्यशालामा चिनियाँ कम्युनिष्ट नेताहरुले परिवर्तित समयअनुसार राष्ट्रका योजनाहरु पनि परिवर्तन हुने धारणा राखेका थिए।
कार्यशालामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्कुल विभागका प्रमुख एवम् उपप्रधानमन्त्री इश्वर पोखरेलले तथा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ र तिब्बत स्वशासित क्षेत्र कमिटीका सचिव यु यिङ्जीले आफ्ना धारणा राखेका थिए।
चिनियाँ नेताहरुले अनुशासित पार्टी, प्रतिबद्ध र नैतिकवान नेतृत्वले मात्रै देशको विकास गर्न सक्ने बताएकाे नेकपाका केन्द्रीय सदस्य हेमराज भण्डारीले सेतोपाटीलाई जानकारी दिए।
‘चिनियाँ पक्षले विशेष गरेर तिब्बतमा भएको विकासको बारेमा जानकारी गराएको थियो। पछाडि परेका तिब्बतका जनताको मन जितेर मात्र त्यहाँ विकास सम्भव भएको हो’ चिनियाँ नेताको भनाई उदृत गर्दै भण्डारीले भने, ‘जनताको मन जितेर काम गरियो भने समाजवादी कार्यक्रम लागू हुन्छ।’
प्रदेश २ बाट भिडियो कन्फरेन्समा सहभागी भएका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले नेटवर्क र शब्द उच्चारणमा परेको भिन्नताले समस्या आएको बताए। तिब्बतको विकासका बारेमा जानकारी गराइएको समेत उनले बताए।
‘जनतालाई केन्द्रमा राखेर काम गरियो भने देश र पार्टी अगाडि बढ्न सक्छ भन्ने पाठ हामीले चीनबाट सिक्न सक्छौँ, उनले भने, ‘चीनमा शासन व्यवस्था हाम्रोभन्दा फरक भएकाले सबै लागू हुँदैन। किनकि त्यहाँ एक पार्टी व्यवस्था छ तर हामीकहाँ बहुदलीय व्यवस्था छ।’
चीनमा जस्तो पार्टीले भनेअनुसार शासन व्यवस्था नेपालमा चल्न नसक्ने उनले बताए। यद्यपी जनतालाई केन्द्रमा राखेर काम गरेमा पार्टी अगाडि बढ्ने भन्नेमा भने सत्यता रहेको उनको तर्क छ।
कार्यशालामा सहभागी नेकपा केन्द्रीय सदस्य जुली महतोले आधारभूत तहका जनताको विकास भएमा मात्रै देश अगाडि बढ्ने धारणा चिनियाँ नेताहरुबाट आएको बताइन्।
‘जबसम्म पार्टी आधारभूत जनताको बीचमा पुग्न सक्दैन। उनीहरुका समस्यालाई अगाडि ल्याउन सक्दैन। त्यो बेलासम्म जनताको मन जित्न कठिन छ भन्ने कुरा तिब्बतको विकासबाट प्रष्ट भएको छ’ उनले भनिन्, ‘सरकार र पार्टी कसरी समन्वय गरेर अगाडि बढ्ने भनेर समेत जानकारी भयो। पार्टी नेतृत्व र सरकारको धारणा कसरी एउटै हुन्छ भन्ने कुरा समेत आएको थियो।’
नेकपाका अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसालले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको ९९ वर्षको शुभाकामना आदानप्रदान कार्यक्रम भएकाले धेरै छलफल नभएको बताए।
त्यस्तै चीन र नेपालबीच औपचारिक सम्बन्ध भएको ६५ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत भएको उनले बताए।
‘यो एउटा शुभकामना आदानप्रदान कार्यक्रम भएकाले दुई देश र दुई पार्टीबीच सम्बन्ध सुमधुर बनाउन थप सहयोग पुगेको छ’ उनले भने, ‘त्यही बेलामा तिब्बतको विकास कसरी सम्भव भयो भनेर डकुमेन्ट्री प्रस्तुत गर्ने र अन्य विषयमा छलफल भएको हो।’
याे पनि हेर्नुस्
चिनियाँ कम्युनिष्ट पार्टीसँगको छलफलमा प्रचण्डले भने- सुरक्षा स्वार्थ जोडिएको सहयोग स्वीकार्दैनौं