प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रकाशन गरेको दैनिक गतिविधिमा पोखरामा रहेको प्रयोगशालामा मात्र एक हजार चार सय ५२ जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी छ।
उक्त स्वाब विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनमा भारतलगायतका स्थानबाट आएर बसेका नागरिकका हुन्।
पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एउटा र प्रदेश क्षयरोग उपचार केन्द्रमा दुइटा आरटी पिसिआर मेसिनले अहिले स्वाब परीक्षण गरिरहेको छ।
यसअघि एउटा मात्र पिसिआर मेसिनबाट दैनिक एक सय ५० वटा स्वाब परीक्षण गर्ने गरिएकोमा अहले तीनवटा आरटी पिसिआर मेसिनबाट दैनिक चार सय वटा स्वाब परीक्षण गर्न थालिएको छ।
प्रदेश सरकारले २ वटा आरटी पिसिआर मेसिन खरिद गरेर क्षयरोग उपचार केन्द्रमा कोरोना परिक्षण गर्ने प्रयोगशाला स्थापना गरेको थियो।
नयाँ प्रयोगशाला चलाउन ल्याब टेक्निसियनलगायत १९ जना स्वास्थ्य प्राविधिक करारमा भर्ना गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले बताए।
‘हामीसँग ८ जना मात्र ल्याब प्राविधिक हुनुहुन्थ्यो, प्रयोगशाला चलाउन नयाँ १९ जना भर्ना गर्यौं,’ उनले भने, ‘अहिले २८ जनाले प्रयोगशालामा काम गर्दै हुनुहुन्छ।’
भारतलगायत विभिन्न स्थानबाट गाउँ फर्कने नागरिकको संख्या बढेसँगै स्वाब संकलन पनि बढिरहेको छ।
यस्तै नयाँ प्रयोगशाला स्थापना गरेर परीक्षण क्षमता पनि बढाएको छ। तर स्वाब संकलनको अनुपातमा परिक्षण क्षमता नबढेका कारण पोखरास्थित दुईवटै प्रयोगशालाले स्वाबको चाप थेग्न सकेको छैन।
मादी गाउँपालिकाका एक जना १९ महिने बच्चालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भयो। उनका बुबा भारतबाट जेठ २४ गते आएर मादी ९ मुग्रीबेसीको क्वारेन्टिनमा बसेका थिए।
गाउँपालिकाका स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बसेकाहरुको जेठ ३२ गते स्वाब संकलन गरेर पोखरा पठायो।
स्वाब संकलनका क्रममा ति युवाले आफूले परिवारलाई पनि भेटेको भनेपछि परिवारको पनि स्वाब संकलन गरियो।
उनको श्रीमती र १९ महिने बच्चासहितको स्वाब परिक्षण गर्न पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला पठाइएको थियो।
परीक्षणमा क्वारेन्टिनमा बसेका पुरुष र उनकी श्रीमतीको रिपोर्ट नेगेटिभ आयो तर १९ महिने बच्चाको रिपोर्ट पोजेटिभ आयो।
‘बच्चाका बुबालाई कोरोना संक्रमण भएर पनि एन्टिबडी बिकास भएको हुनुपर्छ,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले भने, ‘हामीले बच्चाबाट परिवारमा सर्न नदिन छुट्टै राखेका छौं।’
पोखरास्थित प्रयोगशालामा स्वाब थुप्रिएपछि अस्पतालबाटै उनीहरुको स्वाब परीक्षण गर्न काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। स्वाब पठाएको ६ दिनमै उनीहरुको रिपोर्ट आएको बरालले बताए।
मादी गाउँपालिकाकै अर्को क्वारेन्टिनमा रहेकाहरुको स्वाब पठाएको रिपोर्ट भने १२ दिनसम्म पनि आउन सकेको छैन।
मादी १२ राम्चेको क्वारेन्टिनमा जेठ १४ गते आएर बसेकाहरुको स्वाब संकलन गरेर गाउँपालिकाले २६ गते पोखरास्थित प्रयोगशालामा पठाएको थियो।
पोखरास्थित प्रयोगशालामा स्वाबको लोड बढी भएर नै उनीहरुको अहिलेसम्म परिक्षण नभएको जनाएको छ।
‘स्वाब पठाएको १३ दिनसम्म पनि रिपोर्ट आएको छैन,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बरालले सेतोपाटीलाई भने, ‘रिपोर्ट नआउँदा २४ दिनदेखी उहाँहरु क्वारेन्टिनमै बस्नुपरेको छ।’
मादी गाउँपालिकामा अहिले १९ जना क्वारेन्टिनमा छन्। जसमध्ये १५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।
पोखरामा स्वाब परीक्षणमा ढिलाई भएपछि कोरोना संक्रमितको उपचारका खटिएका पर्वत जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको स्वाब पनि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकु पठाइएका थियो।
परीक्षणमा जना डाक्टर, १ जना ल्याब टेक्निसियन, १ जना नर्स र १ जना कार्यालय सहायकको रिपोर्ट पोजेटिभ आएको थियो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले पोखरामा परिक्षण ढिलो हुने भएकाले नै काठमाडौं स्वाब पठाएको बताए।
स्वाब पठाएको ४ दिनमै शुक्रबार स्वास्थ्यकर्मीको रिपोर्ट आएको बताए।
‘पोखरामा यसअघि पठाएको स्वाबको रिजल्ट अझै आएको छैन,’ डा. देवकोटाले भने, ‘पोखरामा भिड भएर काठमाडौंमा स्वाब परीक्षण गर्न पठाएका हौं।’
स्वास्थ्यकर्मी नै संक्रमित भएपछि पर्वत जिल्ला अस्पतालका आकस्मिक बाहेकका सेवा अहिले बन्द छ।
पहिलेदेखि नै थाती रहेको स्वाबका कारण नतिजा आउन ढिलाई हुने गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रयोगशाला निर्देशक डा. मोनी सुवेदीले बताइन्।
‘केसहरु पोजेटिभ आइराखेका छन्,’ उनले भनिन्, ‘कन्ट्रयाक्ट ट्रेसिङ पनि भइराखेकाले अहिले स्वाब पनि धेरै नै आइराखेको छ।’
यता, प्रहरीले पनि हिरासतमा लिएपछि जो कोहीको पनि स्वाब परिक्षण गर्ने गरेको छ।
उनीहरुको स्वाब परीक्षणलाई प्राथमिकता दिँदा पनि पहिल्यैदेखि थाँती रहेका स्वाब परिक्षणमा ढिलाई भएको जनाएको छ।
कोरोना पोजेटिभ नतिजा आएका स्वाबको पुन परिक्षण गर्ने र कहिलेकाहीँ प्राविधिक समस्या आउने भएकाले पनि रिपोर्ट दिन ढिलाई हुने गरेको सुवेदीले बताइन्।
‘प्रयोगशालामा स्वाबको दबाब छ,’ प्रयोगशाला निर्देशक डा. सुवेदीले सेतोपाटीलाई भनिन्, ‘जतिसुकै दबाब भएपनि गुणस्तरीय परीक्षण हुनुपर्छ, पोजेटिभ मिन्स पोजेटिभ, नेगेटिभ मिन्स नेगेटिभ।’
पोखरास्थित प्रयोगशालामा स्वाब धेरै संकलन भएपछि अहिले काठमाडौंमा मात्र होइन, भरतपुरमा समेत स्वाब पठाउन थालिएको छ।
भरतपुरमा गण्डकीको नवलपुर जिल्लाका स्वाब शुरुदेखि नै परिक्षण गरिएको थियो।
पोखरामा ढिलो हुने भएपछि पर्वतमा संकलन गरिएको स्वाब पनि भरतपुर पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले बताए।