सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रण, उपचार तथा व्यवस्थापनमा झण्डै साढे ४२ करोड निकासा गरेको छ।
प्रदेशको कोरोना भाइरस (कोभिडि–१९) रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ निकासा भएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लेखाअधिकृत नारायण दत्त मिश्रले दिएको जानकारी अनुसार कोरोना कोषमा प्रदेश सरकारको निर्णय बमोजिम ४० करोड र सहयोगदाताबाट दुई करोड ५७ लाख गरी ४२ करोड ५७ लाख रुपैयाँ जम्मा भएको थियो।
उक्त रकमबाट प्रथम चरणको राहतका लागि स्थानीय तहलाई १५ करोड २६ लाख रुपैयाँ निकासा भएको मन्त्रालयका लेखाअधिकृत मिश्रले बताए।
यस्तै प्रदेशका नौ ओटै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले ४५ लाख, सेनाको पृतना दिपायललाई १५ लाख, सुरक्षा सामग्रीको लागि प्रदेश प्रहरी कार्यालय दिपायललाई १५ लाख, सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनी अत्तरियालाई १५ लाख र प्रदेशको राष्ट्रिय अनुसन्धान विभागलाई १० लाख रुपैयाँ प्रदान गरिएको छ।
कोषबाट प्रदेश सरकारको वैशाख ३ को निर्णय अनुसार सामाजिक विकास मन्त्रालयलाई १५ करोड ७३ लाख ८० हजार रुपैयाँको अख्तियारी दिइएको मिश्रले बताए।
यस्तै दृष्टि फाउण्डेशनलाई ७० हजार, मानव सेवा आश्रमलाई ७० हजार, चिसापानीमा अलपत्रलाई खाना खुवाउन गोदावरी नगरपालिकालाई ३ लाख रकम कोषबाट निकासा भएको उनले बताए।
प्रदेश सरकारको वैशाख १४ को निर्णयअनुसार जिल्ला प्रहरी कार्यालयहरुलाई ३१ लाख, नौ वटै जिल्लाका गण र गुल्मलाई २४ लाख रुपैयाँ दिइएको थियो।
जेठ ९ को निर्णयले सामाजिक विकास मन्त्रालयलाई ३ करोड ८९ लाख निकासा भएकोमध्ये आरटी तथा पीसिआर किट, एन ९५ मास्क, पिपिई लगायत सामग्री खरिदका लागि ३ करोड ४७ लाख प्रदान गरिएको थियो।
साथै महाकाली अस्पताललाई सामग्री खरिदका लागि ४० लाख, सीमामा अलपत्र परेकालाई खाद्यान्न तथा खानेपानी व्यवस्थापनका लागि २ लाख ५० हजार जिल्ला प्रशाशन कैलालीको समन्यवयमा भुक्तानी लिनेगरी निकासा भएको मिश्रले जानकारी दिए।
जेठ २३ को निर्णय अनुसार ८८ स्थानीय तहमा आइसेलेशन व्यवस्थापनका लागि ६ करोड २५ हजार निकासा गएको थियो।
कोषबाट ४२ करोड ४८ करोड ९५ हजार निकासा गएसँगै अब ८ लाख ७० हजार ९ सय १२ रुपैया बाँकी रहेको मिश्रले बताए।