नेकपा स्थायी समिति सदस्य रघुवीर महासेठले अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे नेकपाले सर्वसम्मतिले निर्णय लिने बताएका छन्।
मंगलबार सेतोपाटीसँग कुराकानी गर्दै पूर्वमन्त्री महासेठले स्थायी समिति बैठकमा छलफल गरेर आवश्यक निर्णय लिने बताए।
'एमसिसीबारे पार्टीमा बहुमत, अल्पमत हुँदैन, ' उनले भने,'जे हुन्छ सहमतिमै हुन्छ।'
एमसिसी परियोजनाबारे नेकपाभित्र एकमत हुन नसेकेकै कारण परियोजना अगाडि बढ्न सकेको छैन। एमसिसीबारे अध्ययन गर्न गठित कार्यदलले परिमार्जन गरेर मात्रै एमसिसी पारित गर्नुपर्ने प्रतिवेदन बुझाएको छ। गत माघमा बसेको नेकपा केन्द्रीय कमिटी बैठकले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य थिए। यद्यपी परराष्ट्र मन्त्री ज्ञवालीले कार्यदलको प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका थिए।
असार १० गतेदेखि बस्ने स्थायी समिति बैठकमा केन्द्रीत रहेर हामीले नेकपा स्थायी समिति सदस्य रघुबीर महासेठसँग भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य बुँदा:
- पार्टीले विगत निर्वाचनमा जुन घोषणापत्र जारी गरेको थियो। त्यो घोषणापत्र सम्बन्धमा केन्द्रीत रहेर बैठकमा छलफल हुन्छ होला। अहिलेका विषय नागरिकता, सीमा, कोरोनाभाइरस, एमसिसीलगायतका समसामयिक विषयमा पनि छलफल हुन्छ।
-पार्टीको अध्यक्ष प्रधानमन्त्री हुने भनेको एक व्यक्ति दुई पद होइन। यो स्वभाविक र संसारभरिको प्रचलन हो।
-अर्को चुनावसम्म उहाँ(केपी ओली)स्वभाविक प्रधानमन्त्री हो। पाँच सालसम्म उहाँ नै प्रधानमन्त्री हुने भनेर पार्टीमा निर्णय भइसकेको छ। एउटा अध्यक्ष प्रधानमन्त्री र अर्को अध्यक्ष कार्यकारी हुने भनेर निर्णय भएको हो।
-प्रदेशका मुख्यमन्त्री इन्चार्ज बन्न पाउँछन्। मुख्यमन्त्री बस्न हुँदैन भन्ने होइन। कसैले काम गर्न सकेन भनेमात्रै जिम्मेवारी नदिने हो।
- नागरिकता विधेयकमा नेकपाले लिएको निर्णयले मधेसमा अलोकप्रिय हुँदैन। यो जनताको पक्षमा छ। नागरिकतासम्बन्धी कानुन कमजोर भयो भने मधेसी जनता कमजोर हुन्छन्। नवआगन्तुक बलियो हुन्छन्। यसले मधेसमा नेकपा झनै बलियो हुन्छ।
- पार्टीभित्रका असन्तुष्ट साथीहरूले आफ्ना कुरा पार्टीमा राख्नुपर्छ तर पार्टीको निर्णय मान्दिनँ भन्न पाउनु हुन्न।
स्थायी समिति सदस्य महासेठसँग गरिएको कुराकानी हेर्न भिडिओमा क्लिक गर्नुस्।