नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्ला दिनमा असहमति र विवाद बढ्दै गएका छन्।
दुई अध्यक्षबीच असहमति यति धरै बढेको छ, उनीहरूले गएको साता धेरै घन्टा भेट र छलफल गरे पनि बुधबार सुरू हुने स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गर्न सकेनन्। बैठकमा छलफल हुनु पर्ने धेरै विषय र तिनको समाधान कसरी गर्ने भन्नेमा उनीहरूबीच गम्भीर मतभेद देखिएको दुबै अध्यक्षनिकट नेताहरूले सेतोपाटीलाई बताएका छन्।
त्यही मतभेदका कारण स्थायी कमिटीमा लैजाने एजेन्डामा सहमति जुटाउन पार्टी सचिवालयको बैठकसमेत बस्ने सकेन। त्यसकारण कमिटीको बैठक बस्नु एक घन्टाअघि दुई अध्यक्ष र महासचिव बिष्णु पौडेल बसेर छलफलका एजेन्डा तय गरे। पार्टी प्रचलनअनुसार स्थायी कमिटी बैठक आफैंले पनि दुई अध्यक्षले ल्याएका एजेन्डामा विषयवस्तु थप गर्न सक्छ।
यो सातामात्रै दुई अध्यक्षबीच तीन पटक भेट भएको थियो।
मंगलबार उनीहरूबीच तीन घन्टा बढी छलफल भएको थियो। दुई अध्यक्षबीच शनिबार र आइतबारसमेत भेट भएको थियो। यी भेटघाटले पनि स्थायी समितिमा पेश हुने राजनीतिक प्रतिवेदन र बैठकका एजेन्डा तय गर्न सकेन।
अमेरिकी सहायता परियोजना (एमसिसी) संसदबाट पास गर्ने विषय, सरकारका काम कारबाही र पार्टी सञ्चालनका विषयमा दुई अध्यक्षबीच मतभेद छ।
यी विषयगत मतभेदभन्दा पनि महत्वपूर्ण दुई अध्यक्षबीचको अविश्वास र तिक्तताले असमहतिमा ठूलो भूमिका खेल्न थालेको एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।
‘उहाँहरूबीच विवाद थियो भन्ने जगजाहेरै छ,’ उनले भने, ‘अहिले भने त्यो विवाद व्यक्तित्वको टकराव र तिक्ततामा परिणत भएको छ।'
यो तिक्तता र टकरावका पछि दुबै अध्यक्षका आ-आफ्नै ब्याख्या छन्।
गत मंसिर ४ गते दुई अध्यक्षबीच दुबैले मिलेर पार्टी र सरकार चलाउने सहमति भएको थियो। प्रधानमन्त्री ओलीले संसदको यो अवधिभर सरकारका काममा केन्द्रीत रहने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी चलाउने लिखित सहमति दुबै अध्यक्षले गरेका थिए। दुबैले त्यो लिखित सहमतिको साक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेका थिए।
त्यो सहमतिपछि पनि प्रचण्डले सरकारलाई राम्ररी नसघाएको, सार्वजनिक रूपमा सरकारको बचाउ नगरेको, गुटको भेला गरेर आफूविरूद्ध घेराबन्दी गरेको आरोप प्रधानमन्त्री ओलीको छ।
प्रचण्डका आफ्नै असन्तुष्टि छन्।
त्यो लिखित सहमतिपछि पनि आफूलाई कार्यकारी अध्यक्षका रूपमा काम गर्न नदिएको, सार्वजनिक सञ्चारमाध्यममै गएर प्रधानमन्त्रीले आफूनै पहिलो नम्बरको अध्यक्ष रहेको र आफ्नै नेतृत्वमा पार्टी चल्ने भनेर दुई अध्यक्षबीच भएको सहमतिको मानमर्दन गरेको, पछि गएर पार्टी बैठक सञ्चालनसमेत आफूले मात्रै गरेकोजस्ता आरोप प्रचण्डले लगाएका छन्।
‘आफूले त्याग गरेर प्रधानमन्त्री ओलीलाई नै पाँच वर्ष सरकार चलाउने सहमति गरेपछि उहाँमा झनै अहंकार बढेको र उल्टो आफ्नो मानमर्दन गर्न थालेको भन्ने अध्यक्षको ठम्याइ छ,’ प्रचण्डनिकट एक नेताले सेतोपाटीसँग भने, ‘त्यो समहतिले दुई अध्यक्षबीच आपसी विश्वास बढाउला भनेको, झनै अविश्वासको नयाँ शृंखला सुरू भयो।’
पछिल्ला दिनमा पार्टीभित्रको शक्ति संघर्षमा प्रचण्ड र नेता माधवकुमार नेपाल एकातिर देखिएका छन् भने ओली अर्कातिर।
पार्टी सचिवालयभित्र निरन्तर गुट फेरिरहने वामदेव गौतम पनि प्रधानमन्त्री ओलीले आफूलाई धोका दिएको भन्दै केही दिनयता प्रचण्ड-नेपाल समूहमा उभिन पुगेका छन्।
पार्टीभित्र शक्ति संघर्ष चर्किँदै गएर गत वैशाख १७ गतेको सचिवालय बैठकमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। प्रचण्डले त प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी अध्यक्षबाट राजीनामा दिएर बालकोटमा आराम गरी बस्न सुझाएका थिए।
सचिवालयमा बहुमतमा देखिएको प्रचण्ड-नेपाल समूहलाई फुटाउन प्रधानमन्त्री ओलीले सो बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि वामदेव प्रधानमन्त्री ओलीतिर लागेका थिए। सचिवालयको बहुमत प्रधानमन्त्रीको पक्षमा गएको थियो। विवाद बिस्तारै मत्थर भएको थियो।
त्यसपछि पनि प्रधानमन्त्री ओली र प्रचण्ड-नेपालबीच कुनै सहमति र विश्वासको वातावरण बन्न सकेको थिएन। अहिले त्यो असहमतिमा अरू विषय थपिएका छन्- एमसिसी र सरकारले कोरोनासँग लड्न मुलुकको नेतृत्व राम्ररी गर्न नसकेको आरोप।
प्रधानमन्त्री ओली एमसिसी परियोजना पारित गर्न ढिला गर्न नहुने पक्षमा छन्। अर्का अध्यक्ष प्रचण्ड परिमार्जन नगरी पारित गर्न नहुने अडानमा छन्। उनलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको समेत साथ छ।
आजको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्ड र अर्का नेता माधवकुमार नेपाल पक्षले एमसिसीलाई बैठकको मुख्य एजेन्डा बनाउने तयारी गरेका छन्। उनीहरूले विधानअनुसार पार्टी नचलेको र कोरोनाविरूद्धको लडाइँलगायत विषयमा सरकारका काम प्रभावकारी नभएको मुद्दासमेत बैठकमा उठाउने तयारीमा छन्।
प्रचण्ड र नेपाल पक्षका २० जना स्थायी समिति सदस्यहरूले यसअघि वैशाख १० गते स्थायी कमिटी बैठक माग गरेर दुई अध्यक्षलाई पत्र पठाएका थिए। उनीहरूले त्यो बेला नै पार्टी सञ्चालन र कोरोनाभाइरस रोकथाममा भएका अनियमितताबारे छलफल गर्न माग गरेका थिए।
अध्यक्ष प्रचण्डले आफूनिकट स्थायी समिति सदस्य र विज्ञहरूसँग एमसिसीबारे छलफल गरेका थिए।
'स्थायी समिति बैठकमा एमसिसी परिमार्जन गरेर जानेबारे छलफल हुन्छ,' प्रचण्डनिकट एक नेताले भने, 'पार्टी कार्यदलले दिएको प्रतिवेदनमा केन्द्रीत भएर निर्णय हुन्छ होला।’
वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको कार्यदलले एमसिसी परियोजना परिमार्जन नगरी पारित नगर्न सुझाव दिएको थियो।
प्रधानमन्त्री ओलीले भने एमसिसीबारे अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाललाई विगतमा भएका प्रयास र अब गर्नुपर्ने निर्णयबारे धारणा राख्न आग्रह गर्ने उनीनिकट स्रोतले बतायो। प्रधानमन्त्री ओलीले पनि मंगलबार आफूनिकट नेताहरूसँग छलफल गरेका थिए।
'राजनीतिक प्रतिवेदन बनेको छैन, सायद बन्दैन होला। स्थायी समिति बैठकले नै एजेन्डा बनाउने हो,' ओलीनिकट एक नेताले भने, 'एमसिसीबारे यसअघिकै स्थायी समितिले सचिवालयलाई जिम्मा दिएको र केन्द्रीय समितिमा छलफल भइसकेकाले यो महत्वपूर्ण विषय हुँदैन।'
पार्टीभित्र केहीगरी सहमति नजुटेको अवस्थामा प्रधानमन्त्री ओली पनि असमझदारी बढाएर एमसिसी परियोजना अगाडि बढाउने पक्षमा नरहेको उनीनिकट एक नेताले बताए।
'प्रधानमन्त्रीले एमसिसी पारित गराउन प्रयास गर्नुहन्छ। तर यसमा अड्डी कस्ने पक्षमा हुनुहुन्न,’ ती नेताले भने, ‘यो परियोजना ल्याउन प्रयास गर्नेहरू पार्टिभित्रकै नेता भएकाले उहाँले बहुमत, अल्पमतमा गएर एमसिसी अगाडि बढाउनु हुन्न।’
स्थायी कमिटीले बैठकमा प्रधानमन्त्री ओलीविरूद्ध कुनै प्रस्ताव पारित गर्ने वा उनलाई सरकारबाट हट्न निर्देशन नै दिने पनि कतिले अडकल गरेका छन्। नेता नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने यसपालि कमिटीले किटेरै प्रधानमन्त्री वा सरकारविरूद्ध कुनै निर्णय गर्ने सम्भावना नरहेको बताए।
‘सबै विषयमा छलफल हुन्छ, मत-मतान्तर र बहस पनि जमेरै होला,’ उनले भने, ‘तर प्रधानमन्त्रीविरूद्ध कुनै प्रस्ताव नै पारित हुने भने हुन्न होला।'
प्रधानमन्त्री ओली कसरी प्रस्तुत हुन्छन् स्थायी कमिटी बैठकको ‘मुड’ त्यहीअनुसार तय हुने प्रचण्डनिकट एक नेताले बताए।
‘स्थायी कमिटी पार्टीको शक्तिशाली निकाय हो, यसले कुनै प्रस्ताव पास गर्न नसक्ने वा सरकारलाई निर्देशन दिन नसक्ने होइन,’ उनले भने, ‘तर छलफल कसरी अघि बढ्छ, त्यसैले धेरै कुरा निर्धारण गर्नेछ।’