प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले अंगिकृत नागरिकतामा महिला र पुरूषबीच हुने विभेदकारी व्यवस्था हटाउनुपर्ने बताएका छन्।
नागरिकताबारे आफ्नो धारणा बुधबार सार्वजनिक गर्दै सांसद थापाले समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनाउनुपर्ने बताएका हुन्।
‘नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनायौं भने मलाई विश्वास छ वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा हाम्रो मत मिल्नेछ,’ थापाले भनेका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको गत शनिबार बसेको सचिवालय बैठकले वैवाहिक अंगिकृत नागरिकतामा सात वर्षे प्रावधान राख्न उपर्युक्त हुने निर्णय गरेको थियो।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सात वर्षे प्रावधान राख्नुपर्ने निर्णय बहुमतले गरेको छ। उक्त निर्णयमा कांग्रेसले असहमति राखेको छ।
नेपाली पुरूष नागरिकसँग विवाह गरी आउने महिलाको हकमा सम्बन्धित देशको नागरिकता त्याग गरेको प्रक्रिया सुरू गरेको प्रमाणित हुने पत्रसहित निवेदन दिएको सात वर्षमा अंगिकृत नागरिकता दिने प्रावधान छ। तर उक्त प्रावधानले नेपाली महिलासँग विवाह गरी आउने विदेशी पुरूषका हकमा भने कुनै व्यवस्था गरेको छैन।
सांसद थापाले नक्साको विषयमा एकजुट भए जसरी नै आवेग होइन विवेकका साथ सामूहिक प्रयासबाट अंगिकृत नागरिकतामा समाधान खोज्नुपर्ने बताएका छन्।
हेर्नुस् सांसद थापाको विज्ञप्ति: