प्रतिपक्षी दलले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेश सभाको शुक्रबारको बैठक पनि स्थगित भएको छ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार असक्षम भएको भन्दै यसमा खर्च भएको भनिएको ९३ करोडको हिसाब नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूले अडान राखेपछि आजको प्रदेश सभाको बैठक स्थगित भएको हो।
यसअघि असार १० गतेको १९ औं बैठक पनि प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको थियो।
प्रदेश सभामा सदस्य कृष्ण चौधरीले दुई वर्षमा प्रदेश सरकार र मन्त्रीले कुनै पनि काम राम्रोसँग गर्न नसकेको बताए।
शान्ति सुरक्षा, सुशासनलगायत क्षेत्रमा सरकार असफल भएको उनको दाबी थियो।
कारोना रोकथाम, नियन्त्रण, क्वारेन्टिन व्यवस्थापन र उपचारमा कुनै काम गर्न नसकेकोले सरकारको औचित्य समाप्त भएको भन्दै खर्च गरिएको बजेटको हिसाब दिनु पर्ने उनले माग गरे।
चौधरीले बैतडी र डोटीमा पिसीआर मेसिन राख्ने निर्णय गरे पनि काम नभएको, संक्रमित बढ्दै जाँदा, स्वाब संकलन रोकिँदा पनि सरकार मौन किन छ भनी प्रश्न गरे।
उनले संक्रमित पुष्टि भएकालाई पनि प्रदेश सरकारले घर लखेट्ने काम गरेको बताए।
सरकारले ९३ करोड खर्चबारे प्रदेश सरकारले सदनमा जवाफ स्पष्ट ढंगले नआएसम्म सदन चल्न नदिने बताए।
प्रतिपक्षी दलका सदस्यहरूको अवरोधपछि सभामुख अर्जुनबहादुर थापाले बैठक असार १४ गते दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको घोषणा गरे।