सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
आजको बैठकमा पछिल्लो समय भारतसँग देखिएको सीमा विवादबारे छलफल भइरहेको छ।
बैठकमा बोल्दै स्थायी समिति सदस्यसमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वार्ताका लागि भारतलाई तीन पटक पत्र पठाउँदा पनि चासो नदिएको बताए।
‘उहाँले गत नोभेम्बर, डिसेम्बर र जनवरी तीन पटक पत्र पठाउँदा पनि भारतले चासो दिएन। अहिले पनि हामी वार्ताका लागि पहल गरिरहेका छौं भन्नुभयो,’ बैठकमा सहभागी स्थायी समिति सदस्य पर्यटन मन्त्री योगेश भट्टराईले भने,‘बैठकमा उहाँले चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार फर्जी कागज बनाएर आएको बताउनुभयो।’
यसअघि बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चीनले सीमा नमिचेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सीमा मिचिएको बारे कुनै प्रतिवेदन नै नबनाएको बताएको थियो।
आजको बैठकमा स्थायी समिति सदस्यहरू अमृत बोहोरा, घनश्याम भुषाल, पम्फा भुषाल, बेदुराम भुषाल, लीलामणि पोखरेल र रघुवीर महासेठलगायतले आफ्नो धारणा राखिसकेका छन्।
उनीहरू सबैले लिम्पियाधुरासम्म भू-भाग समेटेर नक्सा जारी गर्नु राम्रो काम भएको भन्दै समस्या समाधानका लागि अब कूटनीति पहल पनि बढाउनु पर्ने बताएका थिए।
बैठकमा अहिले खाजा खाने ब्रेक भएको छ।
आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन्। उनको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक चलाइरहेका छन्।
बैठकमा प्रचण्डले प्रधानमन्त्री ओली अर्कै काममा व्यस्त भएका र आफूलाई बैठक चलाउनु भनेको बताएका थिए।
प्रचण्डसँग म पछि आउँछु भनेका प्रधानमन्त्री ओली आजको बैठकमा सहभागी हुन्छन् कि हुन्नन् भन्ने टुंगो छैन।