सुदूरपश्चिम प्रदेशसभाको आज दिउँसो ३ बजे बोलाइएको बैठक पनि सूचना टाँस गरी स्थगित भएको छ।
प्रदेशसभाका सचिव रामसिंह धामीले आइतबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित भएका बताए। सभामुखको आदेशानुसार सूचना टाँस गरी बैठक स्थगित गरिएको उनले बताए।
सभामुख अर्जुनबहादुर थापाले सरकार र प्रतिपक्षी दलको असहमतिले संसद चल्न नसकेको बताए। उनले सरकार र प्रतिपक्षबीच सहमति नभए संसद फेरि अवरुद्ध हुने देखिएकाले बैठक स्थगित गर्नुपरेको बताए।
सरकारका कामकारबाहीसँग असहमति जनाउँदै प्रतिपक्षी दलले अवरोध गरेकाले संसद बैठक स्थगित हुँदै आएको छ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेमाटमाथि छलफल गर्न असार १० गते बोलाइएको बैठक लगातार ५ पटक स्थगित भइसकेको छ।
१७ दिनसम्म पनि बजेटमाथि छलफल हुन सकेको छैन।
प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेश सरकार कोरोना नियन्त्रण, परीक्षण र उपचारमा असफल भएको र खर्च भएको भनिएको ९३ करोडको हिसाव दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन्।
बुधबार सरकार र प्रतिपक्षी दलबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।
सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्था राम्रो हुनुपर्ने, संक्रमितलाई उचित उपचारको प्रबन्ध मिलाउनुपर्ने जस्ता विषय उठाइएको उनले बताए। तर सरकारका तर्फबाट समय माग भएको उनको भनाइ छ।
आज दिउँसो १ बजे पनि छलफल भएकोमा सरकार र प्रतिपक्षबीच सहमति जुट्न सकेन। भोलि फेरि छलफल हुने रावलले बताए।