काठमाडौंको पाटनमा जारी ईः समूहको आमरण अनसनको समर्थनमा पोखरामा पनि सत्याग्रह शुरु भएको छ।
‘इनफ इज इनफ’ अभियानमा आवद्ध पोखराका युवाहरुले सत्याग्रह शुरु गरेका हुन्। पोखराको मुस्ताङचोकस्थित प्रतिक्षालयमा बिहीबारदेखि सत्याग्रह शुरु गरेको अभियन्ता सलिजा श्रेष्ठले बताइन्।
‘काठमाडौंमा आमरण अनसन बसेको पनि सात दिन भइसक्यो, अहिलेसम्म सरकारले आधिकारिक रुपमा चासो पनि दिएको छैन’, उनले भनिन्, ‘सरकारले छिटोभन्दा छिटो माग सम्वोधन गरिदियोस् भनेर हामीले सत्याग्रह शुरु गरेका हौं।’ काठमाडौंमा ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ई को नेतृत्वमा सात दिनदेखि युवाहरु आमरण अनसनमा छन्।
पोखरामा सत्याग्रह बसेका युवाहरुले पहिलो दिन ७ घण्टा अनसन बस्ने र दिनदिनै १/१ घण्टा समय बढाउँदै लैजाने जनाएका छन्। उनीहरुले अनसन अवधिमा केही नखाई बस्ने र लामो समय अनसन बस्नुपर्ने अवस्था आए आमरण अनसन बस्ने समेत चेतावनी दिएका छन्।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रभावकारी बनाउनुपर्ने, कोरोना नियन्त्रणका नाममा भएका खर्च पारदर्शी हुनुपर्ने, पिसिआर परीक्षण र ल्याबको क्षमता बढाउनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन्। काठमाडौंका टोलीले राखेकै माग आफूहरुको पनि रहेको श्रेष्ठले बताइन्।
काठमाडौंमा आमरण अनसन बसेका युवाको जीवनरक्षाका लागि पनि पोखरामा अनसन गर्नुपरेको उनले बताइन्। ‘सरकारले दुर्घटना हुनु अघि नै ध्यान पुर्याओस्,’ श्रेष्ठले भनिन्, ‘सत्याग्रहीको स्वास्थ्य धरापमा परिसक्यो।’
कोरोना भाइरसको महामारीमा समेत भ्रष्टाचार भएको भन्दै पोखरामा अनसन बसेका युवाहरुले त्यसमाथि छानविन गरी कारबाही गर्न माग गरेका छन्। ‘कोरोना भाइरसको महामारीमा पनि भ्रष्टाचार गर्नेहरु देशद्रोही हुन्, उनीहरुलाई कारबाही गर्नुपर्छ,’ श्रेष्ठले भनिन्।
फेसबुक मार्फत अनसनका लागि आह्वान गरेको र त्यसरी नै नयाँ युवाहरु पनि जोडिन आएको उनीहरुले बताएका छन्।
पहिलो दिनको अनसनमा सलिजा श्रेष्ठ, मोनिका रानाभाट, स्मृति बराल, सतिश खरेल, बरदान लामा, पवन पाण्डे, पुनम गुरुङ, अस्मिता न्यौपानले लगायत छन्।
अनसनमा उनीहरु किताब लिएर बसेका छन्। यसअघि उनीहरुको समूहले पोखरामा रहेका क्वारेन्टिनको अवस्था भ्रमण गरी प्रतिवेदन बनाएर पोखरा महानगरलाई बुझाएको थियो।
त्यतिबेला क्वारेन्टिनको अवस्था सुधार गर्न र स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामाग्री प्रदान गर्न सुझाव दिएको अभियन्ता मोनिका रानाभाटले बताइन्।