सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले दुई अध्यक्षको सहमति नभई पार्टी अगाडि बढ्न नसक्ने बताएका छन्।
शुक्रबार सेतोपाटीसँग कुराकानी गर्दै नेम्वाङले स्थायी समितिबाट जे निर्णय भए पनि सहमतिकै आधारमा हुने बताए।
'पार्टीमा अहिले बहुमत र अल्पमतको प्रसंग हुँदैन। दुई अध्यक्षको सहमतिबाट अगाडि बढ्ने हो। उहाँहरूको सहमति नभई केही निर्णय हुँदैन,' उनले भने, 'अहिलेसम्म सबै काम दुई अध्यक्षले सहमतिमा गर्नुभएको छ। स्थायी समितिबाट जे हुन्छ सहमतिको आधारमा हुन्छ/हुनुपर्छ।'
महाधिवेशनसम्म संक्रमणकालीन व्यवस्था रहने भएकाले अब हुने एकताको महाधिवेशन पनि सहमतिकै आधारमा गर्ने भनिएको उनले बताए।
नेकपाको जारी स्थायी समिति बैठकमा देखिएका विवादमा केन्द्रीत रहेर नेम्वाङसँग सेतोपाटीका सन्जिब बगालेले कुराकानी गरेका छन्।
यो कुराकानीका मुख्य बुँदाहरू:
- हामीले महाधिवेशनसम्म बहुमत र अल्पमतबाट निर्णय गर्न सक्दैनौं। महाधिवेशनसम्म सहमतिमा जानुको विकल्प छैन।
- नेकपाभित्र स्वभाविक रूपमा कतिपय विषयमा गम्भीर छलफल चलिरहेको छ। अहिले त्यो निकै जटिल मोडमा पुगेको छ। यसलाई सकारात्मक मोडमा पुर्याउन हामी लागिरहेका छौं। हामी नेकपालाई फुट्न दिन्नौं। हाम्रा अध्यक्षहरूले यो दोहोर्याउनु भएको छ।
- उहाँहरूले सार्वजनिक रूपमा भन्नुभएको छ। पार्टीको बैठकमा पनि भन्नुभएको छ। दुई अध्यक्षको बीचमा जुन तहको विश्वास हुनु पर्ने हो त्यो देखिँदैन। दुई अध्यक्षबीच देखिएको समस्यालाई समाधान गर्नुपर्छ। आपसमा विश्वास गर्नुपर्छ।
- पार्टीले भनेअनुसार चल्नुपर्छ भन्नेमा कुनै शंका छैन। अहिले बहुमत र अल्पमतको प्रसंग किन उठेको छ? एमालेमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रको महाधिवेशनबाट निर्वचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो पार्टीलाई एकता गरेको हो।
- पार्टीमा निर्वाचित उहाँहरू मात्रै हो। दुई अध्यक्षकै सहमतिमा सचिवालय, स्थायी कमिटी,केन्द्रीय कमिटी बनेको हो। यी निकाय निर्वाचित होइनन्।
- दुई अध्यक्षबीच भएको छलफलमा म पनि सहभागी थिएँ। त्यो छलफलमा अध्यादेश मबाट जारी हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको हो।
- बाहिर त के-के आशंका हुन्छन्। कहिले मध्यावधि निर्वाचन, कहिले संकटकाल भनिन्छ। यी कुनै पनि कुरा सत्य होइनन्। हाम्रैसामू अर्का अध्यक्षलाई प्रधानमन्त्रीले प्रष्ट पार्नुभएको हो। प्रधानमन्त्रीले मेरैअगाडि अर्का अध्यक्षलाई त्यस्तो भनेकाले अनावश्यक शंका गर्ने ठाउँ देख्दिनँ।