सहमतिका लागि शनिबारको स्थायी कमिटी बैठक दुई दिन पछाडि सारेका सत्तारूढ नेकपाका दुई अध्यक्षले शनिबार आपसमा छलफलसमेत गर्न सकेनन्।
प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच टेलिफोन संवाद भएर बैठक स्थगित गर्ने निर्णय भए पनि भेटघाट भने हुन सकेन।
'नौ बजे प्रधानमन्त्रीलाई भेट्न आउने कार्यक्रम थियो। उहाँ (प्रचण्ड) ले नै १० बजेलाई सार्नुभयो,' प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, 'उहाँ नआउने भएपछि आइतबार मात्रै भेट्ने कुरा भएको छ।'
दुई अध्यक्षबीच आइतबार भेट्ने समय तय भएको प्रचण्डनिकट एक नेताले सेतोपाटीलाई बताए।
'प्रधानमन्त्री आफ्नो अडानबाट टसमस हुनुभएको छैन। सायद त्यही भएर बैठक नबसेको होला,' ती नेताले भने, 'अबको भेटमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ, त्यसपछि मात्रै एउटा निचोडमा पुग्न सजिलो हुन्छ।'
यसअघि शुक्रबार दुई अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने स्पष्ट पारेका थिए भने प्रचण्डले २०७५ जेठ २ गते भएको सहमतिअनुसार प्रधानमन्त्रीको कार्यकाल बाँड्न प्रस्ताव गरेका थिए।
शनिबार प्रचण्ड निवास खुमालटारमा उनीसहित ६ जना सचिवालय सदस्य भेला भएका थिए। भेलामा प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापाको सहभागिता थियो।
गृहमन्त्री बनेदेखि नै प्रधानमन्त्रीसँग निकट रहेका गृहमन्त्री थापा पछिल्लो समय प्रचण्ड-नेपाल खेमाका भेलामा सहभागी हुन थालेका छन्।
स्रोतअनुसार खुमालटार भेलाले प्रधानमन्त्रीले फेरि पनि दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरेको निष्कर्ष निकालेको छ।
'प्रधानमन्त्रीले फेरि पनि अध्यादेश ल्याउने तयारी गर्नुभएको छ। सम्भवत दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा ३० प्रतिशत सदस्य भए अलग्गै दल बनाउन सकिने गरी अध्यादेश आउँछ होला,' प्रचण्डनिकट एक नेताले भने, 'अझै पनि हामीले पार्टी एकताका लागि नै प्रयास गरिरहेका छौं। यसलाई निरन्तरता दिने निर्णय भएको छ।'
प्रचण्ड निवासमा भएको छलफलले प्रधानमन्त्री ओलीको कदमका आधारमा थप निर्णय गर्ने योजना बनाएको छ।
प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका थिए। 'अझै कुनै निष्कर्ष निस्किएको छैन। बहुमतको धम्की देखाएर निर्णय गर्ने कोशिस भइरहेको छ,' प्रधानमन्त्रीनिकट एक स्थायी कमिटी सदस्यले भने, 'उहाँहरूले जस्तो योजना बनाए पनि प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुहुन्न।'
प्रधानमन्त्री ओलीले शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका थिए। सवा घण्टा भेट गरेपछि प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्री र राज्यमन्त्रीलाई छलफलका लागि बालुवाटार बोलाएका थिए।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली मन्त्रीहरूसामु आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए। उनले आफू र राष्ट्रपतिविरूद्ध षड्यन्त्र भइरहेको आरोप लगाएका थिए।
राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूले समेत आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताएका थिए।
'पार्टी बैठकमा एजेन्डाभन्दा बाहिर गएर मेरो राजीनामा मागिएको छ। त्यस्तो अवस्थामा तपाईंहरू पनि स्पष्ट हुनुपर्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अर्का एक मन्त्रीले भने, 'हुलहुज्जत तरिकाले मलाई हटाउन लागियो भने म पनि चुप लागेर बस्दिनँ।'
उनले पार्टी एकताका लागि नेताहरूलाई दबाब दिन समेत मन्त्रीहरूलाई आग्रह गरेका थिए।
प्रधानमन्त्रीले आफ्ना धारणा राखेपछि कृषिमन्त्री घनश्याम भुषाल र ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए।
'सही सूचना राखिएन भने कहिलेकाहीँ गलत कुरा आउन सक्छन्। त्यसैले सूचना प्रणाली दुरुस्त गर्नु राम्रो हुन्छ,' मन्त्री भुषालको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, 'मुलुकमा यस्तो भइरहेका बेला सूचना गलत आउन सक्छ। विभिन्न शक्तिहरूले गलत हल्ला फिँजाउन सक्छन्। यस्तो बेला नेतृत्व सजग हुनुपर्छ।'
कृषिमन्त्री भुषालले स्वार्थ समूहको प्रभावमा परेर मूल्यांकन नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए।
यो पनि हेर्नुहोस्: