सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथिको दफावार छलफल आरम्भ भएको छ।
आइतबार विहान ८ बजे बसेको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७६, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७६ र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी गराएका थिए।
त्यसपछि सभामुखले आर्थिक वर्ष २०७७/७८ को वार्षिक राजश्व र व्ययको अनुमान बजेटमाथिको कारबाही प्रारम्भ गरेलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सदस्यहरु उभिएर नाराबाजी गरेका थिए।
नाराबाजीकैबीच सभामुखले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई आव २०७७/७८ को वार्षिक राजश्व र व्ययको अनुमानमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए।
मन्त्री बोहरा रोस्टममा बोल्दै गर्दा प्रतिपक्षी दलले रोस्टम घेराउ गर्दै नाराबाजी जारी राखेका थिए। नाराजाजीकै बीच मन्त्र बोहोराले प्रस्ताव प्रस्तुत गरे ।
सभामुख थापाले प्रस्तुत विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। नाराबाजीकै बीच प्रस्तावको पक्षमा सत्तापक्षका सांसदले हुन्छ भनेका थिए।
हुन्न भन्ने आवाज नसुनिएको भन्दै सभामुखले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक अनुमानित राजश्व र व्ययमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका थिए।
बैठक असार २२ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। अर्को बैठकमा असार १ गते सदनमा प्रदेश सरकारका तर्फबाट प्रस्तुत भएको बजेटमाथि छलफल हुने सभामुख थापाले बताए।
बैठकपछि प्रमुख प्रतिपक्षी दलले आफूहरुलाई बाइपास गरेर जान खोज्नु असंवैधानिक भएको तर्क गरे।
‘नाराबाजीका बीच संसद चल्नु असंबैधानीक काम हो’ नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले भने।
कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सरकार गम्भीर बन्नुपर्ने माग राख्दै प्रतिपक्षी दलले प्रदेश सरकारसंग असहमति जनाउदै संसद अवरुद्ध गर्दै आएका थिए।