सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एंव स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार प्रधानमन्त्रीकै अनुमतिमा आफूले आइतबार बिहान सभापति देउवालाई भेटेको नेम्वाङले सेतोपाटीलाई बताए।
भेटमा आफूले समसामयिक राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई जानकारी गराएको नेम्वाङको भनाइ छ।
‘सत्तापक्ष र प्रतिपक्षीबीच निरन्तर संवाद रहनुपर्छ, सम्पर्कमा रहनुपर्छ भन्ने कुरा उठिराखेकै हुन्छन्,’ नेम्वाङले भने, ‘प्रतिपक्षी दलका नेता शेरबहादुरजीहरूले पनि छलफल हुनुपर्छ। विभिन्न विषयहरूमा हामीलाई जानकारी हुनुपर्छ भन्नुभएकै हो। प्रधानमन्त्रीजीले पनि हिजोअस्ती उहाँसँग भेट गर्नुभएको थियो।’
प्रधानमन्त्रीले देउवासँग कुराकानी गर्न भनेपछि आफूले भेटेर कुराकानी गरेको नेम्वाङले बताए।
‘प्रधानमन्त्रीजीले प्रतिपक्षी दलका नेता शेरबहादुरजीसँग कुराकानी गर्ने भनेकाले उहाँकै अनुमतिमा म भेट्न गएको थिएँ,’ नेम्वाङले थपे, ‘ठोस विषय त्यस्तो केही होइन। विभिन्न विषयमा जानकारी गराउनुपर्ने थियो, भेटेरै जानकारी गराएको हुँ।’
आफूले भेटमा देउवालाई अहिलेको समसामयिक राजनीतिक कुराकानीबारे जानकारी गराएको उनको भनाइ छ।
‘मैले अहिलेका राजनीतिक घटनाक्रमबारे सम्पूर्ण कुरा जानकारी गराएँ,’ नेम्वाङले थपे, ‘जिम्मेवार प्रतिपक्षका नाताले जिम्मेवार भूमिका कांग्रेसले खेल्ने नै छ। खेलोस् भन्ने आग्रह पनि गरें।’
प्रधानमन्त्रीजीलाई भन्नुपर्ने केही भए राख्न आफूले देउवालाई आग्रह गरेको पनि नेम्वाङको भनाइ छ।
‘केही छ भने भन्नुस् म प्रधानमन्त्रीजी कहाँ पुर्याउँछु भनेको थिएँ,’ नेम्वाङले भने, ‘उहाँले तपाईंहरूको विवाद आन्तरिक हो। विवाद चाँडो टुंगोमा पुगोस्, शुभकामना छ भन्नुभयो।’
पार्टीभित्र आन्तरिक विवाद भएका बेला किन प्रतिपक्षी दलका नेता भेट्न पुग्नुभयो? भन्ने प्रश्नमा नेम्वाङले प्रतिपक्षी दलसँग नियमित संवाद हुनुपर्ने बताए।
‘कहिले आन्तरिक विवाद भएका बेला पर्छ कहिले के बेला पर्छ तर प्रतिपक्षी दलसँग त नियमित संवाद हुनुपर्छ भन्ने हो,’ नेम्वाङले थपे।
प्रधानमन्त्री ओलीको ‘दूत’ बनेर देउवालाई भेट्न गएको भन्ने छ नि! भन्ने प्रश्नमा उनले खुलेर जवाफ दिएनन्। उनी हाँसेमात्र जवाफ दिएनन्।
उक्त भेटमा सभापति देउवाले संवैधानिक परिषदका बाँकी नियुक्ति प्रक्रिया, एमसिसी, संविधानका मर्मविपरीत आएका एकपछि अर्का विधेयकहरू लगायतमा छलफल गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।
यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेट भएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा ओलीले नेकपा फुटे मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव देउवासमक्ष राखेको भन्दै अहिले नेकपामा तरंग आएको छ।
यो पनि:
प्रधानमन्त्री ओली र देउवाबीचको भेटले ल्याएको तरंग