सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवादमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि जोडिएको छ।
नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तालाई बाक्लो बनाएपछि नेकपाको विवादमा कांग्रेस जोडिएको हो।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय सदस्यहरूले ती भेटबारे देउवासँग जवाफ माग गरेका थिए।
केन्द्रीय समिति सदस्यहरूले जिज्ञासा राखेपछि सभापति देउवाले बैठकमा ब्रिफिङ गरेका थिए।
‘दुबै पक्षका नेताहरू मलाई भेट्न आइरहेका छन्। बढीचाहिँ ओली पक्षका नेताहरू आएका छन्,’ एक केन्द्रीय सदस्यले देउवालाई उद्धृत गर्दै सेतोपाटीसँग भने,‘ओली पक्षका नेताहरूले भने सांसदहरूको हिसाबकिताब नै ल्याएर आउँछन्। तर मैले कसैलाई वर्ड(वचन) दिएको छैन।’
प्रधानमन्त्री ओली र देउवाबीच असार १७ गते बालुवाटारमा भेटवार्ता भएको थियो।
प्रधानमन्त्री ओलीको दूत बनेर नेकपा संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङ आइतबार बिहान देउवानिवास पुगेका थिए।
उक्त भेटमा कांग्रेस सांसद मीनेन्द्र रिजाल पनि सहभागी थिए।
आजको केन्द्रीय समिति बैठकमा रिजालले उक्त भेटबारे बताएका थिए।
‘नेम्वाङले जस्तोसुकै अवस्था आउन सक्ने भएकाले सहयोग र सहकार्यका लागि तयार हुनुहोला भन्ने प्रधानमन्त्रीको सन्देश सुनाउनु भएको थियो,’ रिजाललाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने।
नेकपाका दुबै पक्षबाट आइरहेका प्रस्तावलाई भने कांग्रेसले गम्भीरतापूर्वक नलिएको नेताहरूले बताएका छन्।
‘राजनीतिमा यस्ता हल्लाखल्ला भइराख्छन्। उहाँहरूले हामीलाई कम कुरा भन्नुहुन्छ, मिडियामा धेरै कुरा सुनाउनुहुन्छ,’ कांग्रेस उपसभापित विमलेन्द्र निधिले सेतोपाटीसँग भने,‘हामीले यो कुरालाई गम्भीरतापूर्वक लिएका छैनौं।’