चितवन, कालिकोटलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सुरू गरिसकेको कांग्रेसले २६ जिल्लामा अझै अन्तरिम संरचना समायोजन गर्न सकेको छैन।
स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका ल्याएको वर्ष दिन हुन लाग्दासमेत समायोजनका काम नसकिँदा क्रियाशील सदस्यता वितरणको काम अगाडि बढ्न सकेको छैन।
अन्तरिम संरचना टुंग्याएका जिल्लाका सभापतिलाई मात्रै कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको फारम उपलब्ध गराउँछ।
‘अन्तरिम संचरना टुंगिएका ५१ जिल्लाले केन्द्रबाट क्रियाशील सदस्यता फारम लैजान सक्छन्। चितवन, कालिकोटमा क्रियाशील सदस्यता वितरण गत फागुनमै सुरू भएको हो,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जबसम्म अन्तरिम संरचना टुंगिँदैन त्यसबेलासम्म जिल्लाले क्रियाशील सदस्यता फारम पाउँदैन।’
अन्तरिम संरचना टुंगिएको जानकारी जिल्ला कार्यसमितिले इमेलमार्फत् पत्र पठाएर वा केन्द्रीय कार्यालयमा सम्पर्क राखेपछि क्रियाशील सदस्यता फारम पठाउने कांग्रेसको तयारी छ। २६ जिल्लामा अन्तरिम संरचना निर्माणमा ढिलाइ भएको हो।
गत वर्ष साउनमा स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ जारी गरेर समायोजनका लागि पटक-पटक समय दिँदा पनि २६ जिल्लाले समायोजन गर्न सकेका छैनन्। गत फागुन अन्तिम सातादेखि कोरोना महामारीले पार्टीका गतिविधि रोकिएका कारण पनि समायोजन थप ढिलाइ भएको हो।
सोमबार बसेको कांग्रेस कार्यसमिति बैठकले अब समायोजन तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिएको छ। साउन १० गतेभित्र समायोजनका काम सकेर केन्द्रमा जानकारी दिन र क्रियाशील सदस्यताका प्रक्रिया सुरू गर्न केन्द्रीय समितिले निर्देशन दिएको छ।
कांग्रेसले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने पनि घोषणा गरेको छ। अब समायोजनका काम सुरू नगरे वडादेखि केन्द्रीय महाधिवेशन कार्यतालिकाअनुसार अगाडि बढ्न अप्ठेरो पर्ने छ।
कोरोनाका कारण कांग्रेसले प्रदेशदेखि तल्ला निकायका अधिवेशन यसअघि तय गरिएको मितिभन्दा दुई महिना पछाडि सारेर पुस ६ गतेदेखि सुरू गर्ने निर्णय गरेको हो।
कांग्रेसले प्रदेश नम्बर २ का आठवटै जिल्लामा समायोजनका काम सकेको छैन। यतिमात्र होइन शीर्ष नेताकै जिल्लामा विवाद छ। पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, उपसभापति विमलेन्द्र निधिको गृहजिल्ला धनुषासहित काठमाडौं, नुवाकोट, काभ्रेलगायत २६ जिल्लामा समायोजन टुंगिएको छैन।
‘काठमाडौंको क्षेत्र नम्बर ८ को एक वडामा मात्रै समायोजन टुंगिएको छैन,’ प्रवक्ता शर्मा भन्छन्, ‘सिंगो जिल्लामा पार्टी संरचना टुंगिएपछि मात्रै क्रियाशील सदस्यताका प्रक्रिया सुरू गर्न सकिन्छ।’
वडास्तरमा रहने अन्तरिम संरचनाले नै क्रियाशील सदस्यता वितरण गर्छन्।
कांग्रेसको महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरण आवश्यक पर्छ। वडाका क्रियाशील सदस्यमध्येबाट क्षेत्रीय प्रतिनिधि चुनिन्छन्। उनीहरू नै केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। पाँच वर्षअघि भएको १३ औं महाधिवेशनमा कांग्रेसका चार लाख ८० हजार क्रियाशील सदस्य थिए।
कोरोनाभाइरस असहजताका बीच पनि अन्तरिम संरचना टुंग्याउनुपर्ने जिम्मेवारी जिल्लाहरूलाई रहेको शर्माले जानकारी दिए।
‘साउन मसान्तसम्म क्रियाशील सदस्यता वितरण गरिसक्नुपर्ने कार्यतालिका केन्द्रीय समितिले हिजो बनाएको छ। अब केन्द्रबाट पनि समन्वय गरी २६ जिल्लामा समायोजन टुंग्याउँछौं,’ उनले भने।
२०७२ सालबाट निर्वाचित भएका पूरानै कार्यसमितिका पदाधिकारीलाई वरिष्ठता तथा जेष्ठताका आधारमा अन्तरिम संरचनामा समायोजन गर्ने कांग्रेसको तयारी छ। स्थानीय तहमा अन्तरिम संरचना गठन गर्न लागे पनि कांग्रेस सातै प्रदेशमा संरचना बनाउने पक्षमा देखिएको छैन।
अधिकांश जिल्लामा अन्तरिम संरचना ८० प्रतिशतभन्दा बढी सकिएको कांग्रेसले जनाएको छ। तर समायोजनका काम शतप्रतिशत नसकिएसम्म समायोजन टुंगिएको नमानिने र क्रियाशील सदस्यता वितरणको प्रक्रिया सुरू हुँदैन।
कांग्रेसले मंसिरसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तयार पारेर पुस ६ गतेदेखि वडा अधिवेशन सुरू गर्न लागेको छ। वडा,क्षेत्र, जिल्ला र प्रदेशपछि केन्द्रीय महाधिवेशन फागुन ७ देखि काठमाडौंमा हुनेछ।
यो पनि:
कांग्रेस महाधिवेशन फागुन ७ देखि काठमाडौंमा, यस्तो छ कार्यतालिका
बरिष्ठलाई जिम्मेवारी दिएर अन्तरिम संरचना बनाउँदै कांग्रेस