प्रतिपक्षी दलको नाराबाजीकैबीच सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरू भएको छ।
मंगलबार दिउँसो ३ बजेको छैठौं अधिवेशनको २२ औं बैठकमा सभामुख अर्जुनबहादुर थापाले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीका सांसदहरूले रोस्टम अगाडि उभिएर नाराबाजी सुरू गरेका थिए।
सभामुखले नाराबाजीकैबीच प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक राजस्व र व्ययको अनुमान बजेटमाथिको कारबाही प्रारम्भ गरेका थिए।
उनले सबै प्रथम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरलाई समय दिएका थिए। बजेटमाथि बोल्दै प्रदेशसभा सदस्य कुँवरले बजेटलाई समर्थन रहेको बताए।
उनले प्रदेश सरकारले ल्याएको बजेट उत्कृष्ट रहेको दाबी गर्दै बजेट जनता र समाजको पक्षमा राम्रो प्रगति र उन्नत रहेको धारणा राखे।
त्यसलगत्तै सभामुखले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल गर्न निर्धारित समय समाप्त भएको र बाँकी छलफल असार २४ गते बिहान ८ बजेको बैठक हुने भन्दै बैठक स्थगित गरेका थिए।