सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलको नाराबाजीकैबीच बजेटमाथिको छलफल जारी छ।
सभामुख अर्जुनबहादुर थापाले बुधबार बिहान ८ बजेको छैठौं अधिवेशनको २३ औं बैठकको काराबाही प्रारम्भ गरेलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीका सांसदहरूले रोस्टम अगाडि उभिएर नाराबाजी सुरू गरेका थिए।
प्रतिपक्षी दलको नाराबाजीकैबीच सभामुखले आर्थिक वर्ष २०७७/७८ को राजस्व र व्ययको अनुमान बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक र सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्न बनेको विधेयक माथिको कारबाही प्रारम्भ भएको बताए।
त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक र सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने व्यवस्था गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत सभामा गर्न अनुमति दिए।
नाराबाजीकैबीच अर्थमन्त्री बोहराले सोही विधेयकहरूमाथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यसपछि अर्थमन्त्रीले प्रस्तुत गरेका प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे।
प्रस्तावको पक्षमा सत्तापक्षका सांसदहरूले ‘हुन्छ’ भनेका थिए।
‘हुन्न’ भन्ने आवाज नसुनिएपछि सदनका प्रस्तुत विधेयकहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा सभामुखले गरे।
अर्को बैठक आजै बिहान ९ बजेसम्मका लागि स्थगित भएको थियो।
आजै बिहान ९ बजे बसेको अर्को बैठकमा सत्तापत्तका सांसद दुर्गा विकले धारणा राख्दै अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्नुपर्ने बताइन्।
प्रदेशसभाको अर्को बैठक आजै दिउँसो २ बजे बस्ने छ।
उक्त बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गर्ने बताइएको छ।
प्रदेश सभाका सचिव राम सिंह धामीले आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको बताए।
कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सरकार गम्भीर बन्नुपर्ने माग राख्दै प्रतिपक्षी दलले प्रदेश सरकारसँग असहमति जनाउदै संसद अवरूद्ध गर्दै आएका छन्।