कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि भएको लकडाउन असार १ देखि खुकुलो भएको छ।
लकडाउन खुकुलो भएसँगै केही व्यापार व्यवसाय खुलेका छन्। चहलपहल बढेको छ। खुकुलो लकडाउनमा पनि अझै खुल्न नसकेका केही क्षेत्र छन्। जहाँ काम गर्नेहरूलाई अहिले पनि लकडाउनजस्तै छ।
तीमध्ये काठमाडौंका रिक्सा चालक पनि हुन्।
व्यस्त बजारमा सामान र पर्यटक ओसार्ने सयौं रिक्सा चालकले महिनौ बित्दा पनि सुको कमाउन सकेका छैनन्।
दिनभरि रिक्साका पाइडल घुमाएर साँझ बिहानको छाक टार्ने उनीहरूसँग बचत पनि हुने कुरा भएन।
पछिल्लो समय उनीहरूलाई दुई छाक खानै गाह्रो भएका समाचार विभिन्न सञ्चार माध्यममा आइरहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्सा चालकका यी पीडाप्रति चासो व्यक्त गरेकी छन्।
‘रिक्सा चालकका पीडा सञ्चार माध्यममा हेरेपछि उहाँको ध्यानाकर्षण भएको छ। सरकारले पनि कोही भोकै मर्दैन भनेको छ। कसरी यस्तो भयो उनीहरूको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने उहाँको चासो छ,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने,‘सरकारका सम्बन्धित निकायले यसको समाधान निकाले हुने भन्ने उहाँको धारणा छ।’
गृह मन्त्रालय, सम्बन्धित स्थानीय तह र जनप्रतिनिधिले रिक्सा चालकको समस्या समाधान गर्ने सक्ने राष्ट्रपतिको बुझाइ रहेको अधिकारीले बताए।
राष्ट्रपतिले चासो व्यक्त गरेपछि मंगलबार काठमाडौं महानगरपालिकाले रिक्सा चालकको समस्या समाधान गर्न के गर्न सकिन्छ भनेर बैठक गरेको छ।
महानगरको सहरी सुव्यवस्था विभागले रिक्सा चालकलाई बोलाएर कुराकानी गरेको महानगरमा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी दिए।
विभागका प्रमुख हरि कुँवर रिक्सा चालकका व्यक्तिगत र व्यवसायिक समस्या रहेको बताए।
‘उहाँहरू दिनभरि रिक्सा चलाएर बिहान-बेलुका खानुहुन्थ्यो। एकातिर त्यो समस्या छ अर्कातिर काठमाडौंमा इ-रिक्सा चलाउन दिनुपर्ने उहाँहरूको माग छ,’ कुँवरले भने,‘महानगरले मात्रै उहाँहरूका सबै मागको सुनुवाइ गर्न सक्दैन। तै पनि के गर्न सकिन्छ भनेर हामी उहाँहरूसँग कुरा गर्छौं।’
काठमाडौंमा झन्डै ४ सय रिक्सा दर्ता भएको र अहिले डेढ सय जति त्यसैमा आश्रित भएको कुँवरले बताए।