सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चुलिँदै गएका बेला दोस्रो पुस्ताका नेताहरू फेरि छलफलमा जुटेका छन्।
बिहीबार साँझ कृषि मन्त्रालयको हलमा केही मन्त्री र नेकपा स्थायी समिति सदस्यहरूबीच छलफल भइरहेको छ।
छलफलमा कृषि मन्त्री घनश्याम भुसाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री बर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री योगेश भट्टराई, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहभागी रहेको बताइएको छ।
उनीहरूले यसअघि असार १९ गते पनि छलफल गरेका थिए। छलफलको नेतृत्व कृषि मन्त्री भुसालले गरेका थिए।
उक्त छलफलपछि उनीहरूले एकता हुँदाको म्यान्डेटका आधारमा अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए।
२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो।