कर्णाली प्रदेश सभाको विषयगत समितिको अध्यक्ष पदको लागि असार २८ गते निर्वाचन हुने भएको छ।
कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम १४८ बमोजिम विषयगत समितिको अध्यक्षको लागि सभामुखले निर्वाचन मिति तोकेका हुन्।
समितिको अध्यक्ष पदका लागि उम्मेदवारी दिन असार २७ गते (शनिबार) मिति तोकिएको छ। प्रदेश सभा नियमावली २०७४ को नियम १४८ (३) सँग सम्बन्धित अनुसूची ४ अनुसार एक जना प्रस्तावक र एक जना समर्थकसहित समितिको अध्यक्ष पदको लागि मनोनयन दर्ता गर्न सूचना जारी गरिएको छ।
मनोनयनका लागि २७ गते बेलुका ५ बजेसम्मको समय दिइएको छ।
कर्णाली प्रदेश सभामा ४ वटा विषयगत समिति छन्। जसमा अहिले ज्येष्ठताका आधारमा समितिको अध्यक्ष तोकिएको छ।
अर्थ तथा प्राकृतिक समितिमा अमर बहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिमा पदमबहादुर रोकाया, सामाजिक विकास समितिमा राजु नेपाली र सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठले अध्यक्षता गरिरहेका छन्।
सार्वजनिक लेखा समितिका अध्यक्ष श्रेष्ठ प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद हुने भने अन्य ३ वटा समितिका सभापति सत्तारूढ दलकै सांसद हुन्।
हाल लेखा समितिमा अध्यक्षबाहेक ६ जना, सामाजिक विकास समितिमा ७ जना, विधायन समितिमा ६ जना, अर्थ समितिमा ८ जना सदस्यहरू छन्।
प्रदेश सभा नियमावलीको नियम १४५ अनुसार अर्थ तथा प्राकृतिक स्रोत समितिको कार्यक्षेत्र आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्छन्।
विधायन तथा प्रदेश मामिला समितिको कार्यक्षेत्रमा प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश लोकसेवा आयोग र सरकारका कामकाजहरूको अनुगमन पर्दछ।
यस्तै, सामाजिक विकास समितिको कार्यक्षेत्रभित्र सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम, सामाजिक न्याय र मानव अधिकार पर्छन्।
प्रदेश लोकसेवा आयोग र प्रदेश मानव अधिकार आयोगबाहेक प्रादेशिक संवैधानिक आयोगका प्रतिवेदन, सार्वजनिक लेखा तथा प्रदेश लेखा परीक्षक कार्यालयको प्रतिवेदन र बेरुजु फर्छ्यौटसम्बन्धी काम सार्वजनिक लेखा समतिको कार्य क्षेत्रभित्र पर्छन्।