सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ६ जना सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय मान्नु पर्ने निष्कर्ष निकालेका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमालटारमा बिहीबार बिहान बसेको ६ जना सचिवालय सदस्यको बैठकले स्थायी समिति बैठक सुचारू गर्नु पर्नेसमेत निर्णय गरेको स्रोतले सेतोपाटीलाई बतायो।
बैठकमा प्रचण्डका साथै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए।
'अब बैठक अगडि बढाउनुपर्छ। सधैँ सारेर हुँदैन,' स्रोतले भन्यो,'स्थायी समिति बैठकमा छलफल गरेर एउटा निर्णय लिनुपर्छ। त्यसलाई प्रधानमन्त्रीले मान्नुपर्छ।'
खुमालटारमा बैठक बसेपछि प्रचण्ड र नेपाल बालुवाटार गएका थिए।
नेकपा स्थायी समिति बैठक असार १८ गतेदेखि बस्न सकेको छैन। बैठक शुक्रबारका लागि डाकिएको छ।