मदिरा सेवन गरी पैदल यात्रुको ज्यान जाने गरी सवारी चलाएर दुर्घटना गराउने गोठाटारका २१ वर्षीय पृथ्वी मल्ललाई सर्वोच्च अदालतले ५ लाख धरौटीमा छोडेको छ।
२०७६ मंसिर २८ गते मदिरा सेवन गरी उनले चलाएको बा १४ च ६१२३ नम्बरको कारले बुढानिलकण्ठ स्कुल गेटमा ठक्कर दिँदा गोरखा घर भई बुढानिलकण्ठमा बस्ने लीला देवकोटाको मृत्यु भएको थियो।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले अभियुक्त मल्ललाई ५ लाख धरौटीमा छोड्ने आदेश गरेको हो। मल्ल गम्भीर मानसिक रोग लागेका र दमका रोगी भएकाले न्यायाधीशद्वयले उनलाई धरौटीमा छोड्ने आदेश गरेका हुन्।
'यसमा प्रस्तुत निवेदक हाल सिभियर डिप्रेसन रहेको तथ्य नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतको लगनखेलस्थित मानसिक अस्पतालको मिति २०७६ फागुन ३० को ओपिडी बुक तथा सोही अस्पतालको २०७७ असार २८ गतेको डिस्चार्ज समरीबाट देखिन्छ। निज दमको बिरामी रहेको भन्ने चिरायु अस्पतालको मेडिकल रिपोर्टहरूबाट समेत देखिन्छ,' उनीहरूको आदेशमा भनिएको छ, 'निज भागी जाने वा प्रमाण लुप्त गर्ने अवस्था नदेखिएको हुँदा निजलाई थुनामा राखी पुर्पक्ष गर्ने काठमाडौं जिल्ला अदालतको मिति २०७६ पुस २३ को आदेश र सो सदर गर्ने उच्च अदालतबाटको फागुन १५ गतेको आदेश बेरितको देखिएकोले बदर गरिएको छ। अब निवेदक प्रतिवादीलाई ५ लाख धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू।'
कोरोनाभाइरस महामारीको अवस्थामा दमको बिरामी 'हाइ रिस्क ग्रुप'मा रहेकोले पनि उनलाई थुनामा राख्न नहुने न्यायाधीशद्वयको आदेशमा भनिएको छ।
निवेदक करिब ७ महिना थुनामा नै बसेर अनुसन्धानमा सहयोग गरिसकेकोले अब प्रमाण लुकाउने र भाग्ने संभावना नरहेको भन्दै काठमाडौं जिल्ला अदालत को आदेश बदर हुने सर्वोच्चको उक्त आदेशमा उल्लेख छ।
प्रहरीले मल्लविरूद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरेर पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनलाई सवारी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएकोले ३ देखि १० वर्षसम्मको कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ बमोजिम उक्त कैद सजाय माग गरिएको थियो।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले मल्ललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्ला अदालतको थुनछेक आदेशपछि मल्ल उच्च अदालत पाटन गएका थिए। आफूलाई साधारण तारेखमा छोड्नु पर्ने उनको माग थियो। उच्च अदालतले उनको माग सुनेन। उनलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतके आदेश सदर गर्यो।
दुबै अदालतका आदेशविरूद्ध मल्लको परिवार सर्वोच्च अदालत गएको थियो।
मल्ल दुर्घटनाकै दिन पक्राउ परेका थिए। महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले त्यतिबेला सेतोपाटीसँग कुरा गर्दै मल्लले मदिरा सेवन गरेर सवारी चलाएको बताएका थिए।
‘प्रारम्भिक अनुसन्धानमा मल्लले ‘ड्रिङ्स एन्ड ड्राइभ’ गरेको देखिन्छ। अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा त्यही देखियो,’ लम्सालले भनेका थिए, ‘एक त मदिरा सेवन गरेर सवारी चलाउनु कानुनविपरीत हो, मदिरा सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएको देखिएकाले सवारी ज्यान मुद्दामा अनुसन्धान केन्द्रीत छ।’
शिवपुरी क्षेत्रमा मदिरा सेवन गरेर फर्किँदै गरेका मल्लले चलाएको कारले देवकोटालाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि कार बिजुलीको पोलमा गएर ठोक्किएको थियो।
‘अर्को साइडतर्फ हिँडिरहेको मान्छेलाई ठक्कर दिएको देखिन्छ,’ लम्सालले भनेका थिए।
कारको ठक्करपछि गम्भीर घाइते देवकोटालाई आफन्तले न्युरो अस्पताल लिएर गए पनि अस्पताल नपुर्याउँदै उनको मृत्यु भएको थियो।
लम्सालका अनुसार चालक मल्लसहित कारभित्र रहेका अन्य तीन जनाले पनि मदिरा सेवन गरेका थिए। उनीहरू भने त्यतिखेरै छुटेका थिए।
मल्लले आफूलाई गल्फको राष्ट्रिय स्तरको खेलाडी बताउने गरेका छन्। अमेरिकामा बस्दै आएका उनी घटनाको एक साताअघि मात्रै काठमाडौं आएका थिए।