सर्वोच्च अदालतले केही दिनअघि बुढानिलकण्ठ 'हिट एन्ड रन' मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गर्यो। सात महिनाअघि मल्लले मादकपदार्थ सेवन गरेर तीव्र गतिमा चलाएको कारले गोरखा घर भएकी लीला देवकोटालाई फुटपाथमै चढेर ठक्कर दिएपछि उनको मृत्यु भएको थियो।
जिल्ला अदालतले न्यायिक हिरासतमा राखेका सवारी ज्यान मुद्दाका अभियुक्त मल्ललाई धरौटीमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र मनोजकुमार शर्माको आदेशको अहिले सार्वजनिक आलोचना भइरहेको छ। कानुन र न्यायिक प्रक्रिया बुझ्ने कतिपयले धरौटीमा छाड्दा सर्वोच्चले लिएका आधारमाथि नै प्रश्न उठाएका छन्।
असार ३१ गते न्यायाधीशद्वयको इजलासले फौजदारी मुलुकी संहिता ऐनको दफा ६७, उपदफा ३ अनुसार मल्ललाई छाडेको बताएको छ।
उपदफा ३ मा लेखिएको छ, 'उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए पनि १० वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसूरमा बाहेक अभियुक्त बालबालिका वा शारीरिक वा मानसिक रोग लागी अशक्त भएको वा सात महिनाभन्दा बढीकी गर्भवती महिला वा ७५ वर्षमाथिको वृद्ध भएमा त्यस्तो अभियुक्तलाई अदालतले धरौटी वा जमानत लिई तारिखमा छोड्न सक्नेछ।'
यो कानुनी व्यवस्थाअनुसार मल्ललाई धरौटी वा जमानत लिएर तारिखमा छाड्न दुई-तीनवटा अवस्था हुनुपर्छ। कि त उनी बालबालिका, सात महिना बढीको गर्भवती महिला वा ७५ वर्षमाथिको वृद्ध हुनुपर्यो, वा कुनै 'शारीरिक र मानसिक रोग लागेको अशक्त व्यक्ति' हुनुपर्यो।
सर्वोच्च अदालतका न्यायाधीश प्रधान र शर्माको इजलासले मल्ललाई धरौटीमा छाड्दा तीनवटा आधार उल्लेख गरेको छ।
पहिलो, उनी 'सिभियर' डिप्रेसन (गम्भीर मानसिक अवसाद) का बिरामी हुन्।
दोस्रो, उनी आज्मा दमका रोगी भएकाले कोरोना संक्रमण बेला 'हाइ रिस्क' (अत्यन्त खतरा) मा पर्ने बिरामी हुन्।
तेस्रो, उनले ७ महिनासम्म थुनामा बसेर अदालतलाई सहयोग गरेका छन्, अब प्रमाण लुप्त गर्ने वा भागेर जाने आधार छैन।
न्यायाधीशद्वयले उल्लेख गरेको कानुनअनुसार पनि मल्ललाई धरौटीमा छाड्न उनी डिप्रेसन र दमको रोगले शारीरिक र मानसिक रूपले 'अशक्त' हुनुपर्छ। कानुनले त्यही भन्छ।
दुर्घटना हुनुअघिको परिस्थिति, दुर्घटनापछि उनी प्रहरी हिरासतमा रहँदा वा डिल्लीबजार कारागारमा न्यायिक हिरासतमा रहँदाका गतिविधिले मल्लको मानसिक अवस्था 'असक्त' रहेको देखाउँदैन। न उनी दमले थलिएका अशक्त बिरामी हुन् भन्ने नै देखिन्छ।
मल्लले हिरासत र अस्पताल बस्दा सेवन गरेका औषधिको सूची सेतोपाटीले प्राप्त गरेको छ। ती औषधिको सूची र उनलाई हिरासतमा राख्ने प्रहरी तथा डिल्लीबजार कारागारका अधिकारीको भनाइले पनि मल्ल गम्भीर मानसिक वा दमका बिरामी रहेको देखाउँदैन।
घटनाको केही दिनअघि मंसिर २३ गते उनी अमेरिकाबाट फर्किएका थिए। मंसिर २७ गते साँझ साथी भेट्न आफैं कार चलाएर बुढानिलकण्ठको हेपालीस्थित घरबाट निस्किएका थिए। करिश मास्के भन्ने साथीलाई भेटेर साँझ बियर खाएका उनीहरू रातभरि बालुवाटार र ठमेलका रेस्टुरेन्ट र क्लबमा बसेका थिए।
एलओडी भन्ने क्लबमा करिसका दुई केटी साथी भेटिएपछि उनीहरूसमेत भएर बिहान ४/५ बजेतिर बुढानिलकण्ठको ग्रिन पार्क भ्याली रिसोर्ट पुगे। त्यहाँबाट खाना प्याक गरेर गाडीमा खाने भन्दै लिएर हिँडे।
उनीसँग कारमा दुई महिलासहित तीन जना साथी थिए। मादक पदार्थ सेवन गरेपछि पनि कार भने मल्लले नै चलाइरहेका थिए।
मंसिर २७ गते बिहान बुढानिलकण्ठमा मल्लले चलाइरहेको कार अनियन्त्रित हुँदै सडक पारिपट्टिको फुटपाथमा चढ्यो। विपरीत दिशाबाट हिँड्दै आइरहेकी लीला देवकोटालाई ठक्कर दियो। त्यहीँ बेहोस भएकी देवकोटाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।
मल्ल दुर्घटनास्थलबाटै तत्काल पक्राउ परे।
मल्ल दुर्घटनाअघि नै गम्भीर मानसिक वा दमका बिरामी भएका भए उनले प्रहरी नियन्त्रणमै रहँदा यी बिमारको औषधि खाने थिए। परिवारले प्रहरीको स्वीकृति लिएर उनलाई त्यसै दिन वा भोलिपल्टै ती गम्भीर बिमारको औषधि दिन्थ्यो।
मल्ल प्रहरी हिरासतमा रहेका बेला उनको परिवारले उनी मानसिक र दमको गम्भीर बिरामी भएको बताएको प्रहरीलाई सम्झना छैन। उनले त्यो बेला कुनै औषधि खाए वा खाएनन् भन्ने आफूहरूलाई थाहा नभएको महाराजगन्ज प्रहरी वृत्तका तत्कालीन डिएसपी उमेश लम्साल बताउँछन्। बरू प्रहरी हिरासतमा भएको केही दिनमै उनी 'बिरामी परेर' बसुन्धारास्थित चिरायु अस्पताल भर्ना भए।
चिरायु अस्पतालले पुस १५ गते प्रहरीलाई पठाएको उनको स्वास्थ्य विवरणमा उनलाई 'ब्रोङकियल आज्म' भएको उल्लेख छ।
उनी अस्पतालबाट फर्किएर फेरि प्रहरी हिरासतमा आएनन्। अस्पताल बसेकै बेला प्रहरीले उनीविरूद्ध अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझायो। त्यही प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्यो।
जिल्ला अदालत काठमाडौंले पुस २२ गते मल्लले लापरबाहीपूर्वक सवारी चलाएर देवकोटाको ज्यान लिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्यो। जिल्लाको आदेशअनुसारै उनलाई डिल्लीबजार कारागार लगिएको थियो।
मल्ल बिरामी रहेको बताउँदै डिल्लीबजार कारागारमा उनका आफन्तले उनलाई अस्पताल पठाउन निवेदन दिए। त्यहाँ मल्लले चिरायुको स्वास्थ्य रिपोर्ट पेस गरेका थिए। यसपालि भने चिरायुले मल्ललाई दम (आज्म) सँगै डिप्रेसन र 'हाइपर-टेन्सन' (तनाव) पनि भएकाले अस्पतालमै राखेर उपचार गर्नुपर्ने सिफारिस गरेको थियो।
कारागारले भने बन्दीलाई निजी अस्पताल पठाउन नमिल्ने भन्दै वीर अस्पताल पठायो। त्यही दिन वीरले मल्ललाई भर्ना गर्न आफूकहाँ 'बेड' खाली नभएको भन्दै चिरायुमै 'रिफर' गर्यो। वीरले मल्लका परिवारको अनुरोधमा चिरायु रिफर गर्यो भन्ने बुझ्न कठिन छैन।
वीरको रिफर चिठी पाएपछि बल्ल कारागार मल्ललाई चिरायु पठाउन राजी भयो। माघ ५ गते कारागारले उनको स्वास्थ्य अवस्था कस्तो छ, ठिक भए फिर्ता पठाइदिनू, नभए उनको अवस्थाको विवरण पठाउनू भन्दै चिरायुलाई पत्र काट्यो।
चिरायुले उनको स्वास्थ्य विवरण कारागारलाई पठायो, जसमा लेखिएको थियो— 'ब्रोङकियल आज्म' केही नियन्त्रणमा आएको, रक्तचाप घटबढ भइरहेको, हाइपर-टेन्सन र क्रोनिक डिप्रेसन भएकाले अझै केही दिन डाक्टरको निगरानीमा राख्नुपर्छ। केही अरू जाँच गर्न पनि बाँकी छ।'
अस्पतालको पत्र पाएपछि कारागार सन्तुष्ट हुन सकेन। माघ १३ गते तत्कालीन जेलर अरूण पोखरेलले चिरायुलाई फेरि चिठी पठाए, 'थुनुवा मल्ललाई २० दिनदेखि त्यहाँ राखिएको छ। तिमीहरूको रिपोर्टमा रक्तचाप घटबढको समस्या देखाएको छ। अक्सिजन दिएको अवस्था छैन र कुनै अरू ठूलो (भाइटल) रोग छैन भने यहाँ पठाउनू। रक्तचाप त कारागारका चिकित्सकले पनि निगरानी गर्न सक्छन्। आवश्यक परे यहाँबाट जतिखेरै अस्पताल रिफर पनि हुन सक्छ।'
त्यसपछि चिरायुले माघ २० मा जवाफ फर्कायो- 'मल्लमा सिभियर डिप्रेसन देखिएको छ, रक्तचाप अझै पनि घटबढ भइरहन्छ र अक्सिजन स्याचुरेसन पनि राम्रो छैन। अझै केही दिन उनलाई मनोपरामर्शमा (काउन्सिलिङमा) राख्नुपर्छ।'
एक पाना पत्र र एक पाना रोगको नामबाहेक कारागारले मागेजस्तो मल्लको विस्तृत स्वास्थ्य विवरण चिरायुले पठाएन।
त्यसपछि मल्ललाई अस्पतालै बस्न पर्ने गरी गम्भीर रोग लागेको छैन भन्नेमा झनै शंका उब्जिएको कारागारका एक कर्मचारीले बताए।
उनका अनुसार, कुनै बिरामी नभई अस्पताल भर्ना गरेर राखेको शंका लागेपछि थुनुवा फर्काउन पहल र आवश्यक छानबिन माग गर्दै कारागारले आफ्नो तालुक निकाय कारागार व्यवस्था विभागमा पत्र लेख्यो। विभागलाई पत्र लेखेको अर्को दिन मल्ल अस्पतालबाट कारागार फर्किए। त्यसपछि भने मल्ल कारागारमै बसे।
कारागारमा ५ महिना बस्दा उनी सामान्य रहेको कार्यालयका कर्मचारी बताउँछन्।
'उनलाई राति सुत्न भने गाह्रो लागेको देखिन्थ्यो। दबाइ पनि खान्थे। तर अरू अवस्था त्यस्तो असामान्य थिएन। यहाँ साथीभाइको सानो ग्रुप बनाइसकेका थिए, मिलेर बस्थे, क्यारमबोर्ड खेल्थे,' ती कर्मचारीले भने, 'होसै गुम्ने गरी अस्थिर उनी पक्कै थिएनन्। जेल परेपछि सुरूसुरूमा आत्तिने, निद्रा नलाग्नेजस्ता व्यवहार त सामान्य हुन्। त्यस्तो सबैलाई हुन्छ।'
आफू थुनामा रहेकै बेला परिवारको माध्यमबाट मल्लले जिल्ला अदालतको आदेश बदर गराउन माथिल्ला अदालतमा निवेदन दिए। उच्च अदालतले थुनामा राख्ने जिल्लाकै आदेश सदर गर्यो। त्यसपछि असार २ गते उनले सर्वोच्च अदालतमा निवेदन दिए।
सर्वोच्चमा उनले चिरायु अस्पतालका तिनै रिपोर्ट देखाएर आफ्नो मानसिक अवस्था ठिक नभएको र स्वास्थ्य स्थिति नाजुक रहेकाले आफूलाई धरौटीमा छाड्न माग गरेका थिए।
असार १२ गते सर्वोच्चका न्यायाधीशद्वय पुरूषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलासले मानसिक अस्पताल, लगनखेलबाट मल्लको मानसिक अवस्था जाँच गराएर सात दिनभित्र प्रतिवेदन पेस गर्न आदेश गर्यो।
सर्वोच्चले लगनखेललाई मल्लको जाँच गर्न चिठी काट्यो। जवाफमा असार २३ गते मानसिक अस्पतालका निर्देशक मोहनराज श्रेष्ठले लेखेका छन्, 'कम्तिमा एक हप्ता अस्पताल भर्ना गरेर मात्र विस्तृत मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्य स्थितिबारे जानकारी गराउन सकिन्छ।'
यो चिठीका आधारमा असार २५ गते मल्ल मानसिक अस्पताल, लगनखेल भर्ना भए। उनी त्यहाँ बस्न मानेनन्। त्यसपछि दुई दिनमै लगनखेल अस्पतालले 'डिस्चार्ज' दियो। सर्वोच्चको पछिल्लो आदेशमा पनि उनी असार २७ गते लगनखेल मानसिक अस्पतालबाट डिस्चार्ज भएको उल्लेख छ।
'उनी दुई दिन पनि बस्न चाहेनन्। मलाई कारागारमै पठाइदिनू भने अनि आवश्यक जाँच गरेर रिपोर्ट सर्वोच्च अदालत पठायौं, उनलाई कारागार,' अस्पताल स्रोतले भन्यो।
पहिले ७ दिन बस्नुपर्छ भनेको अस्पतालले दुई दिनमै उनी गम्भीर मानसिक अवसादमा रहेको (सिभियर डिप्रेसन) रिपोर्ट सर्वोच्चलाई पठाइदियो।
मल्लको मुद्दा पछिल्लोपटक न्यायाधीशद्वय प्रधान र शर्माको इजलासमा पर्यो। उनीहरूले मल्ल 'सिभियर डिप्रेसन' मा भएका र दमको पनि रोगी रहेकाले कोरोना संक्रमण खतरा रहेको भन्दै धरौटीमा छाड्ने आदेश दिए।
सर्वोच्चमा मल्लका वकिलहरूले उनले लिने औषधिको सूची पनि पेस गरेका थिए। सेतोपाटीलाई प्राप्त उक्त सूचीमा भएका औषधिबारे हामीले एक मनोचिकित्सक र एक डाक्टरलाई सोधेका थियौं।
मनोचिकित्सकका अनुसार मल्ललाई दिएका चारवटा औषधि निद्रा नलाग्ने, आत्तिने, डराउने र डिप्रेसनको अवस्थामा रहेका बिरामीलाई दिइन्छ। रोगको अवस्था सामान्य तहको रहेछ भने औषधि प्रयोग गर्दैनन्। मध्यम र कडामा ती औषधि प्रयोग हुन्छन्।
मल्लले लिएका औषधिको मात्रा हेर्दा उनलाई मध्यम (मोडरेट) तहको डिप्रेसन देखिन्छ। आफूले चलाएको कार त्यति ठूलो दुर्घटनामा परेपछि र त्यसले किचेर पैदल यात्रुको मृत्यु भएपछि हिरासतमा रहेका व्यक्तिमा मानसिक अस्थिरता देखिनु अस्वाभाविक नभएको ती मनोचिकित्सकले बताए।
उनले डिप्रेसनका बिरामीले चेतना गुमाउने अवस्था आयो भने त्यो गम्भीर हुने जिकिर गरे।
'सामान्य भाषामा भन्ने हो भने डिप्रेसनका बिरामीलाई मनका बिरामी भनिन्छ। उनीहरू भावनात्मक रूपले कमजोर हुने हुन्, चेतना नै गुमाएका हुन्नन्,' उनले भने, 'कडा मानसिक रोग जस्तै सिजोफ्रेनिया, साइकोसिस हुन्। यी रोग लागेका बिरामीले होसै पाउँदैनन्। उनीहरूको अवस्था भने गम्भीर हुन्छ।'
मनोपरामर्शदाता जगन्नाथ लामिछानेले पनि डिप्रेसनका रोगीहरू चेतना नै गुमाएर आफूलाई र अरूलाई पर्ने असरबाट थाहा नपाउने खालका नहुने बताए। उनले पनि जेल छुट वा बेल (जमानतमा रिहा) पाउन मानसिक अस्वस्थताको तह भने अर्कै हुने बताए।
उनका अनुसार कतिपय एन्जाइटी (तनाव), इन्सोम्निया (निन्द्रा नलाग्ने) र डिप्रेसन कडा खालका हुन्छन्। कुनै अपराधमा मुछिएपछि मानिसमा यस्ता रोग कुनै न कुनै तहमा पक्कै देखिन्छन्।
'यसकै आधारमा अपराधमा मुछिएकाले छुट पाउने भन्ने चाहिँ हुन्न। त्यसो भए जानेर वा नजानेर अपराध गरेर हिरासतमा रहेकामध्ये ६० देखि ७० प्रतिशतमा डिप्रेसन देखिन्छ। त्यही कारणले ती सबैलाई छुट दिने?' उनले भने, 'बरू सिजोफ्रेनिक र साइकोसिस भएका बिरामीले कहाँ के गर्दैछु भन्ने होस पाएका हुन्नन्। उनीहरूलाई भने जमानतमा रिहा गर्नैपर्ने हुन्छ। किनभने उनीहरूले अरूलाई पनि असर पुर्याउन सक्छन्।'
मल्लले न्यायिक हिरासतमा रहँदा डिप्रेसनबाहेक रक्तचाप नियन्त्रण, रूघाखोकी र श्वासप्रश्वासमा समस्या हुँदा खाने सामान्य औषधि छन्। ती सामान्य बिरामीलाई पनि दिइने औषधि हुन्।
सर्वोच्चमा निवेदन दिँदा उनले दमको कुनै औषधी लिइरहेको सेतोपाटीलाई प्राप्त उनको औषधी सूचीले देखाउँदैन।
दुर्घटनालगत्तै उनी बसुन्धारास्थित अस्पताल भर्ना भएका बेला अस्पतालले प्रहरीलाई पठाएको पत्रमा उनलाई डिप्रेसन भएको वा डिप्रेसनको औषधि खाएको देखिन्न। त्यसैले उनलाई दुर्घटनापछि त्यसले मानसिक तनाव र डिप्रेसन भएको देखिन्छ।
तर सर्वोच्चको आदेशले मद्यमान गरेर लापरबाहीपूर्वक गाडी चलाएका र फुटपाथमा हिँडिरहेका यात्रुको ज्यान लिएका मल्ललाई 'शारीरिक र मानसिक रूपले अशक्त हुनुपर्ने' कानुनी सर्त पूरा हुने भन्दै छाडिदिएको छ।
'त्यो कानुनको मर्म स्पष्ट छ। आरोपित व्यक्ति शारीरिक वा मानसिक रोग लागेर अशक्त छ र उसले आफ्नो ख्याल आफैं गर्न सक्दैन वा कसैलाई अन्जानमा हानी पुर्याउन सक्छ भने मात्र ऊ धरौटी वा जमानतमा रिहा हुन्छ,' एक सरकारी वकिलले भने, 'मल्लले यी सर्त पूरा गर्दैनन्। उनको हकमा यो कानुन लागू हुँदैन।'