गत साता परेको पानीले त्रिपालको आधा फेर डुबायो। चुहिएर पानी रासन राख्ने ठाउँसम्मै पुग्यो। भिजेर कामै नलाग्ने भयो। लुगाफाटो, ओढ्ने ओछ्याउने र अरू सरसामान सबै भिजे।
बर्खामा बर्सेनी यस्तै हो। त्यही भएर आकाशमा बादलले डेरा जमाए गोर्भुको परिवारकै अनुहार कालोनिलो हुन्छ।
जोरले परेको हावापानी त्रिपालले छाएको सानो झुपडीले छेक्दैन। पानी परे गोर्भुको परिवार रातभरि त्यही त्रिपालमुनि भिजेरै रात कटाउँछन्।
गोर्भुले छिमेकी चतुर सुनाहको जग्गामा त्रिपाल लगाएर बस्न थालेको ५ वर्ष पुग्यो।
पटक-पटक नेताहरूले चुनावमा भोट गरे घरबासको व्यवस्था गर्ने भनेर जनाएको प्रतिवद्धता उनी यस्तो बेला झन् बढी सम्झिन्छन्।
'वर्षौं बित्यो पर्खाइमा, त्रिपालमुनि बस्नु पर्ने बाध्यता हटेन,'उनले भने, 'अब त यो त्रिपालले पनि साथ दिन छोडेको छ। धेरै पुरानो भइसक्यो नयाँ फेर्न पैसा छैन।
त्रिपालमुनि उज्यालो छैन, किरा, सर्पले तर्साएका अनेक घटना उनीहरूले कथाझैँ सुनाउन सक्छन्।
शौच गर्न उस्तै समस्या छ। उनीहरू शौचको लागि महाकाली नदीको किनारमै जानुपर्छ।
'बाढी आए शौच गर्न पनि समस्या हुन्छ,' गोर्भुले भने।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ र १३ मा स-साना घरका चार बस्ती छन्।
महाकाली नदी छेउमै पर्ने यी बस्तीका नाम ऐरी, ओदाली, पिपरिया र भुजेला हुन्।
यी चार बस्तीमा लोपोन्मुख सोनाह जातिको पनि बसोबास छ।
बस्तीमा लोपोन्मुख सुनाह जातिका ६५ घरधुरी रहेका छन्।
जसमा ४ सय २० जनसंख्या छ। तिनीहरूमध्ये ३५ घरपरिवारको घरबासको ठेगान छैन।
त्यही घरबासको ठेगान नभएकामध्ये पिपरिया बस्तीका ४९ वर्षीय गोर्भु सुनाह एक हुन्।
उनी ६ महिनाको हुँदा आमाबावुको मृत्यु भयो।
महाकालीमा सुन चालेर जीविकोपार्जन गरेका उनका आमाबाले सम्पत्तिको नाममा केही छोडेर जान सकेनन्।
वर्ष दिन नपुग्दै टुहुरा भएपछि मामामाइजुले उनलाई हुर्काए। उनलाई काम गर्ने उमेर नपुगुन्जेल राम्रैसँग खान लाउन दिए। काम गर्ने उमेर भएपछि दिनरात खटाउन थाले।
'मेरो घरजग्गा केही थिएन। मामाघरबाट भागेर पनि अन्त जान सकेन जे भन्छन् त्यही काम गरें,' उनले भने ।
उनले ३९ वर्ष उमेरसम्म मामाघरमै काम गरेर बसे। गोर्भु शारीरिक रूपमा राम्रै भए पनि मानसिक रूपमा केही कमजोर छन्।
उनी सुस्तमनस्थिति अपांगभित्र पर्छन्।
अरू सरह फटाफट बोल्न सक्दैनन्, जवाफ फर्काउन सक्दैनन्। यही कारण आफूलाई सबैले लाटो भन्दै खिसी गर्ने गरेको उनले सुनाए।
उमेर धेरै भएपछि उनलाई ‘यस्ता लाटासँग कसले बिहा गर्छ’ समेत भन्न थालेका थिए।
एकदिन उनको भेट गुड्डीसँग भयो। गुड्डी शारीरिक रूपमा अपांग भएकी महिला थिइन्। गोर्भुले उनीसँग बिहे गर्ने निधो गरे। गुड्डी पनि राजी भएपछि बिहे भयो।
बिहे गरेपछि उनीहरू ७ वर्ष मामाघर बसे।
'मामाघरमा बस्न नसक्ने अवस्था आएपछि त्यहाँबाट निस्कें,' गोर्भुले सुनाए।
त्यहाँबाट निस्केपछि अलपत्र परेका गोर्भुलाई छिमेकी चतुर सुनाहले शरण दिए। उनले आफ्नो जग्गामा त्रिपाल लगाएर बस्न भने।
'त्यही त्रिपालमुनि बस्न थालेको ५ वर्ष पुरा भयो,' उनले भने।
'गुड्डी हातखुट्टा राम्ररी चलाउन सक्दिनँ, म मजदुरी गर्छु। त्यसैले पेट भरेका छौं,'गोर्भुले भने।
गोर्भु र गुड्डीकी छोरी साधना ११ वर्ष पुगिन्। उनी बाबासँग हाम्रो राम्रो घर किन छैन भनेर सोधिरहन्छिन्।
यसको जवाफ दिन गोर्भुलाई मुस्किल हुन्छ। उनी जसोतसो छोरीलाई सम्झाउँछन्।
आफूले कमाएको पैसाले पेट भर्न मुस्किल पर्ने भएकाले छोरीलाई स्कुल लगाउन नसकेको उनले बताए।
हातमुख जोर्न दिनभरि काम गर्नुपर्ने उनको जिन्दगीमा कोरोना र लकडाउन आइपुग्यो। दुई महिनासम्म काम गर्न नपाएका उनको परिवार धेरैदिन भौके बस्नु परेको उनले बताए।
अहिले लकडाउन खुले पनि उनले काम गर्न पाएका छैनन्। त्यही कारण उनको परिवारको पेट पाल्न मुस्किल भएको छ।
वडा कार्यालयले गोर्भुको लागि घर बनाइदिन सुरू गरेको भए पनि त्यो अधुरै छ।
'पटकपटक घरबासका लागि गुहारेपछि बल्ल काम सुरू गर्यो तर यो वर्ष बजेट पुगेन भन्दै घर बनाउने काम ठप्प छ,' उनले भने।
भीमदत्त नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णसिंह देउवाले यो वर्ष बजेट नपुगेकाले घर निर्माण गर्न नसकेको बताए।
यो चालु आर्थिक वर्षभित्रमा भने घर निर्माण गरेर गोर्भुलाई त्रिपालमुक्त गराउने उनको दाबी छ।
गोर्भुजस्तै घरबासको ठेगाना नभएका भीमदत्तका सोनाह समुदायले सरकारलाई घरबासको व्यवस्था मिलाईदिन आग्रह गरेका छन्।
भीमदत्त सुदूरपश्चिम प्रदेशको एउटामात्र सुनाह जातिको बसोबास भएको ठाउँ हो। बर्दियाको राजापुरमा भने, सुनाह जातिको बाक्लो बसोबास छ
लोपोन्मुख सुनाह जातिको मुख्य पेसा ‘सुन छान्ने’ मानिएको भए पनि अहिले त्यो पेसामा कोही छैनन्। पुर्खाहरूले सुन छानेर नै जीविकोपार्जन गरे। नदीमा गिट्टी बालुवाको उत्खनन् हुने कार्य बढ्दै गएपछि सुन खोज्ने, चाल्ने काम बन्द भएको सोनाह समुदायका मानिसहरू बताउँछन्।
गासबासको समस्या सँगसँगै सुनाह सुमदायले आफूहरूको पहिचानको मुद्दा उठाइरहेका छन्।
१५ वर्षदेखि सुनाह समुदायका मानिसलाई जातीय सूचीमा राख्नुपर्ने आवाज उठाउँदै आएका छन्।
पछि परेको वा लोपोन्मुख जातिको सूचीमा नराखिएर थारू जातिकै सूचीमा सोनाहलाई सूचीकृत गरेको भएर सरकारले गुमनाम बनाउन स्थानीय राधा सुनाहको गुनासो छ।
'पछिल्लो अवस्थामा सुनाह समुदायको पहिचान नै धरापमा परेको छ किनभने सरकारले हामीलाई थारूको संज्ञा दिएको छ,' उनले भनिन्, 'हामी थारू होइनौं।'
अगुवा लक्ष्मण सुनाहले सुनाह समुदायको संरक्षण तथा ऐतिहासिक पहिचान संरक्षणका लागि तिनै तहका सरकारले चासो देखाउनु पर्ने बताउँछन्।
चुनावका बेला नेताहरूले सुनाह समुदायका मानिसबाट जाती सूचीकृत गर्ने भन्दै भोट माग्ने गरेको तर पुरा गर्न प्रयास पनि नगरेको गुनासो गरे।
पेसा विस्थापित भएसँगै रोजगारी सिर्जना गर्नुपर्ने पनि उनीहरूको माग छ।
आफ्ना पुर्खाहरूले कर्णाली नदीमा सुन चाल्थे भन्ने सुनेको तर त्यो सीप आफूहरूसँग नभएको स्थानीय चतुर सुनाहले बताए।
कञ्चनपुरमा बस्ने सोनाह समुदायले सुन चाल्ने काम गर्न छोडेको धेरै भएको उनको भनाइ छ। पुर्खौली पेसा विस्थापित भएपछि परिवार पाल्न र बालबालिका पढाउन सुनाह समुदायका मानिस गिट्टी कुट्ने, बालुवा चाल्ने र वर्षातमा दाउरा संकलन गरेर घरखर्चको जोहो गरिरहेका छन्।
फूलमती देवी सुनाहले यस्ता कामले परिवार पाल्न मुस्किल भएको बताइन्।
'स्थानीय सरकारले रोजगारको व्यवस्था गर्छु भने पनि गरेको छैन,' उनले भनिन्,'खेतीपाती गर्न जमिन र काम गर्ने सीप नभएकाले स्थानीय सरकारले सीपमूलक तालिम दिएर सोनाह समुदायका समस्या सम्बोधन गर्नुपर्छ।'