नेपाली कांग्रेसभित्र गुटगत झगडा फेरि सतहमा आएको छ।
सभापति शेरबहादुर देउवाले आफूखुसी पद बाँडेर महाधिवेशन प्रभावित पार्न खोजेको निष्कर्ष असन्तुष्ट नेताको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले सभापतिले क्रियाशील सदस्यता वितरणदेखि विभाग गठनसम्म हस्तक्षेप गरेको निष्कर्ष निकालेका हुन्।
‘महाधिवेशन निष्पक्ष हुने कुरामा बैठकले शंका व्यक्त गर्यो,’ बैठकमा सहभागी नेता चन्द्र भण्डारीले सेतोपाटीसँग भने, ‘सक्रिय सदस्यतादेखि विभाग गठनसम्म निष्पक्ष बनाउन सभापतिजीसँग कुराकानी गर्ने निर्णय भएको छ।’
महाधिवेशन घोषणा भइसकेको अवस्थामा सभापति देउवाले निर्वाचन आचारसंहिताविपरीत विभाग गठन गरेकोमा पौडेल पक्ष असन्तुष्ट छ।
‘सभापतिजीसँग समग्र विषयमा कुराकानी गर्न वरिष्ठ नेतालाई जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘छिट्टै सभापतिसँग भेटेर उहाँहरूले कुराकानी गर्नुहुन्छ। लिखित पत्र पनि दिनुहुन्छ।’
पार्टीभित्रका हरेक गतिविधि विधानसम्मत हुनुपर्ने पनि पौडेल पक्षका नेताहरूको भनाइ छ। बैठकमा नेताहरूले हालै अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही र मंगलबार सुनिल थापालगायत कांग्रेस प्रवेश गरेकोमा पनि छलफल गरेका थिए।
‘अरू पार्टीबाट हाम्रो पार्टीमा नेताहरू आउनु स्वागतयोग्य हो,’ उनले भने, ‘तर कसलाई कुन पद दिने भन्ने केन्द्रीय समितिबाट निर्णय गरेर दिनुपर्छ।’
सभापति देउवाले मंगलबार पार्टी प्रवेश कार्यक्रममै थापालाई सहमहामन्त्री पद दिएको घोषणा गरेपछि पौडेल पक्ष असन्तुष्ट छ।
महाधिवेशन भएको छ महिनाभित्र गरिसक्नुपर्ने विभाग अर्को महाधिवेशन आउन छ महिना बाँकी छँदा गरेर देउवाले आफ्नो पक्षमा माहौल सिर्जना गर्न खोजेको भन्दै पौडेल पक्षका नेता असन्तुष्ट रहेका हुन्।
‘महाधिवेशन प्रभावित हुने गरी मनोनित गर्न मिल्दैन। छ महिनाभित्र गठन गर्ने विभाग अहिले गठन गर्न हुन्न,’ उनले भने, ‘यसबारे सभापतिजीको समय लिएर नेताहरूले कुराकानी गर्नुहुन्छ।’
कांग्रेसको महाधिवेशन फागुन ७ देखि काठमाडौंमा गर्ने तय भएको छ।
अहिले अधिकांश जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम जारी छ। तल्ला तहमा पुस ६ देखि अधिवेशन हुनेछन्।