सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारीसहित नेताहरूको बैठक सकिएको छ।
क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजानेलगायत विषयमा बैठकमा छलफल भएको हो।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले अब बस्ने केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता छानविन समिति गठन गर्नेबारे बैठकमा छलफल भएको जानकारी दिए।
आजको बैठकमा क्रियाशील सदस्यता वितरण, आन्तरिक समायोजनका कामलगायतबारे प्रगति विवरण सुनाइएको थियो।
‘अब छिट्टै केन्द्रीय समिति बैठक बस्छ। उक्त बैठकले क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने निर्णय गर्छ,’ सहमहामन्त्री महतले सेतोपाटीसँग भने, ‘सभापतिजीले वरिष्ठ नेतालाई क्रियाशील सदस्यता छानविन समितिमा रहने नेताका नाम उपलब्ध गराउन भन्नुभएको छ।’
उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन घोषणा भइसकेको अवस्थामा सभापतिले धमाधम मनोनित गर्दै पद बाँडिरहेकोले रोक्नुपर्ने बताएका थिए।
जवाफमा देउवाले आफू सहमतिबाटै विभाग र समितिलगायत गठन गर्न चाहेर कुरिरहे पनि नाम उपलब्ध नगराएको बताएका थिए।
‘म सहमतिबाटै विभाग र समितिहरू गठन गर्न चाहिरहेको छु। पटक-पटक नाम मागेर कुरे पनि दिनुभएन। अझै समय छ नाम दिनुहोस्,’ देउवाले पौडेललाई भने, ‘सहमतिबाटै अगाडि बढौं।’
४७ मध्ये २० विभाग प्रमुख देउवाले नियुक्त गरिसकेका छन्। चार सय ७९ सदस्यीय जेष्ठ राजनीतिज्ञ सभा पनि गठन गरेर मनोनयनलाई जारी राखेपछि पौडेलले विरोध गरेका थिए।
आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न ९ एजेन्डा बैठकमा पेश प्रस्तुत गरेका थिए। वरिष्ठ नेता पौडेलले विभाग, भातृ संगठनका म्याद थप, क्रियाशील सदस्यता वितरणमा पारदर्शीतालगायत विषयबारे आफ्ना कुरा राखेका थिए।
पौडेलले फागुनमै महाधिवेशन गर्ने गरी काम गर्नुपर्ने बताएका थिए। जवाफमा देउवाले महाधिवेशन फागुनमै हुने विश्वास दिलाएका थिए।
महामन्त्री खड्काले पार्टीको अन्तरिम संरचना समायोजनसम्बन्धी विवरण जानकारी गराएका थिए।
उनले १३ औं महाधिवेशनको क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णय सन्दर्भबारे, क्रियाशील सदस्यता छानविन समिति गठन, भातृ र शुभेच्छुक संस्थाका विधान संशोधनबारे बनेको प्रतिवेदनमाथि छलफल, अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेकालाई समायोजन, भातृ संगठन (नेविसंघ, नेपाल तरूण दल र नेपाल साँस्कृतिक संघ) पूर्णता दिने, भातृ र शुभेच्छुक संस्थालाई म्याद थप, जिल्लाबाट थप क्रियाशील सदस्यता फारम माग भएको सन्दर्भ र जनसम्पर्क समितिको सदस्यता सम्बन्धमा बैठकमा छलफल भएको थियो।
देउवाले केही दिन अघि नेविसंघ, तरूण दललगायतको म्याद छ महिना थपेका थिए। म्याद थप केन्द्रीय समितिबाट गर्नुपर्ने भए पनि मुख्यसचिवमार्फत् आदेशअनुसार थप गरिएको भनेर विज्ञप्ति निकालेकोमा वरिष्ठ नेता पौडेलको आपत्ति थियो। अब बस्ने केन्द्रीय समिति बैठकमा भातृ संस्थाका म्याद थपबारे छलफल गरी निर्णय गर्ने आज छलफल भएको हो।
आजको बैठकमा कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरू तथा पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवसहित सचिवहरू उपस्थित रहेका थिए।
क्रियाशील सदस्यता शतप्रतिशत बढाउने
आजको बैठकमा जिल्लाबाट क्रियाशील सदस्यता फारमहरू माग भइरहेकोले क्रियाशील सदस्यता वृद्धि गर्ने सन्दर्भमा पनि छलफल भएको छ।
कांग्रेसले साविक क्रियाशील सदस्यको करिब ५० प्रतिशत थप क्रियाशील सदस्यता वितरण गर्न सक्ने गरी फारम जिल्ला पठाए पनि अपुग भएको भन्दै धेरै जिल्लाबाट थप फारम माग भइरहेको छ।
कांग्रेसका एक जना केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार शतप्रतिशत नै क्रियाशील सदस्यता वितरण गर्न सक्ने गरी व्यवस्था गर्ने एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा लैजाने आजको बैठकमा अनौपचारिक सहमति भएको छ।
मन माझामाझ
सभापति देउवाले विभाग र समितिमा मनोनयन जारी राखेर महाधिवेशन प्रभावित गर्न खोजेको तथा राप्रपा छाडेर आएका सुनिल थापालाई छलफल नै नगरी सहमहामन्त्री पद दिन्छु भनेकोमा आपत्ति जनाउँदै वरिष्ठ नेता पौडेलले लिखित पत्र नै बुझाएका थिए।
पौडेल र महामन्त्री शशांक कोइरालाले पत्रकार सम्मेलन गर्दै देउवा एकलौटी हिसाबले अगाडि बढेको र कांग्रेस आफैं लोकतान्त्रिक हुन नसकेको आरोप लगाएका थिए।
‘सभापतिजी र वरिष्ठ नेताजीबीच बढेको दूरी केही हदसम्म आजको बैठकले समाधान गरेको छ,’ बैठकमा सहभागी देउवानिकट एक नेताले भने, ‘वरिष्ठ नेताले विधानसम्मत हिँड्नुपर्यो भन्नुभयो। सभापतिले विधानअनुसार नै काम भइरहेका छन् भन्नुभयो। उहाँहरूबीच मन माझामाझ भयो।’