पोखरा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिको माग गर्दै नेविसंघले १५ दिनदेखि अनसन गरेको छ।
लामो समयदेखि रिक्त उपकुलपतिसहित अधिकांश पदाधिकारी नियुक्तिको माग गर्दै विगत १५ दिनदेखि नेविसंघका विद्यार्थी रिले बस्दै आएका छन्।
‘अनसन बसेको १५ दिनसम्म पनि माग सुनुवाई भएन,’ पोखरा विश्वविद्यालयका नेविसंघ नेता राजिव भण्डारीले भने, ‘अनसनको १५ औं दिनमा व्यंग्यात्मक रुपमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई श्रद्धाञ्जली दियौं।’
विश्वविद्यालयमा पदाधिकारी रिक्त हुँदा पोखरा विश्वविद्यालयमा अध्यनरत ४० हजार विद्यार्थीको भविश्यमाथि खेलबाड भएको उनले आरोप लगाए। ‘हामीहरुको माग समयमै सुनुवाई भएन भने कडा आन्दोलनमा जान्छौं,’ उनले भने, ‘प्रधानमन्त्री शिक्षामन्त्रीले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाउँदैन।’
पोखरा विश्वविद्यालयका उपकुलपति पद विगत ११ महिनादेखि रिक्त छ। उपकुलपति नहुँदा रजिष्ट्रार, डिन, निर्देशक लगायत मुख्य पदाधिकारी पनि छैनन्। विश्वविद्यालयका तत्कालीन उपकुलपति चिरञ्जीवी शर्माले गत असोज ६ गते अवकाश पाएका थिए। त्यसको १ दिनपछि असोज ७ गते रजिष्ट्रार गोविन्द शर्माले अवकाश पाए।
अहिले पोखरा विश्वविद्यालयमा परिक्षा नियन्त्रक, स्वास्थ्य तथा विज्ञान, इञ्जिनियरिङ र मानवशास्त्र गरी ३ वटा संकायका डिनको पनि कार्यकाल सकिएर अवकाश पाइसकेका छन्। यस्तै, विश्वविद्यालयका ३ जना निर्देशकले पनि अवकाश पाइसकेका छन्। विश्वविद्यालयका अधिकांश मुख्य पदाधिकारी नहुँदा शौक्षिक गतिविधि नै ठप्प भएको विद्यार्थीहरुले बताएका छन्।
पदाधिकारी निहुँदा गत फागुनमै हुनुपर्ने दिक्षान्त समारोह हुन नसकेको, परिक्षा र परिक्षाफल प्रकाशन हुन नसकेको, शौक्षिक कार्यक्रम बन्न नसकेको नेविसंघका नेता भण्डारीले बताए। लामो समय पदाधिकारी नहुँदा विश्वविद्यालयका शौक्षिक कार्यक्रम मात्र नभई प्रशासनिक काम पनि ठप्प भएको र कर्मचारीले तलब खान समेत समस्या आएको उनले बताए।