बाह्र वर्षअघि काठमाडौं, कोटेश्वरका रामहरि श्रेष्ठको घरमा चोरी भयो। त्यति बेला उनको घरमा माओवादी जनमुक्ति सेना तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो।
एक महिनापछि चोरी आरोपमा घरबेटी श्रेष्ठ आफैं 'पक्राउ' परे। तर, पक्राउ गर्ने प्रहरी थिएन, तत्कालीन माओवादी नेताले नै गरेका थिए।
जनमुक्ति सेनाका डिभिजन कमान्डर कालिबहादुर खामको निर्देशनमा ब्रिगेड कमान्डर गोविन्द बटालाले २०६५ वैशाख १५ गते श्रेष्ठलाई अपहरण गरी चोरी कबुल गराउन काठमाडौंबाट चितवन पुर्याए। त्यसको १२ दिनपछि वैशाख २८ गते श्रेष्ठको हत्या भयो।
यी सबै घटना तत्कालीन माओवादी पार्टीका दुईवटा कार्यालयमा भएका थिए।
श्रेष्ठको शव फ्याँकेको कुरा वैशाख ३१ गते बटालाले नै तेस्रो डिभिजन कार्यालयलाई थाहा दिए। उक्त कार्यालयले आफूले थाहा भएको पर्सिपल्ट बल्ल प्रहरीलाई सूचना दियो। त्यसपछि यो मुद्दा प्रहरी हुँदै अदालतसम्म आइपुग्यो।
आज बाह्र वर्षपछि यो मुद्दामा सरकारले अभियोग लगाएका अभियुक्तमध्ये एक बटालालाई सर्वोच्च अदालतले सफाइ दिएको छ। जिल्ला र पुनरावेदनको फैसला उल्ट्याउँदै सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र टंक मोक्तानको इजलासले बटालालाई सफाइ दिएको हो।
बटालाले श्रेष्ठलाई काठमाडौंबाट चितवनको शक्तिखोर कार्यालय पुर्याएको र उक्त कार्यालयबाट शव फाल्ने ठाउँसम्म उपस्थित भएको कुरा अदालतमा समेत स्वीकार गरेका थिए।
यो घटनामा प्रतिवादी बनाइएका कमान्डर खामका साथै अन्य अभियुक्त केशव अधिकारी र गंगाराम थापा अहिलेसम्म फरार छन्। उनीहरूको हकमा यो मुद्दा मुल्तबीमा छ।
सर्वोच्चले बटालालाई सफाई दिने गरी गरेको फैसलाको पूर्णपाठमा भनेको छ, 'वारदातको उपरोक्त शृंखलाको कुनै चरणमा पनि प्रतिवादी गोविन्द बटालाको मृतक रामहरि श्रेष्ठलाई मार्ने र फाल्नेसम्मको कार्यमा संलग्नता रहेको नदेखिँदा प्रस्तुत वारदातमा निज कुनै पनि प्रकृतिको कसुरदार रहे-भएको देखिन आउँदैन।'
मृतक श्रेष्ठकी पत्नीले दिएको जाहेरी दरखास्त, बटालाले प्रहरीमा दिएको बयान, घटनास्थलको विश्लेषणका आधारमा सरकारी वकिल कार्यालय चितवनले उनलाई कर्तव्य ज्यानको अभियोग लगाएर जन्मकैद माग गरेको थियो।
कोटेश्वरस्थित श्रेष्ठको घरमा रहेको आफ्नो कार्यालयका गार्डलाई नियन्त्रणमा लिएर १७ लाख रूपैयाँ नगद र पेस्तोल चोरी भएको घटनामा अनुसन्धान गर्न जनमुक्ति सेनाको तेस्रो डिभिजन कार्यालयले आफूलाई खटाएको बटालाले बयान दिएका थिए।
वैशाख १५ गते राति काठमाडौंबाट श्रेष्ठलाई चितवनस्थित कार्यालय पुर्याएर थुनेर राखेको पनि उनको बयानमा उल्लेख छ। चोरीमा संलग्न भन्दै केशव र गंगारामलाई पनि उनीहरूले नियन्त्रणमा लिएका थिए।
बटालाले आफ्नो बयानमा उल्लेख गरेअनुसार वैशाख २५ गते आफूले नै चोरी गरेको श्रेष्ठले कबुल गरे। त्यसपछि अर्को कोठामा रहेका केशव र गंगारामलाई यो कुरा बटालाले नै थाहा दिए।
वैशाख २७ गते बेलुकी उनले तीनै जनालाई एउटै कोठामा थुनेर राखे। भोलिपल्ट हेर्दा श्रेष्ठ मरणासन्न अवस्थामा थिए। बुझ्दा केशव र गंगारामले पोल खोलेकाले कुटेको बताए। अनि उपचार गराउन भन्दै काठमाडौं हिँडाउँदा भालुढुंगा भन्ने ठाउँमा उनको मृत्यु भयो।
मृत्यु भएपछि केशव र गंगारामले श्रेष्ठलाई तन्नामा राखेर फ्याल्न सुझाव दिए पनि आफूले अस्वीकार गरेको र शक्तिखोर कार्यालयमा फर्काउन लाग्दा शव फ्याँकेर उनीहरू भागेको बटालाको बयानमा उल्लेख छ।
काठमाडौंदेखि चितवन पुर्याएको, चोरी कबुल गराउन थुनेको, कुटपिट र शव व्यवस्थापनमा संलग्न रहेको देखिएकाले उनलाई कर्तव्य ज्यानमुद्दामा जन्मकैद गर्न सरकारी वकिलले माग गरेको थियो।
'प्रतिवादी रघु भन्ने केशव अधिकारी, एटम भन्ने गंगाराम थापा र जीवित भन्ने गोविन्दबहादुर बटालासमेतकै कुटपिटबाट श्रेष्ठको मृत्यु भएको देखिएकाले निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नम्बर, १३ (३) र सोही महलको ४ नम्बर अनुसार थप सजाय पनि गरिपाऊँ,' सरकारी वकिलको अभियोगपत्रमा उल्लेख थियो।
जिल्ला अदालत चितवनमा बटालाले अझ प्रस्टसँग बयान दिएका छन्- 'रामहरि श्रेष्ठको अवस्था नाजुक देखेपछि उपचारका लागि डिभिजन हेडक्वार्टरको गाडी ड्राइभरलाई बोलाएर १० बजे राति रामहरि श्रेष्ठसहित केशव अधिकारी, गंगाराम थापा, ड्राइभर र म ५ जना शक्तिखोरबाट काठमाडौं जान भनी आयौं। भालुढुंगा भन्ने स्थानमा पुग्दा रामहरिको मृत्यु भयो। के गर्ने भन्ने सल्लाह गर्दा मैले क्याम्पमा पार्टीलाई जानकारी गरौं भनेँ। केशव र गंगारामले मानेनन्। केशवलाई त्यहाँ झोलुङ्गे पुल छ भन्ने थाहा रहेछ। उसले पुलबाट लास फालौं भन्ने कुरा राख्यो, मैले अस्वीकार गरेँ।'
'तपाईंले सहमति जनाउने भए जनाउनुहोस्, हामी दुईले त्यो लास यहीँ फाल्छौं भनी तन्नामा हाली खोलातिर लगे। पुलमा लगेर लास राखे, तन्नामा ढुंगा हालेर लास पुलबाट नदीमा खसाले। त्यहाँबाट फिर्ता हुँदा म पिसाब फेर्न लागेँ। उनीहरू दुई जना त्यतिबेला नै भागे। ड्राइभरलाई सोध्दा थाहा छैन भन्यो। १५/ २० मिनेट खोज्यौं। भेटिएनन्। अनि ३ बजे नारायणगढ हुँदै क्याम्पमा फर्कियौं। मैले अभियोग माग दाबीअनुसार कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन।'
जिल्ला अदालत चितवन र पुनरावेदन अदालत हेटौंडाले बटालालाई हत्या नगरे पनि हत्याको मतियार भएको भन्दै तीन वर्ष कैद सजाय तोकेको थियो। उनी जिल्ला अदालतको फैसला हुने बेलासम्म पुर्पक्षका लागि तीन वर्ष थुनामा बसेका थिए। फैसलाले कैद गरेपछि थुनामा बसेको समय पनि कैदमै गनिन्छ।
सर्वोच्चका न्यायाधीशद्वयको फैसलामा भने मृतक रामहरि श्रेष्ठलाई काठमाडौंदेखि शक्तिखोरसम्म लगे पनि कुटपिट नदेखिएको उल्लेख छ। यो निष्कर्षमा पुग्न न्यायाधीश केसी र मोक्तानले बटालाकै बयान पत्याएका छन्।
'बटालाले कुटपिट गरेको भन्ने मिसिल संलग्न कुनै पनि तथ्य प्रमाणबाट देखिँदैन। निज प्रतिवादीले मृतकलाई कुटपिट गरेको होइन भनी बयान गरेको देखिन्छ। आरोपित कसुरमा साविती हुनु र सम्बन्ध तथ्यसम्मलाई स्वीकार गर्नु पृथक कुरा हो,' फैसलामा भनिएको छ,' चोरीको सम्बन्धमा छानबिन गर्न आफूलाई खटाइएको सोधपुछसम्म गरेको भनी तथ्य स्वीकार गरेकोलाई कसुर स्वीकार भनेर अर्थ लगाउन मिल्ने देखिँदैन।'
सर्वोच्चले ड्राइभरको बयानलाई पनि सफाइ दिने आधार लिएको छ। ड्राइभर अर्जुन कार्कीले बटालालाई हत्या र शव फाल्ने काममा संलग्न भएको भनी पोल नगरेको फैसलामा भनिएको छ। उनी आफैं यो घटनाका प्रतिवादी थिए, जसलाई अदालतले २० रूपैयाँ जरिवाना गरेको छ।
काठमाडौंदेखि चितवन पुर्याउने र कुटपिट भएको ठाउँदेखि लास फालेको ठाउँसम्म आफ्नो उपस्थिति स्वीकार गरेका बटालालाई वारदातमा संलग्न नभएको पनि सर्वोच्चले भनेको छ।
'बटालाले उपचार गराउन गाडीमा राखी अस्पताल लगेको र जाँदाजाँदै रामहरिको बाटैमा मृत्यु भएको देखिन्छ। लास शक्तिखोरमा फर्काउन फोन गर्न लाग्दा अन्य प्रतिवादीले लासलाई नारायणी नदीमा फालेको मिसिलबाट देखिन्छ,' फैसलामा भनिएको छ, 'लास नारायणीमा फालिदिने कार्यमा बटालाको सल्लाह, सहमति भएको र लास फालेको देखिन्न। वारदातको उपरोक्त शृंखलाको कुनै चरणमा पनि प्रतिवादी गोविन्द बटालाको मृतक रामहरि श्रेष्ठलाई मार्ने र फाल्नेसम्मको कार्यमा संलग्नता नदेखिँदा प्रस्तुत वारदातमा निज कुनै पनि प्रकृतिको कसुरदार रहे-भएको देखिन आउँदैन।'
'बटालालाई तीन वर्ष सजाय गर्ने जिल्ला र पुनरावेदन अदालतको फैसला नमिलेकाले उल्टी भई सफाइ पाउने ठहर्छ,' फैसलामा भनिएको छ, 'अभियोग दाबीबमोजिम सजाय (कर्तव्य ज्यान मुद्दामा जन्मकैद) गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन।'