नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्न सकेमात्रै पार्टी एक ढिक्का हुने निष्कर्षमा आफू पुगेको बताएका छन्।
सभापति शेरबहादुर देउवालाई भेटेरै यसबारे जानकारी गराइसकेको उल्लेख गर्दै निधिले ‘लकडाउन’ का अवधिमा नेता, शुभेच्छुक र बुद्धिजिवीहरूसँग आफूले गरेको छलफलको निष्कर्ष सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने रहेको सुनाए।
‘सहमतिबाटै १४ औं महाधिवेशनमा नेतृत्व चयन गर्नुपर्छ,’ उपसभापति निधिले भने, ‘जसको नाममा सहमति हुन्छ उसैलाई नेतृत्वमा पुर्याउनुपर्छ। मेरो वा अरूको। सहमतिबाटै नेतृत्व चयन गर्न तयार छु, यो वा त्यो नाम भन्दिनँ।’
निधिले गत बिहीबार सभापति देउवालाई भेटेर आफू सभापतिमा उठ्ने र सहयोग गर्न आग्रह गरेका थिए।
यो पढ्नुस्: निधिले देउवालाई भने- म सभापति उठ्ने हो, सहयोग गर्नुस्
तर उनले आइतबार भएको एक कार्यक्रममा भने सभापति उठ्ने दौडमा सभापति देउवा र रामचन्द्र पौडेलको नाममात्रै लिए। अरूको नाम लिन चाहेनन्।
केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, प्रदीप पौडेलसमेत सहभागी रहेको ‘लोकतन्त्र संवाद’ जुम संवादमा आइतबार निधिले सहमतिबाट नेतृत्व चयन कठिन भए पनि असम्भव भने नरहेको बताएका हुन्।
सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने कुरा सभापति देउवालाई गत बिहीबार भेटेरै भनेको निधिले सुनाए।
‘सभापतिजीलाई बिहीबार भेटेरै यसबारे कुरा गरिसकेको छु। ती कुरा मिडियामा पनि आएका छन्- सहमतिबाट नेतृत्व चयन गर्नुपर्छ भन्ने निष्कर्ष मेरो छ,’ उपसभापति निधिले भने।
आफूले लकडाउनका बेला नेता, शुभेच्छुकलगायत ८० जनासँग गरेको छलफलको निश्कर्ष सहमतिबाट नेतृत्व चयन रहेकोले त्यसमा जोड दिएको निधिले बताए।
‘राष्ट्रिय निर्वाचनमा फेरि कम्युनिष्टले जित्यो भने संविधानको रक्षा हुन सक्दैन। संविधानको स्वामित्व कांग्रेसले लिनुपर्छ,’ निधिले थपे, ‘जनता र मतदातालाई भरोसा दिने गरी सहमतिबाटै नेतृत्व चयन गर्नुपर्छ।’
उनले महाधिवेशनमा सहमतिबाट नेतृत्व चयनको काम कठिन रहे पनि सम्भव रहेको बताए।
‘सहमतिबाट नेतृत्व छान्न कठिन हो। सजिलो काम त सबैले गर्छन्, कठिन काम हामी सबै मिलेर गरौं,’ उनले भने।
महाधिवेशन नेतृत्व चयनसँगै नीतिसँग पनि जोडिएको निधिको भनाइ थियो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा बहुलवादमा विश्वास नगर्ने र जनवादी केन्द्रीयताको वकालत गरिरहेकोले नीतिबारे पनि कांग्रेसभित्र छलफल हुनुपर्ने उनले बताए।
‘सत्ताधारी दल, प्रधानमन्त्रीबाटै यो प्रणालीमाथि खतरा छ। संघीयता, गणतन्त्र, बहुलवादमा विश्वास नगर्नेको जमातको सत्तामा वर्चश्व छ,’ निधिले भने, ‘नेकपा जनवादी केन्द्रीयता र एकदलीयतामा विश्वास गर्छ।’ यसबाट संविधानको रक्षा हुन नसक्ने पनि उनले बताए।
नीतिका कुरा अगाडि सार्दै निधिले नौ बुँदा अगाडि सारेका छन्।
‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन, धर्मनिरपेक्षता, अहिंसा र शान्ति,’ लाई निधिले अगाडि सारेका छन्। यसका बारेमा पार्टीभित्र कुनै भ्रम रहन नहुने उनले बताए।
कांग्रेसले जनतासँग संवाद गर्नुपर्ने उनले उल्लेख गरेका थिए। ‘व्यक्तिबाट एक हुनुभन्दा नीतिका आधारमा हामी एक हुनुपर्छ,’ निधिको भनाइ थियो, ‘नीतिमा आधार भइयो भने दीगो हुन्छ।’