प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको भर्चुअल बैठकमा मंगलबार कोरोना महामारी नियन्त्रणबारे छलफल हुँदै थियो।
त्यही क्रममा जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले सबैलाई चकित पारे। उनले कोरोनालाई 'हाउगुजी' मात्र भनेनन्, बिरामी उपचार गर्न डाक्टरहरू डराएकोमा आश्चर्य पनि व्यक्त गरे।
बुधबार सेतोपाटीसँग कुरा गर्दै सांसद यादवले भने, 'म पिपिई नलगाई कोरोना बिरामी जाँचेर देखाइदिन्छु।'
यादव तिनै सांसद हुन्, जो केही समयअघि ‘अपरहण’मा परेर चर्चामा आएका थिए। गत वैशाखमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी विभाजनका लागि ४० प्रतिशत सांसद नपुगेपछि नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरी पुगेर सुरेन्द्र यादवलाई गाडीमा काठमाडौं ल्याएका थिए। काठमाडौंसम्म गाडीमा सँगै आएर उनले आफू ‘अपहरण’मा परेको भनेर कुरा फेरेको बस्नेतहरूको भनाइपछि दुवै पक्षबीच केही समय विवाद भएको थियो।
पूर्वस्वास्थ्य राज्यमन्त्री रहेका यादव प्रदेश-२ का बालरोग विशेषज्ञ डाक्टर हुन्। धनुषामा उनको जानकी हेल्थ केयर अस्पताल छ। सप्तरीबाट निर्वाचित जनता समाजवादी पार्टीका अर्का सांसद सूर्यनारायण यादव र प्रदेशसभा सदस्य कौशलकुमार यादव पनि जानकी हेल्थ केयर अस्पतालको बोर्डमा छन्।
संक्रमण बढेयता डाक्टर सुरेन्द्र यादव महोत्तरीमै बस्दै आएका छन्। समय मिलाएर अहिले पनि बिरामी हेर्छन्। चिकित्सक र पूर्वस्वास्थ्य राज्यमन्त्री भएकाले उनी प्रदेश स्तरको कोरोना नियन्त्रण र रोकथामका लागि बनाइएको समितिमा सदस्य छन्।
मंगलबार संसदीय समितिको बैठकमा उनले भने, 'लक्षण देखिएका १० मध्ये ४ जना बिरामीको मृत्यु भइरहेको छ। कोरोनाका कारण कसैको मृत्यु भयो वा चिकित्सकमा कोरोना देखिएपछि अस्पताल सिल गरियो भने स्थिति थप बिग्रन सक्छ।'
उनले कोरोना नियन्त्रणका लागि भइरहेका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई 'हाउगुजी' बनाइएको बताए।
‘कसैको कोरोनाले मृत्यु भयो भने लासलाई प्लास्टिकमा राखेर डोरीले बाँधेर व्यवस्थापन गर्ने कामले डर पैदा गरेको छ,’ उनले बुधबार सेतोपाटीसँग भने, ‘लासबाट कोरोना सर्दैन। लासले सास फेर्दैन। कतै रगत लागेको रहेछ भने सफा गरेर हातले नै दाहसंस्कार गर्न सकिन्छ।'
यही डरका कारण शव बोकेर हिँड्ने गाडीलाई बाटो छेक्ने अवस्था बनेको यादवले बताए।
डाक्टरहरूले पिपिई नभए सामान्य गाउनमा पनि उपचार गर्न सक्ने उनको तर्क छ।
'अमेरिकामा पछिल्लो समय डाक्टरहरूले पिपिई प्रयोग गरेका छैनन्,' उनले भने, 'सामान्य मेडिकल गाउन, चश्मा र मास्क लगाएर काम गर्न सकिन्छ। म पिपिई नलगाई बिरामी जाँचेर देखाउँछु। म आफैं पनि बिरामी हेरेर उदाहरण दिन चाहन्छु।'
उनले कोरोना बिरामीसँग डाक्टरले दुरी कायम गरेकोमा असन्तुष्टि जनाए। ‘बिजुलीको तारमा करेन्ट हुन्छ। तर बिजुली बनाउने मान्छेलाई थाहा हुन्छ, कुनमा छ, कुनमा छैन भनेर। एकसाथ दुवै तार समातेको अवस्थामा मात्र करेन्ट लाग्छ,' उनले भने, 'पोजेटिभ र नेगेटिभको केसमा पनि यही हो। डाक्टरहरूले बुझ्नुपर्छ।'
कोरोना परीक्षण गर्ने बन्द ल्याब र एसीजडित बन्द ठाउँमा मात्र पिपिई प्रयोग गर्न उचित हुने उनको तर्क छ। पिपिई बिक्री गर्नकै लागि कोरोना भाइरस जोखिमको अफवाह फैलाइएको त होइन भन्ने शंका पनि उनले व्यक्त गरे।
'केही दिनअघि जानकी हेल्थ केयरमा झाडापखालाबाट पीडित डोम समुदायका बालक उपचारका लागि आए। उसमा कोरोनाको लक्षण थियो,' यादवले भने, 'उनलाई सांसदसमेत रहनुभएका डाक्टर सूर्यनारायण यादवले हेर्नुभयो। उहाँले हातको पञ्जा खोलेर बिरामीको नाडी छाम्नुभयो।'
उनले अगाडि भने, 'पछि बालकमा कोरोना पोजेटिभ भेटियो, तर उनलाई जाँचेका डाक्टर यादवमा कोरोना सरेन। ती एक जना बालकलाई कोरोना देखिनासाथ समाजले पूरै डोम समुदायलाई बहिष्कार गर्यो। डोम समुदायले बाँसबाट बनाएको सामान बेच्न पाएन। चौचन पर्व (गणेश चतुर्थी) मा डोम समुदायले बनाएका कुनै पनि सामान बिक्री भएनन्।'
कोरोना संक्रमितको घर आसपास प्रहरी परिचालन गर्ने कामले पनि डर पैदा गरिरहेको उनी बताउँछन्। उनले लकडाउनको मात्र मोडालिटी अपनाइएकोमा पनि असन्तुष्टि व्यक्त गरे।
'लकडाउनमा कोरोना व्यवस्थापनको तयारी गर्नुपर्थ्यो,' यादवले भने, 'तर सरकारले यसबाटै समाधान निकाल्न खोज्यो।'
उनी सरकारले भेन्टिलेन्टर जम्मा गर्न खोजेकोमा असन्तुष्ट सुनिए। 'हामीले एमबिबिएस डाक्टर भएका हरेक ठाउँमा दसवडा बेड र अक्सिजन उपलब्ध गराउनुपर्छ। अक्सिजन दिन सकियो भने ९९ प्रतिशत बिरामी बचाउन सकिन्छ,' यादव भन्छन्, 'भेन्टिलेटरले बचाउने भनेको एक प्रतिशत मात्र हो।'
ज्वरो मात्र नापेर कोरोना पत्ता लगाउन नसकिने उनी बताउँछन्। ज्वरोभन्दा बिरामीको रगतमा अक्सिजनको मात्रा ख्याल गर्नुपर्ने उनको भनाइ छ। होम आइसोलेसन र विभिन्न आइसोलेसनमा रहेका बिरामीको अक्सिजनको मात्रा नहेरी अस्पताल रेफर गर्दा बाटैमा ज्यान गुमाइरहेको उनले बताए।
'पल्स अक्सिमिटरले रगतमा भएको अक्सिजनको मात्रा नाप्छ। यो किन्न पनि सस्तो छ। २ हजारदेखि ५ हजारसम्म पर्छ,' यादव भन्छन्, 'अक्सिमिटर प्रयोग गर्ने र त्यसअनुसार अक्सिजन दिन सकियो भने धेरैलाई बचाउन सकिन्छ।'
नेपालमा प्रयोग भइरहेको भिटिएममा पनि उनी शंका व्यक्त गर्छन्। नेपाल भित्र्याइएका सयवटा भिटिएममध्ये १० वटामा कोरोना पोजेटिभ देखिने व्यवस्था गरिएको हो कि भन्ने उनलाई शंका छ।
कोभिड-१९ का बिरामीले सुरूआती लक्षण देखिएका बेला धेरै भाइरस फैलाउन सक्ने हुँदा त्यति बेला सामाजिक दुरीको विकल्प नभएको उनी बताउँछन्। ‘तर लक्षण देखिएपछि भाइरस फैलिने सम्भावना कम हुन्छ,' उनले भने।
अहिले पिसिआर परीक्षणबाट साठी प्रतिशत मात्र सही रिजल्ट आइरहेको उनको विश्लेषण छ। 'आज नेगेटिभ देखिएको मान्छेबाट पनि भाइरस फैलिन सक्छ,' यादवले भने, 'विदेशबाट आउने व्यक्तिहरूलाई एक साता होटल क्वारेन्टिनको मापदण्ड अनिवार्य गर्नुपर्छ।'