'ओभरस्टे' कसुरमा जेल परेका ४३ वर्षीय जर्मन नागरिक बिहीबार केन्द्रीय कारागार सुन्धाराबाट छुटेका थिए। उनी १० बजे प्रशासनले दिएको चिठी लिएर कारागारबाट निस्किँदै थिए।
मुक्त भए पनि कारागार प्रशासनले उनलाई छाडेन। कारागार प्रशासनले उनलाई मनमोहन अस्पतालको आइसोलेसनमा पठाउने कागजात बनाएको थियो।
छुट्नेबित्तिकै उनलाई प्रहरीले मनमोहन अस्पतालको आइसोलेसन लग्यो।
उनी जिद्दी गर्दै थिए, 'मलाई किन यहाँ ल्याइएको? मेरो कोरोना रिपोर्ट नेगेटिभ छ!'
प्रहरीले उनलाई कोरोना संक्रमित भएको रिपोर्ट आएको भन्यो। तर उनले इन्कार गरिरहे।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार उनले इन्कार गरिरहे पनि आइसोलेसनमा लगेर राखियो, राख्नैपर्थ्यो। प्रहरीले उनलाई सम्झाइबुझाइ आइसोलेसनमा राखे।
तर, उनले ढिपी छोडेनन्। आइसोलेसन कक्षबाट भागे।
प्रहरीलाई पर्यो फसाद। उनलाई कसरी समात्ने!
प्रहरीले आकस्मिक रुपमा संक्रमित जर्मन नागरिकलाई पक्रन जरूरी भइहाल्यो। र, प्रहरीले संक्रमित जर्मन नागरिकलाई पक्रन मनमोहन अस्पतालको आइसोलेसनमा रहेका संक्रमित प्रहरीलाई नै आदेश दियो- उनलाई तू पक्रनू।
'हामीलाई कसरी समात्ने भन्ने चिन्ता भयो। उनलाई समात्न संक्रमित प्रहरीलाई नै प्रयोग गर्नुपर्ने भयो,' डिएसपी श्रेष्ठले भने, 'र, संक्रमित भएर आइसोलेसन बसेका प्रहरीले नै कर्तव्य निर्वाह गर्दा आज संक्रमित विदेशी नागरिक भाग्न पाएनन्।'
उनका अनुसार मनमोहन अस्पतालको आइसोलेसनमा ५० जना संक्रमित प्रहरी छन्। तीमध्येका केही प्रहरी जर्मन नागरिक समात्न प्रयोग भए।
आदेशपछि संक्रमित प्रहरीले अस्पतालको गेटबाहिर पुगिसकेका जर्मन नागरिकलाई तत्कालै पक्रिए। अहिले ती नागरिक संक्रमित प्रहरीकै निगरानीमा मनमोहन अस्पतालको आइसोलेसनमा छन्।
भदौ ९ गते मात्र जर्मन नागरिकसहित साधारण लक्षण देखिएका ९ जना कैदीहरूको पिसिआर परीक्षण गर्न काठमाडौं मेडिकल कलेज सिनामंगलमा पठाइएको थियो। परीक्षण गर्दा ती नागरिकसहित सात जनामा कोरोना पोजेटिभ देखिएको थियो।
प्रहरीका अनुसार ती नागरिक भिसाको समय सकिएर बसेको कसुरमा अध्यागमनले मुद्दा दायर गरेको थियो। सो कसुरमा उनी जेठ ७ गते सुन्धारा कारागार चलान भएका थिए।
सुन्धारा कारागारमा जम्मा ३२४४ कैदी छन्। यी सात जनामा कोरोना देखिएपछि अब अन्य कैदीको पनि परीक्षण गर्नुपर्ने भएको छ।
कारागार प्रशासनका अनुसार ९ गते पिसिआर परीक्षणको नमूना ९ जनै कैदीको पठाइएको थियो।
तीमध्ये सात जनामा कोरोना पुष्टि भएको रिपोर्ट भने बिहीबार बिहान मात्र प्राप्त भएको थियो। उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य करिब ५० जनाको तत्कालै परीक्षण गर्नुपर्ने देखिएको छ।