धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निःशुल्क टेलिफोन स्वास्थ्य परामर्श सेवा सुरू गर्ने भएको छ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बिरामीहरूले उपचार पाउन सकस भएको भन्दै प्रतिष्ठानले अन्य बिरामीहरूलाई सहजता प्रदान टेलिफोन परामर्श सुरू गरेको हो।
प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागका प्रमुख प्राध्यापक डाक्टर सञ्जीव कुमार शर्माले शुक्रबार एक सूचना जारी गर्दै बिरामीको आइतबारदेखि निःशुल्क टेलिफोन स्वास्थ्य परामर्श सेवा सुरू गर्ने जानकारी दिएका छन्।
विभागले आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान १० देखि १ बजेसम्म यो सेवा दिन लागेको छ।
'कोभिड-१९ सँगै मधुमेह, मुटु, क्यान्सर लगायतका दीर्घरोगीहरू तगा अन्य बिरामीहरूले समेत निःशुल्क टेलिफोनबाट सेवा लिन सक्ने वातावरण बनाएका हौं,' शर्माले सेतोपाटीसँग भने।
उनका अनुसार टेलिफोनबाट मात्र होइन आवश्यकता अनुसार सामाजिक सञ्जालबाट समेत परामर्श मात्र दिइने छ। महामारी फैलिँदै गएपछि अहिले अस्पतालहरूले ओपिडी सेवा बन्द गरेका छन्। कोरोना महामारीको खतराका कारण कोरोनाबाहेक अन्य बिरामीहरू अस्पताल जान सकिरहेका छैनन्।
'बिरामीहरूलाई अस्पताल आइपुग्न लकडाउनले समस्या भएका बेला उनीहरूलाई फोन तथा इन्टरनेटबाट सेवा दिँदा सहज हुने ठानेर यो सेवा प्रदान गर्न लागिएको हो,' प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले सेतोपाटीसँग भने।
प्रतिष्ठानको सूचनामा डाक्टरहरूको नाम पनि सार्वजनिक गरिएको छ।
आइतबारदेखि शुक्रबारसम्म बिहान १० देखि दिउँसो १ बजे तल नाम उल्लेख भएका डाक्टरहरूलाई फोन गर्न सकिने छ।
सोमबार र बिहीबारः प्रा.डाक्टर सञ्जीव कुमार शर्मा -९८०२७९५२६२
आइतबार र बुधबारः डक्टर रविन मास्के – ९८४३९९७१७३
बुधवार र शुक्रबारः डाक्टर सोनिया दुलाल- ९८०८०३३५१८
आइतबार र बिहीबारः डाक्टर भूपेन्द्र शाह- ९८४३९९७१७८
सोमबार र बिहीबारः डाक्टर रोशन क्षेत्री- ९८२४३८३५६०
मंगलबार र शुक्रबारः डाक्टर प्रशान्तमणि त्रिपाठी- ९८४३९९७१७४
मंगलबार र शुक्रबारः अनुराग उप्रेती- ९८५२०२७२६३