नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने अन्तिम बहस नेकपाभित्र चल्दै थियो।
यही बहसबीच कास्की-२ बाट निर्वाचित नेकपा सांसद विद्या भट्टराईले भदौ १७ गते ट्विटरमा लेखिन्, ‘शासकीय पदले मात्र नेतृत्वको योगदान स्थापित हुन्छ भन्ने एलिटिष्ट एप्रोचले राजनितिक नेतृत्वलाई गाँजेको छ। आफूले वर्तमानमा पाएको नेतृत्वदायी भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्नु नै नेताको असली पहिचान हो भन्ने सोचलाई राजनितिक नेतृत्वले ग्रहण गर्न सकेको देखिँदैन।’
नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरिसकेको छ। निर्णय कार्यान्वयन गर्न राष्ट्रिय सभा सदस्य हुँदै अर्थमन्त्री बनेका युवराज खतिवडाले राजीनामा दिइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतीसमक्ष गौतमलाई मनोनयनको सिफारिस गर्न भने बाँकी नै छ।
‘मेरो ट्वीट उहाँ (गौतम)लाई लक्षित होइन, कुनै व्यक्तिलाई लक्षित नै होइन,’ उनले सेतोपाटीसँग भनिन्, ‘मिडियाले अलि बढी व्यक्तिको कुरा गर्छ, मेरो ट्विटचाहिँ प्रवृत्ति लक्षित हो।’
राजनीति गर्ने व्यक्तिलाई कुनै पनि पद मिल्ने नमिल्ने कुरा तत्कालीन राजनीतिक परिस्थितिले नै निर्धारण गर्ने र त्यस्तो परिस्थितिलाई आफूले सम्बोधन गर्न सक्छु कि सक्दिनँ भनेर नेतृत्वमा जाने व्यक्ति आफैंले बुझ्नुपर्ने उनको धारणा छ।
‘पद, प्रतिष्ठा, सामाजिक र राजनीतिक परिस्थितिहरूले निर्धारण गर्छन्, परिस्थितिको सामना वा सम्बोधन गर्न सक्छु भन्ने कुरा कतिपय अवस्थामा व्यक्तिको मात्र पनि हुँदैन,’ उनले भनिन्, ‘संरचना निर्माण र विकासका कुरा हुन्छन् जो नेतृत्व गर्ने व्यक्तिले बुझ्नु पर्यो।’
उनले आफ्नो धारणा अझ प्रष्ट पार्दै भनिन्, ‘हामी कुनै पदमा पुग्नु मात्र ठूलो कुरा होइन, जनताको अपेक्षा, समाजमा त्यो पदको प्रभावजस्ता फरक-फरक विषयलाई पनि राजनीतिज्ञले बुझ्न सक्नुपर्यो, नेतृत्व दिन सक्नुपर्यो।’
आफ्नो ट्विटमा भनिएको ‘एलिटिष्ट एप्रोच’ अर्थात् सभ्रान्त दृष्टिकोणबारे पनि उनले प्रष्ट पारिन्।
उनका अनुसार जीवन र संसारलाई हेर्ने दृष्टिकोणहरू धेरै प्रकारका हुन्छन्। सभ्रान्तवादले शक्ति, पद र प्रतिष्ठालाई बढी महत्व दिन्छ। यी कुराका अघि जनताको आवाज भने बिर्सिन्छ। यस दृष्टिकोणबाट पार्टी र नेताहरू हिँड्ने हो भने गन्तव्यमा पुग्न सकिन्न।
‘हामी त अहिले लोकतन्त्रभित्र छौं, अझै समावेशी लोकतन्त्र,’ उनले भनिन्, ‘समाजवाद उन्मुख लोकतन्त्रमा सभ्रान्त दृष्टिकोणबाट मात्र पुग्दैनौं।’
नेतृत्वले संरचनागत द्वन्द्व र आजका मुद्दाहरू देख्न सक्नु पर्नेमा उनले जोड दिइन्।
कोरोना भाइरसको महामारीसँगै कसरी अघि बढ्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै भट्टराईले भनिन्, ‘हामीले भनेको समृद्ध नेपाल सुखी नेपालीको नारामा मानव विकासका कुरा कसरी बढाउने भन्ने कुरा सोच्नु पर्यो। सम्भ्रान्त दृष्टिकोणमात्र बोक्न भएन।’
राजनीतिमा मात्र नभएर समाजमा नै यही सोच हावी भएको उनको ठम्याइ छ।
‘राजनीतिमा मात्र होइन, समाजमा पनि सामाजिक प्रतिष्ठा पाउन पदमै पुग्नुपर्छ भन्ने छ,’ उनले भनिन्,‘राजनीतिज्ञलाई मात्र होइन, मैले समाजलाई पनि प्रश्न गरेकी हुँ।’
मिडियाले पनि यस्तैखालको दृष्टिकोण र प्रवृत्तिलाई बढावा दिने कुरा मात्र जोड्ने गरेको उनको बुझाइ छ।
‘सांसदलाई मन्त्री हुनुपर्यो, मन्त्रीलाई प्रधानमन्त्री हुनुपर्यो नि भनेर मिडियाले पनि प्रश्न गर्छ,’ उनले भनिन्, ‘त्यस्तै समाजले पनि सामाजिक प्रतिष्ठा पाउने पद र पदसँगै पाउने सुविधाका कुराहरूसँग मात्र जोड्छ।’
अहिले जहीँतहीँ मानिसहरू पद, प्रतिष्ठा र सुविधामा मात्र केन्द्रित भएको उनले बताइन्।
मानव विकास र विकास निर्माणका धेरै दृष्टिकोणहरूमाथि छलफल र बहस हुनुपर्ने उनको भनाइ छ।
नेतृत्वले वस्तुगत अवस्थालाई ध्यान नै नदिई पदमा जाने र पद प्राप्तिमा केन्द्रित भएकोमा उनको चित्त बुझेको छैन। कम्युनिष्टहरूले मार्क्सवादी र नवमार्क्सवादी विचार राख्ने भएकाले त्यही दृष्टिकोणबाट समाजको व्याख्या गर्न सक्नुपर्ने उनले बताइन्।
‘समाज विभेदमा आधारित छ,’ उनले भनिन्, ‘मार्क्सवादी आधारमा पनि राजनीतिज्ञले समाजको व्याख्या गर्न सक्नुपर्यो नि।’
श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि रवीन्द्रको क्षेत्र कास्की-२ बाट उनले चुनाव जितकी थिइन् ।
उक्त क्षेत्रमा निर्वाचन लड्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले आफूलाई प्रस्ताव गरेको उपाध्यक्ष गौतमले बताएका थिए।
नेकपा उपाध्यक्ष गौतमले प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएपछि संसदमा जाने अनेकौं प्रयास गरेका थिए। निर्वाचित सांसदलाई राजीनामा गराएर रिक्त क्षेत्रमा उपनिर्वाचनमार्फत निर्वाचित हुने आकांक्षा असफल भएपछि गौतम राष्ट्रिय सभा सदस्यमा जाने निर्णय गरेका हुन्।
गत मंसिर ११ गते पोखरामा आयोजित नेकपाका चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले अध्यक्षद्वयबाट आफूलाई रवीन्द्र अधिकारीको क्षेत्रमा लड्न जानैपर्छ भने पनि आफूले विद्यालाई राजनीतिमा तान्न चाहेको बताएका थिए।
‘उहाँसहित परिवारसँग मैले नै कुरा गरेर हुन्छ भनेपछि नै हामीले उहाँलाई उम्मेदवारीको निर्णय गरेका हौं,’ उनले भनेका थिए।
अहिले उपाध्यक्ष गौतम कुनै पनि हालतमा संसद र सरकारमा जान लागिरहेका छन्।
सांसद भट्टराईले पद र शक्तिमात्र आर्जन गर्न खोज्ने प्रवृत्ति गलत भएको बताएकी छिन्।
सभ्रान्त दृष्टिकोण आम प्रवृत्ति बनेको भन्दै राजनीतिले यसलाई रोक्नुपर्ने उनले बताइन्।
‘आम प्रवृत्तिलाई राजनीतिले बोक्नेभन्दा पनि राजनीतिले त हरेक कुरालाई निर्देशित गर्न सक्नुपर्यो,’ उनले भनिन्, ‘आजको सन्दर्भमा राजनीतिले समाजलाई कसरी निर्देशित गरिरहेको छ भन्ने महत्वपूर्ण होला नि।’