नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भाषण गर्ने मञ्च फेरिएको छ।
कोरोनाभाइरस महामारीपछि आमसभा, गोष्ठी सम्भव भएन, विकल्पमा उनीहरू भर्चुअल माध्यममा सक्रिय छन्।
कांग्रेस नेताका लागि हिजोआज ल्यापटप अगाडि बसेर आफ्ना कुरा राख्ने र अरूका प्रश्न, गुनासा र सुझाव सुन्ने दैनिकी बनेको हो।
पार्टीको १४ औं महाधिवेशन नजिकिएका बेला भर्चुअल मञ्च नै आफ्ना कुरा राख्ने थलो बनाएका छन्, नेताहरूले।
गत वर्षसम्म कांग्रेसले वीपी कोइरालाको जन्मजयन्तीलाई विशेष कार्यक्रम गरी मनाउँथ्यो।
यसपालि कोरोनाले मञ्च फेरिएको छ, नेताहरूले भर्चुअल माध्यमबाटै आफ्ना कुरा राख्दैछन्।
बुधबारदेखि तीन दिनसम्म कांग्रेसले वीपी जयन्तीमा कार्यक्रम गर्दैछ।
पहिलो दिन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यद्वय प्रदीप गिरि र नरहरि आचार्य भर्चुअल माध्यमबाट एकै मञ्चमा जुट्दैछन्। केन्द्रीय कार्यालयबाट तय गरिएको यो कार्यक्रम ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ विषयमा केन्द्रीत रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बिहीबार पनि भर्चुअल माध्यमबाट नेताहरू छलफलमा जुट्नेछन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा उक्त दिन हुने कार्यक्रममा उपसभापति विमलेन्द्र निधिलगायत वक्ता हुन्छन्।
शुक्रबारको कार्यक्रम भने प्रचार विभागले आयोजना गरेको छ। नरहरि आचार्य र प्रदीप गिरि वक्ता रहेको उक्त कार्यक्रममा ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ बारे छलफल हुने प्रचार विभागले जनाएको छ।
यस्तै कांग्रेसलाई प्रविधि मैत्री बनाउने अभियानमा सूचना, सञ्चार तथा प्रचार विभाग केही समयदेखि सक्रिय छ।
प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको प्रचार विभागले आफ्ना नेतासँग मात्र होइन फरक दलका नेता, स्वास्थ्यकर्मी, अर्थविद्, कर्मचारीहरूसँग पनि संवाद गर्छ।
‘छहारी संवाद’ चलाएको प्रचार विभागले सातामा चार/पाँच दिन कांग्रेसको फेसबुक पेजबाट लाइभ गर्दै समसामयिक विषयमा अन्तर्क्रिया गर्दै आएको छ।
पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सम्बन्ध चिसिएको छ। देउवाले एकलौटी विभाग गठन गरेपछि पौडेल असन्तुष्ट छन्।
यस्तो बेला दुबै नेतालाई केन्द्रीय कार्यालयले बुधबार दिउँसो १ बजे जुममार्फत् एकै मञ्चमा राख्दैछ।
कांग्रेसभित्रका शुभेच्छुक संस्थाले आफू निकटका नेता/कार्यकर्ता समेटेर भर्चुअल बैठक राख्दै आएका छन्, ती बैठकमा प्रायजसो वरिष्ठ नेता पौडेल, उपसभापति निधि, केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेल वक्ता हुन्छन्।
यस्ता जुम मिटिङबाट नै कांग्रेस नेताले छ महिनापछि हुने महाधिवेशनको तयारी गरिरहेका छन्।
पार्टीलाई प्रविधिमैत्री बनाउँदै लगिएको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्। उनकाअनुसार कांग्रेसले आफ्नो वेवसाइट पनि निर्माण गर्दैछ।
‘कांग्रेसलाई सूचना सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधियुक्त (डिजिट्लाइज्ड) बनाउँदै अगाडि बढ्ने अभियान सुरूवात गरिँदै छ,’ शर्माले भने, ‘यसको सुरूआत पार्टीको वेवसाइट अत्याधुनिक रूपान्तरणका साथ सार्वजनिक हुन्छ।’
कांग्रेसलाई प्रविधिमैत्री अभियानमा लैजान र काम चुस्तदुरूस्त बनाउन उपसमितिसमेत गठन गरिएको उनले जानकारी दिए।
जसअनुसार वेवसाइट संयोजन उपसमितिमा गोवर्धन राना मगर, छहारी संवाद संयोजकमा सुरेश आचार्य, प्रविधि संयोजनमा दिपेश विष्ट, टेलिभिजन नेटवर्क सूचना संयोजनमा नीर शाह, रेडियो नेटवर्क सूचना संयोजनमा गोपाल झा, नियमित सूचना सम्प्रेषणमा दिनेश थापा मगर संयोजक तोकिएका हुन्।
यस्तै कांग्रेस सूचना नेटवर्कलाई अझै प्रभावकारी बनाउने कांग्रेसको तयारी छ।
कांग्रेसले सामाजिक सञ्जालमा अभिव्यक्त हुने विचार र भावनासमेत आत्मसात् गर्न लागेको उनले जानकारी दिए। त्यसका लागि सामाजिक सञ्जाल केन्द्रीत उपसमिति बनाइने उनको भनाइ छ।
कोरोना नियन्त्रणबारे जनचेतना फैलाउन कांग्रेसले नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष तथा विभागका सदस्य डाक्टर अन्जनी झालाई ‘कोभिड १९ सूचना संयोजन उपसमिति’ संयोजक बनाएको छ।
कांग्रेसले मुखपत्र नेपाल पुकारलाई प्रिण्ट र डिजिटल दुबै माध्यममा प्रकाशनसमेत गर्ने निर्णय गरेको हो।
प्रविधिमैत्री कांग्रेस बनाउनेबारे दुई दिनसम्म छलफल गरेको कांग्रेस प्रचार विभागले विभन्न रणनीतिसमेत तयार पारेको प्रचार विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए।
प्रचार विभागले सरकारका हरेक दिनका गतिविधिका विवरणसमेत राख्ने उनको भनाइ छ।
‘बैठकले नेकपा सरकारका प्रत्येक दिनका हरेक गतिविधिको विवरण राख्ने निर्णय गरेको छ,’ उनले भने, ‘निर्वाचन घोषणापत्र र सार्वजनिक अभिव्यक्तिबाट जनतामा प्रस्तुत गरेका बचन सरकारमा पुगेपछि संविधान र जनभावना विपरीत गरिएका सबै कामको विवरण संकलन गरेर कम्युनिष्ट सरकारको सपना र वास्तविकतालाई तथ्यपूर्ण ढंगले चिरफार गर्दै अघि बढ्ने निर्णय गरिएको हो।’