नेपाली कांग्रेसले प्रदेश नम्बर २ का आठ जिल्लासहित ११ जिल्लामा समायोजनको काम टुंग्याउन सकेको छैन।
गत वर्ष साउनमा निर्देशिका ल्याउँदै एक महिनाभित्र समायोजनका काम सक्ने बताएको कांग्रेसले १३ महिना बितिसक्दा पनि समायोजनका काम नसकेको हो।
२०७२ सालमा निर्वाचित कार्यसमितिलाई नै संघीय संरचनाअनुसार समायोजन गर्ने निर्देशिका बनाएको कांग्रेसले जिल्ला तथा क्षेत्र तहमा विवाद हुँदा समायोजन टुंगो लगाउन सकेको छैन।
प्रदेश नम्बर २ का पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरीमा समायोजनका काम नसकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
यस्तै, बागमती प्रदेशका सिन्धुपाल्चोक र काभ्रेमा समायोजन बाँकी छ भने गण्डकी प्रदेशको मुस्ताङमा पनि समायोजनका काम सकिएको छैन। गत वर्ष आन्तरिक संगठन समायोजन निर्देशिका ल्याउँदा कांग्रेसले एक महिनाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमिति समायोजन गरिसक्ने र कात्तिकभित्र सबै कार्यसमिति समायोजन हुने घोषणा गरेको थियो। त्यसपछि पटक-पटक म्याद थप गर्दा पनि समायोजनका काम सकिएका छैनन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समायोजन बाँकी रहेका कतिपय जिल्लाबाट फाइल आए पनि रूजु गर्ने काम बाँकी रहेको बताए। ‘अस्ति पनि निर्वाचन समितिको बैठक बसेर समायोजन बाँकी रहेका जिल्लाबारे छलफल भएको थियो। अब अर्को बैठकले बाँकी रहेका जिल्लाका समायोजन सक्ला,’ पौडेलले भने।
गत वर्ष कात्तिकमा समायोजनको काम सकेर केन्द्रमा फाइल पठाएका डडेल्धुरा सभापति कर्ण मल्लले यही साता मात्रै समायोजन टुंगिएको जानकारी पाएका हुन्। ‘गत वर्ष कात्तिकमै समायोज टुंग्याएर केन्द्रमा जानकारी दिएको हुँ। फागुनसम्म क्रियाशिल सदस्यता फारम दिनुपर्ने बल्ल अहिले (भदौमा) पाएँ,’ उनले सेतोपाटीसँग भने, ‘म काठमाडौं नै छु। अब जिल्ला गएर बल्ल क्रियाशिल सदस्यता वितरण र नवीकरणका काम सुरू हुन्छ।’
सभापति शेरबहादुर देउवाको गृहजिल्लामै समायोजनका काम यतिका समय रोकिएको थियो। ‘एक वर्षअगाडि नै टुंग्याएको समायोजन केन्द्रबाट के कारणले रोकिएको थियो हामीलाई थाहा दिइएको थिएन,’ उनले भने, ‘तर, अहिले क्रियाशील फारम दिइसकेका छन्।’ कांग्रेसले गत फागुनमै समायोजन सकेका जिल्लामा क्रियाशिल सदस्यता फारम उपलब्ध गराएको थियो। ‘फागुनमै क्रियाशिल फारम दिएको भए पाँच महिनामा धेरै वितरणका काम हुन्थे,’ उनले भने, ‘केही ढिला भयो। भोलि जिल्ला गएर पार्टी विधान, नियमावली र निर्देशनअनुसार धमाधम क्रियाशिल वितरणको काम हुन्छ।’
१३ औं महाधिवेशनमा निर्वाचित कार्यसमितिका पदाधिकारीलाई ज्येष्ठतालगायतको आधारमा संघीय संरचनाअनुसारका कार्यसमितिमा समायोजन गर्ने कांग्रेसको निर्देशिकामा उल्लेख छ। पहिले क्षेत्रीय कार्यसमितिमा रहेका पदाधिकारीलाई नै समायोजन गरी प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमिति बनाइएको छ।
गाविसस्तरका कार्यसमितिलाई गाउँ/नगरका वडामा समायोजन गरिएको हो। सिन्धुपाल्चोक कांग्रेस सभापति विकास लामाले जिल्लाबाट समायोजनका काम सकेर पठाए पनि केन्द्रबाट टुंगो नलाग्दा क्रियाशिल सदस्यता फारम नपाएको बताए।
‘हामीले जिल्लाबाट समायोजन सकेर केन्द्रमा फाइल पठाएको हो। किन अहिलेसम्म क्रियाशिल नदिइएको बुझ्न सकेको छैन,’ उनले सेतोपाटीसँग भने, ‘महाधिवेशन नजिकिसकेको छ। क्रियाशिलका काममा ढिलाइ भइसक्यो।’
नेताका स्वार्थअनुसार समायोजन केन्द्रबाटै अड्काउने काम भएको उनको भनाइ छ। ‘दुई क्षेत्रमध्ये एक क्षेत्रमा सामान्य विवाद थियो। केन्द्रीय सदस्यलगायतले अनावश्यक चासो दिँदा समायोजन अड्किएको हो भन्ने लाग्छ,’ उनले भने। विधानअनुसारका सबै संरचना नबन्दा पनि समायोजन ढिलाइ भएको उनले बताए। ‘निर्देशिका पनि अपुरो छ,’ उनले भने, ‘प्रदेश कार्यसमिति नै बनेको छैन।’
कांग्रेसले सातै प्रदेशस्तरमा कार्यसमिति बनाएको छैन। जिल्लाबाट समायोजन गरी पठाइएका फाइल निर्देशिका बमोजिम छन् कि छैनन् हेर्ने जिम्मेवारी कांग्रेस निर्वाचन समितिको हो। समितिका संयोजक राधेश्याम अधिकारीले ११ जिल्लामा समायोजनका काम बाँकी रहेकोले अब एक साताभित्र सकिने गरी गृहकार्य गरिरहेको जानकारी दिए।
‘विवाद भएका जिल्लाका साथीहरूसँग बैठक गर्नुपर्ने छ। कोरोनाले गर्दा सकिएको छैन,’ उनले भने, ‘फोन वा जुम बैठक गरेर भए पनि एक साताभित्र बाँकी रहेका जिल्लामा समायोजन सक्छौं।’
प्रदेश नम्बर २ का धेरै जिल्लामा समायोजन बाँकी रहेको र विवाद भएकोले छलफल नै गर्नुपर्ने भएकोले ढिलाइ भइरहेको उनले बताए। ‘उहाँहरूलाई छलफलका लागि काठमाडौं बोलाउन पनि समस्या छ,’ उनले भने, ‘छलफल नगरी समायोजनमा देखिएका विवाद टुंगिने खालका पनि छैनन्।’
विवाद देखिएका जिल्लामा केन्द्रबाटै प्रतिनिधि खटाएर वा पदाधिकारीले नै चासो दिएर छिटो समायोजन गरी क्रियाशिलको काम सक्नुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गरिरहेका छन्। सभापति वा पदाधिकारीले नै चासो नदिएर समायोजन नसकिएको बाहनामा महाधिवेशन पर धकेल्न चलखेल गरिरहेको आरोपसमेत पौडेलको छ।