नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छोटो भाषण गर्छन्।
उनको भाषणमा प्राय: अरूलाई घोचपेच हुन्न। कथा बुनेर कुरा राख्दैनन्। आफ्ना जे छन् सिधा-सिधा भन्ने उनको शैली छ। उनका भाषण सिलसिलावद्ध भने हुँदैन- एउटा कुरा सकेका हुनन्, अर्को थालिहाल्छन्।
कोरोना महामारीपछि कार्यकर्ता भेटघाट पातलिएको छ। केन्द्रीय समिति, पदाधिकारी बैठक बसेको छैन। यस्तो बेला देउवालाई फुर्सद हुनुपर्ने हो तर छैन।
कोरोना महामारीका बेला पनि देउवा सक्रिय छन्। भलै भाषण गर्ने मञ्च हिजोआज पहिलेजस्तो छैन। फेरिएको छ। उनी जुमका माध्यमबाट नेता/कार्यकर्ताका कुरा सुन्छन्, आफ्ना कुरा राख्छन्।
कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका कामकारबाहीबारे अनुगमन समिति बनाएको छ। त्यही समितिले कोरोना महामारीमा सरकारको कामकारबाही र नेपाली कांग्रेसका भूमिकाबारे सातै प्रदेशमा कार्यक्रम गरिरहेको छ।
प्रदेश नम्बर १, २ र बागमती प्रदेशका कार्यक्रम सकिएका छन्। यी कार्यक्रममा प्रमुख अतिथि हुन्छन्, सभापति देउवा। नेता/कार्यकर्ताका कुरा धैर्यताका साथ करिब तीन घन्टा सुनेपछि बोल्ने पालो देउवाको आउँछ।
कांग्रेसले फेसबुक पेजबाट यो कार्यक्रम लाइभ गर्छ। देउवाले कुरा सुरू गर्छन् कोरोना संक्रमित संख्या बढिरहे पनि सरकारले प्रभावकारी काम गर्न नसकेकोबाट। लगातार तीन दिनसम्म फरक प्रदेशमा कार्यक्रम भइसकेका छन् तर देउवाका कुरा भने बदलिदैनन्। प्राय: एकै कुरा देउवाले नेता/कार्यकर्तालाई भनिरहेका छन्।
कतिपय नेता कार्यकर्ताले प्रतिपक्ष भूमिका गतिलो भएन भन्छन्। कतिले सभापतिले प्रधानमन्त्रीलाई गम्भीरताका साथ ध्यानाकर्षण गराउन र जनताका दु:ख टुलुटुलु हेरेर नबस्न सुझाव दिन्छन्। जब बोल्ने पालो आउँछ, देउवाले यसबारे खासै जवाफ फर्काउँदैनन्। नेता/कार्यकर्ताले गुनासोमाथि उनले चित्त दुखाएजस्तो सुनिन्न।
देउवाले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। बागमती प्रदेशस्तरमा सोमबार भएको कार्यक्रममा देउवाले कोरोनाका बेला पनि सरकार भ्रष्टाचारमा लागेको आरोप लगाए।
‘ओम्नीले ठेक्का पारेकोमा भ्रष्टाचार भयो भन्नै हुन्न, धम्क्याइहाल्छन्,’ प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका देउवाले भने, ‘स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको छ। यो कुरा जसले उठाउँछ, उसलाई सरकारले बड्ता बोल्ने भनेर धम्क्याएको छ।’
कोरोना महामारीका बेला पनि सरकार भ्रष्टाचारमा रमाएकोले यो सरकारबाट जनताको सेवा गर्छ भन्ने विश्वास जनतामा नभएको देउवाको भनाइ थियो।
देउवा सरकारको वा पार्टीभित्रै पनि आलोचना गर्न पाउनुपर्छ भन्नेमा छन्।
‘आलोचना गर्न नपाउने भन्ने कहिँ हुन्छ?,’ देउवाले भने, ‘कोरोना टेस्टिङ सामान ल्याउँदा तीन अर्बमा एक अर्ब खायो भन्छ। भ्रष्टाचार गरेको छ भने बुझेर प्रधानमन्त्रीले कारबाही गर भन्नुपर्ने। तर त्यस्तो छैन। यो कुरा उठाउनेलाई उल्टा धम्क्याउने? को डराउँछ धम्क्याएर।’
यो पनि:
देउवाले यति भनेपछि नेता/कार्यकर्तालाई सत्य कुरा नडराइ बोल्न पनि आग्रह गरे।
‘सत्य बोल्नु म साथमा छु,’ उनले भने। उनले कोरोना महामारीमा सचेतना फैलाउने काम पार्टीबाट पनि हुनुपर्ने बताए।
‘कोरोनाको भ्याक्सिन कहिले आउँछ कहिले। सामाजिक दूरी, मास्क र साबुन पानीले राम्रोसँग हात धुनुपर्छ,’ देउवाले भने, ‘आफू बाँच्ने र अरूलाई बचाउने काम गर्नुपर्यो।’
उनले कोरोना संक्रमण तत्काल नरोकिनेजस्तो देखिएकोले रोकथाम तथा नियन्त्रण गर्न गाह्रो हुने पनि बताउने गरेका छन्।
देउवाले चीनमा जस्तो लकडाउन जारी राखिरहन प्रजातान्त्रिक देश भएकोले नेपालमा नसकिने पनि उल्लेख गर्ने गरेका छन्।
‘चीनमा कोरोना कन्ट्रोल गरे अरे। अरू कारणले भन्दा पनि कडा गरेरै होला। हाम्रोमा डेमोक्रेसी छ। धेरै कन्ट्रोल गर्न पनि नसकिएला,’ उनले भने, ‘भाइरसबाट बच्न आफैं सावधानी अपनाउनुपर्छ, सरकारलाई मतलब नै छैन।’
गरिब जनतालाई सरकारले बीमा गरिदिनुपर्ने माग देउवाको छ।
‘सरकारले तत्कालै गरिब जनताको बीमा गरिदिनुपर्छ। गरिब जनतासँग पैसा हुन्न कसरी बीमा गर्छन्,’ उनले भने। चिकित्सकहरू आफैं कोरोना संक्रमित भए पनि सेवामा जुटिरहेकोले देउवाले धन्यवादसमेत दिने गरेका छन्।
फागुनमा तय भएको १४ औं महाधिवेशन नजिकिएका बेला कांग्रेसका नेता/कार्यकर्ता जुम बैठकमै ब्यस्त छन्। सूचना र प्रविधिबाट आफ्ना कुरा राख्न थालेका नेताहरू कहिले जुम अनम्युट गर्न भुल्छन् कहिले धेरै समयसम्म भाषण गरिदिन्छन्।
हिजोआज कांग्रेसका नेताले जुम मिटिङमा आसन ग्रहणदेखि भाषणसम्म गर्छन्। बोल्ने वक्तालाई ५ मिनेट समय दिने र त्यस बढी समय लिए म्युट गरिदिने गर्छन्।