नेपाली कांग्रेसले हिजोआज प्रदेशस्तरका नेता/कार्यकर्तासँग ‘कोरोना रोकथाम, नियन्त्रणमा सरकारका कामकारवाही र पार्टीका भूमिका’बारे भर्चुअल कार्यक्रम गरिरहेको छ।
बुधबार प्रदेश नम्बर ५ का नेता/कार्यकर्तासँग छलफल थियो। प्रमुख अतिथि थिए, सभापति शेरबहादुर देउवा। देउवा करिब तीन घन्टा १९ मिनेटसम्म चलेको कार्यक्रम सुनेर बसिरहे।
यो जुम मिटिङ कोरोनामा मात्रै सीमित छैन। नेताहरूले बोल्दै जाँदा पार्टीभित्र देखिएका विवादबारे पनि कुरा निकाल्छन्।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले महाधिवेशनका कुरा निकाले।
‘देशलाई शिर र जनतालाई काखमा राखेर पार्टीलाई सैद्धान्तिक रूपमा ड्राइभ गर्ने दिन आयो। यो पार्टी र नेताहरूलाई सम्मान गर्न हामी सक्छौं,’ भण्डारीले भने, ‘सभापतिज्यू, हामीलाई जिम्मा दिनुस्- आधुनिक प्रविधि प्रयोग गरेर महाधिवेशन सम्पन्न गर्छौं।’
भण्डारी यतिमा रोकिएनन्। थपे, ‘त्यतिमात्र होइन सभापतिज्यू, हामी कुनै पनि पोस्टमा नउठिकन महाअधिवेशन सम्पन्न गराउँछौं। यस्तो समर्पण, त्याग भएका हजारौं मानिस छन् पार्टीमा। उनीहरूले समान अवसर र न्याय पाउने कि नपाउने? यो प्रश्नले नै पार्टीमा अन्तरघात भएको छ। कांग्रेस कमजोर बनाएको छ।’
यी कुरा सुनिरहेका देउवाको केहीबेरमा बोल्ने पालो आयो।
सुरूमै उनले केही कुरा उठिसकेकोले जवाफ दिनुपर्ने बताए। ‘चन्द्र भण्डारीजी यहीँ (जुममा) हुनुहुन्छ होला होइन?,’ देउवाले सोधेपछि भण्डारी बोले, ‘म छु। सुन्छु सभापतिज्यू।’
भण्डारीले आफू त्यहीँ भएको जानकारी दिएपछि देउवा भने- तपाईंलाई नै सुनाउन खोजेको।
भण्डारीले भने, ‘मैले पनि सभापतिलाई नै सुनाउन खोजेको हुँ नि!’
देउवाले आफू पार्टी विधानभन्दा बाहिर जान नसक्ने बताए।
‘मैले चाहेर पनि पार्टी विधानभन्दा बाहिर जानै सक्दिनँ,’ देउवाले भने, ‘तपाईंलाई थाहा छ महाधिवेशन हुन्छ भनेर। तैपनि किन आशंका गर्नुहुन्छ त्यसरी?’
यति भनेपछि देउवाले भण्डारीलाई जनताबाट निर्वाचित भएर आउन आग्रह गरे।
‘तपाईंलाई एउटै अनुरोध, भोलि चुनाव जित्नुहोला। नेपालको ठूलो जनता हो क्या जनता,’ देउवाले भने, ‘जनता देशको मालिक हो। मलाई गाली त जसले पनि गर्न पाएकै छ नि!’
देउवाले आफ्नो विरोध गर्नुभन्दा जनताबाट जितेर आउनु ठूलो हुने पनि बताए।
‘मेरो विरोध गर्नु ठूलो कुरा होइन। जनतामा गएर भोटले जितिदिनुस् न त्यति गरिदिनुस् न,’ उनले भने। देउवाले आफ्नो विरोध भइरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कसैले विरोध नगरेको पनि दुखेसो पोखे।
‘अहिले के अचम्म छ भने शेरबहादुरको विरोध गर्न पाइन्छ। सबैले विरोध गर्छन्,’ देउवाले भने, ‘ओलीको विरोध कसैले गर्न सक्दैनन्, यस्तो अवस्था भइसक्यो। ओलीको विरोधमा कोही बोल्दैन, शेरबहादुरको विरोधमा जो पनि बोलेका छन्। प्रजातान्त्रिक पार्टीमा विरोध गर्न पाइन्छ, अधिकार छ।’