बुधबार मन्त्रिपरिषदले मुख्यसचिवमा नियुक्त गरेका शंकरदास बैरागी परराष्ट्रका ‘करियर डिप्लोम्याट’ हुन्।
उनी ६० वर्षपछि परराष्ट्र पृष्ठभूमिबाट मुख्यसचिव बन्ने दोस्रो व्यक्ति बनेका छन्। बैरागीअघि २०१७ सालमा तत्कालीन परराष्ट्र सचिव शोभारजंग थापा मुख्यसचिव नियुक्त भएका थिए।
बैरागी पर्वत जिल्लामा २०२३ जन्मेका हुन्। बैरागी लेख्ने उनको खास थर खनाल हो। बैरागीले २०४४ सालमा नायब सुब्बाका रूपमा परराष्ट्र सेवा सुरू गरेका हुन्। अधिकृत, उपसचिव, सहसचिव हुँदै उनी परराष्ट्रमै सचिव बने।
बैरागीले नेपाल कानुन क्याम्पसबाट स्नातक गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर गरेका छन्। उनले २००२ मा ब्रसेल्सको फ्रि युनिभर्सिटीबाट युरोपेली एकीकरण र विकास (यूरोमास्टर) मा पनि स्नातकोत्तर गरेका छन्।
बैरागी २०७२ असोज २४ गते सचिवमा बढुवा भएसँगै परराष्ट्र सचिव नियुक्त भएका थिए।
उनी मेहनती र अध्ययनशील व्यक्तिको छवि बनाएका व्यक्ति हुन्। बैरागी परराष्ट्र मामिलामा कुशल भूमिका निर्वाह गर्ने खुबी भएका व्यक्ति रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।
‘बैरागीजी अध्ययनशील र मिहिनती स्वभावको हुनुहुन्छ,’ पूर्वपरराष्ट्र सचिव मदन भट्टराईले सेतोपाटीसँग भने, ‘उहाँको नेतृत्वमा सरकारी सेवामा थप प्रभावकारीता र जनताले अनुभूति गर्ने खालको सुशासन कायम हुने छ भन्ने अपेक्षा गर्न सकिन्छ।’
२०७० सालमा नेपाल फर्किएर बैरागीले २० महिना परराष्ट्र मन्त्रालयको कार्यवाहक सचिवका रूपमा काम गरे। त्यो बेला उनी सहसचिव मात्र थिए।
नेपाल आउनुअघि उनी फेब्रुअरी २०१२ देखि नोभेम्बर २०१३ सम्म संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठनको स्थायी प्रतिनिधि भएका थिए।
विश्व व्यापार संगठनमा नेपाली राजदूतका रूपमा बैरागीले सन् २०१३ मा न्यून विकास भएका देशहरूको परामर्श समूहको संयोजकको रूपमा काम गरेका थिए। बैरागीले विश्वव्यापी संगठनको नवौं मन्त्री सम्मेलन (बाली प्याकेज)को नतिजाबारे आलोचनात्मक वार्तामा यस समूहलाई सफलतापूर्वक अगाडि बढाएका थिए।
सन् २०१२ मा दोहामा आयोजित ट्रेड एण्ड डेभलपमेन्ट सम्मेलनमा उनले जेनेभामा न्यून विकास भएका देश (एलडिसी) समूहको नेतृत्व गरेका थिए।
राजदूत/स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालमा बैरागीले नेपाली प्रतिनिधिमण्डलको संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्, विश्व स्वास्थ्य सम्मेलन, डब्ल्यूआइपिओ सम्मेलनहरू, शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यकारी समिति, आइओएम काउन्सिल र युएनसिटिएडीको व्यापार तथा विकास बोर्डको नेतृत्व गरे। उनले जेनेभामा भएका थुप्रै अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा पनि छलफल गरे।
बैरागीले संयुक्त राष्ट्र संघ, न्यूयोर्क (नोभेम्बर २००९-फेब्रुअरी २०१२) मा नेपालको उपस्थायी प्रतिनिधिको रुपमा पनि काम गरेका छन्।
बैरागीले नयाँदिल्लीस्थित नेपाली दूतावासमा पनि काम गरेका छन्। उनलाई अस्ट्रेलियाको क्यानबेरामा आवासीय दूतावास स्थापना गर्न खटाइएको थियो।
बैरागीलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री आफैंले इच्छा देखाएको बालुवाटार स्रोतले बतायो।
मुख्यसचिव नभएका भए बैरागी असोज २२ गते अवकाशमा जाने थिए। त्यसैकारण प्रधानमन्त्री ओलीले निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेर बैरागीका लागि मुख्यसचिवको कुर्सी खाली गराएका हुन्।