नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारीमा छन्। हालै सभापति शेरबहादुर देउवालाई भेटेर उनले आफूलाई समर्थन गर्न भनिसके।
तर देउवाले आफू पछिको नेता तपाईं नै हो भन्दै श्रेष्ठको प्रस्ताव स्वीकारेनन्।
देउवा अर्को कार्यकालका लागि पनि सभापति उठ्ने संकेत पाएका श्रेष्ठ अब देउवालाई पनि सभापति नछाड्ने निष्कर्षमा पुगेका छन्।
जतिसुकै कडा प्रतिस्पर्धा हुने भए पनि सभापति उठ्ने श्रेष्ठको भनाइ छ।
‘मैले सभापतिजीलाई भेटेर तपाईं अब नलड्नुस्, सभापतिमा मलाई समर्थन गर्नुस् भनिसकेको छु,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘दु:खका बेला मैले धेरै पटक देउवालाई काँध थापेको थाप्यै छु।’
उनले अब हुने महाधिवेशनमा देउवा लडे पनि आफू पनि लड्ने तयारीका साथ नेता/कार्यकर्तासँग कुराकानी भइरहेको बताए।
‘देउवामात्र होइन जोसुकै सभापति उठे पनि अब म सभापति उठ्ने हो,’ उनले भने, ‘१५ औं महाधिवेशनसम्म कुर्ने पक्षमा म छैन।’
आफू उपसभापति भइसकेकोले स्वभाविक सभापतिको दाबेदार भएको उनले बताए।
‘शेरबहादुरजीलाई गर्न पर्ने सबै दु:ख गरिसकें। पहिले पार्टी फुट्दा मैले नै सर्वसम्मत सभापति बनाएँ। बाह्रौं महाधिवेशनमा पूर्ण रूपमा सघाएँ। १३ औं महाधिवेशनमा सभापति नै जिताएँ,’ उनले भने, ‘यो महाधिवेशनमा त देउवाले पनि मलाई सहयोग गर्नुपर्यो नि!’
श्रेष्ठ देउवा खेमाका नेता हुन्। उनी अहिले कांग्रेसको संगठन विभाग प्रमुख छन्।
देउवाले कांग्रेस फुटाएर प्रजातान्त्रिक गठन गरेदेखि नै उनी देउवालाई साथ दिँदै आएका छन्। देउवाले अर्को कार्यकाल पनि आफू नै सभापति बन्न चाहना राखेपछि श्रेष्ठ देउवासँग बिच्किएका छन्।
देउवासँग प्रतिस्पर्धा गर्न परे पनि गर्ने तयारीसहित आफू अगाडि बढेको उनले बताए। उपसभापतिसमेत रहेका विमलेन्द्र निधिसँग पनि आफू अब सभापति उठ्नेबारे बताइसकेको श्रेष्ठले जानकारी दिए।
निधि आफैं सभापति उठ्ने तयारी गर्दैछन्।
‘विमलजी (विमलेन्द्र निधि) तपाईंको अझै उमेर छ। १५ औं महाधिवेशनमा सभापति उठ्नुहोला। बरू त्यसबेला म पूर्ण रूपमा सहयोग गर्छु,’ आफूले निधिसँग गरेको कुराकानीबारे श्रेष्ठले भने, ‘यसपटक मलाई सहयोग गर्नुपर्यो।’
पाँच वर्षअघि कांग्रेसको १३ औं महाधिवेशनमा देउवा खेमाबाट देउवा मात्रै उम्मेदवार थिए। अहिले देउवा खेमाबाट उनीसहित श्रेष्ठ र निधिले पनि तयारी थालेका छन्।
आफ्नो खेमाबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, शेखर कोइरालासँग पनि आफूलाई सभापतिमा सघाउन आग्रह गरेको श्रेष्ठले बताए।
‘म सबैलाई मिलाएर लैजान सक्छु। मलाई कसैले पनि अर्घेलो देख्दैनन्,’ श्रेष्ठले भने, ‘मेरो नेतृत्वमा निधिदेखि गगन थापा, गोविन्द भट्टराईहरू समेत समेटेर अगाडि बढ्छु। महिलालगायत सबै कलस्टरलाई नेतृत्वमा पुर्याउँछु।’
एकपटक कांग्रेसको सभापति हुने इच्छा रहेकोले यसपटक महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिइछाड्ने श्रेष्ठले बताए।
‘जनआन्दोलन सफल बनाएर गणतन्त्र ल्याउने बेला नेतृत्व गर्ने म नै हुँ। त्यसबेला देउवाजी जेलमा हुनुहुन्थ्यो,’ उनले भने, ‘अब यसपटक सभापति उठिएन भने अर्कोपटक मौका मिल्दैन। नयाँ पुस्ता आउँछ।’
देउवासँग चुनाव उठ्ने भए त आफ्नै खेमाभित्र कडा प्रतिस्पर्धा हुने भयो नि भन्ने प्रश्नमा उनले नेता/कार्यकर्ताले नेतृत्व परिवर्तन चाहेको उल्लेख गरे।
‘सकेसम्म सहमतिबाट नभए त कडा प्रतिस्पर्धा भए पनि उठ्ने हो,’ उनले भने, ‘म त प्रतिस्पर्धामा होमिइसकेँ। धेरै साथीहरूले कुनै हालतमा छोड्न हुन्न भनेका छन्।’