पार्टीभित्र देखिएको विवाद किनारा लगाउन बसेको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यहरूले लिखित रूपमा राखेका १६ बुँदे असहमतिबारे सोमबार छलफल भए पनि कुनै निर्णय भएन।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी विधि विधानअनुसार चल्न नसकेको बताएका थिए।
उनले सभापति देउवाले निर्वाचन आचारसंहिता विपरीत विभागहरू गठन गरेकोले त्यो खारेज हुनुपर्ने दोहोर्याएका थिए।
छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार आज कुनै ठोस सहमति भएन। भोलि दिउँसो १ बजे पुन: बैठक बस्ने उनले बताए।
‘हामीले राखेका असहमतिबारे संस्थापन पक्षले गम्भीर ढंगबाट लिएको देखिएन,’ बैठकपछि केसीले सेतोपाटीसँग भने, ‘भोलि पुन: बैठक छ। हामीले केही गल्ती गरेको छैन। सबै ठिक गरेका छौं भन्ने संस्थापन पक्षको भनाइ रह्यो।’
बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले गरी तीन घण्टा बोलेका थिए। उनीहरूले अहिलेको नेतृत्वले विधानअनुसार नै काम गरिरहेको दावी गरेका थिए।
बैठकमा सभापति देउवाले पार्टीभित्र देखिएका असहमति हल गरेर जानुपर्ने भन्दै विषय प्रवेश गराएका हुन्।
सहमहामन्त्री प्रकाशशरण महतका अनुसार आजको बैठक सौहार्दपूर्ण रह्यो। पार्टीभित्र सामान्य विवाद रहेकोले भोलि छलफल गरी टुंगोमा पुग्ने महतले बताए।
‘आज विषय प्रवेश मात्रै भयो। नेताहरूले आफ्ना कुरा राख्नुभयो,’ उनले भने, ‘भोलि बस्ने बैठकले असमझदारी हल गर्छ।’
उनले पार्टीभित्र धेरै मतभिन्नता बाँकी नरहेको पनि दाबी गरे।
‘क्रियाशील सदस्यता र समायोजनलगायत सामान्य विवाद छ,’ महतले भने, ‘भोलि यी विषय टुंगिन्छ।’
आजको बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए। वरिष्ठ नेता पौडेलले राखेका असहमतिबारे छलफल गरी टुंगोमा पुग्नुपर्ने धारणा उनले राखेका छन्।
कांग्रेसले महाधिवेशनबारे छलफल गर्न कात्तिक २१ मा केन्द्रीय समिति बैठक राखेको छ।
उक्त बैठकअघि नै आफूहरूले राखेका असहमतिबारे छलफल गरी टुंगोमा पुग्न वरिष्ठ नेता पौडेलले माग गरेपछि सभापति देउवाले अनौपचारिक बैठक राखेका हुन्।
आजको बैठकमा १४ औं महाधिवेशनबारे विषय प्रवेश नै नभएको र भोलि यसबारे छलफल हुने नेताहरूले बताएका छन्।
कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ तर क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंगिएका छैनन्।
महाधिवेशन सुनिश्चिततालगायत विषयमा नेतृत्व प्रष्ट हुनुपर्ने भन्दै गत असोज १२ मा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले पार्टी कार्यालयमा हस्ताक्षर नै बुझाएका थिए।
पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले १६ बुँदे असहमतिसहित हस्ताक्षर बुझाएका थिए। उक्त फरक मतबारे आज पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा छलफल गरिएको थियो।