नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच पछिल्लो विवाद उत्कर्षमा पुग्दै गर्दा त्यसको प्रभाव गण्डकी प्रदेशमा पनि देखिएको छ।
नेकपा गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भनेर दिएको अभिव्यक्तिलाई लिएर पूर्व माओवादी नेताहरूले कडा आलोचना गरेका छन्।
नेकपा केन्द्रीय सदस्य समेत रहेका प्रचण्ड पक्षीय नेता राजकाजी गुरूङले मुख्यमन्त्रीको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै पार्टीको महत्वपूर्ण विषयलाई हलुका ढंगले लिएको बताए।
‘पार्टीभित्रको महत्वपूर्ण विषयलाई यति हलुका अभिव्यक्ति दिएर आफ्नो ओज नघटाउनुस् इन्चार्ज कमरेड,' गुरूङले फेसबुकमा भनेका छन्।
प्रचण्ड पक्षीय अर्का नेता रामजी बरालले पनि मुख्यमन्त्री गुरूङ ओलीको एक नम्बर विश्वास पात्र बन्ने दौडमा लागेको दाबी गरे।
‘पार्टीको एउटा अध्यक्ष केपी ओली जीको एक नम्बरको विश्वास पात्र बन्ने दौडमा केही नेता लागि परेका छन्,' बरालले फेसबुकमा लेखेका छन्,‘ओलीजीले पार्टी फुटाल्नेसम्मका प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसँग राख्ने कुरा व्यङ्ग्य गर्नु भएको भनी बचाउ गर्नु लज्जाको विषय हैन?’
मुख्यमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेकपा गण्डकीकै अर्का सांसद दीपक कोइराला पनि रूष्ट देखिए।
कोरोना भाइरसका कारण प्रदेशमा दिनानुदिन सर्वसाधारण मर्नुपर्दा समेत सरकारले कुनै जिम्मेवारी बहन नगरेको भन्दै उनले त्यसको दोष पनि प्रचण्डलाई दिएर उम्कनुहुन्छ? भनेर प्रश्न गरेका छन् ।
कोइरालाले फेसबुकमा लेखेका छन्, ‘पार्टी कसकाे कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रूपमा व्यहोर्नुपर्ला (यदी पार्टी फुट्यो भने) त्यो समयले नै बताउला। तर प्रदेशका नागरिक सामान्य उपचार र अस्पतालको बेड नपाएर मर्नुपरेको दोष पनि प्रचण्डलाई नै दिएर उम्किनुहुन्छ कि केही गर्नुहुन्छ मुख्यमन्त्री ज्यू?’
गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति समेत रहेका सांसद कोइरालाले अघिल्लो पटकको विवादमा मुख्यमन्त्री गुरूङले पोखराको लेकसाइडस्थित एक होटलमा ओली पक्षीय कार्यकर्ता भेला गरेको समेत आरोप लगाए।
‘अघिल्लो पटक दुई अध्यक्षको विवाद हुँदा उहाँले (मुख्यमन्त्री गुरुङ)ले पार्टी फुट्ने भयो भनेर ओली पक्षीय जिल्ला स्तरीय कार्यकर्ता भेला गर्नुभयो,' कोइरालाले सेतोपाटीलाई भने, ‘अहिले पनि ओलीको पक्षमा लागेर पार्टी फुट्ने अभिव्यक्ति दिँदै हुनुहुन्छ।’
मुख्यमन्त्री गुरुङको अभिव्यक्ति विवादित भएपछि लमजुङको घलेगाउँ पुगेका मुख्यमन्त्री गुरूङले सहयोगी मार्फत आफू पार्टी एक गठका लागि मरिमेटेर लागिपरेको बताएका थिए।
घलेगाउँमै बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टी फुटे दुबै अध्यक्ष जिम्मेवार हुने बताए।
प्रचण्डले पार्टी एकताका बाँकी काम सहमतिमा गर्नुपर्ने उनको भनाइ थियो। संसदीय दलमा भित्रभित्रै प्रचण्डले प्रधानमन्त्रीको विरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी सुन्नमा आएको मुख्यमन्त्री गुरूङले बताए।
मुख्यमन्त्री गुरूङले कसले अविश्वासको प्रस्ताव ल्याउने भन्नेबारे नबताएपनि अर्का अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका थिए।
गण्डकीमा ओली पक्ष र प्रचण्ड पक्षबीच वादविवाद चलिरहँदा माधव नेपाल पक्ष भने चुपचाप छन्। ओली पक्ष बलियो रहेको गण्डकीमा नेपाल पक्षका कार्यकर्ता न्यून भएकाले पनि खुलेर बोल्न सक्ने अवस्थामा छैनन्।
गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमा नेकपाको मात्रै दुई तिहाई छ। नेकपाका ४० सांसद छन्। जसमा प्रचण्ड पक्षका ११ जना छन् भने नेपाल पक्षका १ जना मात्र।
बाँकी २८ सांसद ओली पक्षका छन्। प्रदेश सभामा प्रमुख प्रतिपक्ष काँग्रेसको १५, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन्।