नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहितका ५ जना सचिवालय सदस्यहरूको आज धुम्बाराहीमा बसेको वैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सचिवालय बैठक बोलाउनका लागि आग्रह गर्ने भएको छ।
आज बिहान पार्टी कार्यालयमा बसेको बैठकले ओलीलाई लिखितरूपमै वैठकका लागि आग्रह गर्ने बताइएको छ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए।
पार्टी र सरकार संचालनलाई लिएर केही महिना यता पार्टीका दुई अध्यक्षबीच किचलो चल्दै आएको छ।
पार्टीमा जारी अन्तरविरोधका बारेमा यसअघि पार्टीका दुबै अध्यक्षबीच बिहीबार छलफल भएको थियो।
सो छलफलमा दुबैले एकअर्कालाई असहयोग गरेको आरोप लगाएका थिए।
दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई स्थायी कमिटीको निर्णय अनुसार अघि बढ्न समेत भनेका थिए।
त्यसअघि आइतबार प्रचण्ड निवास खुमलटारमा उनीसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा भेला भएका थिए।
भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अलग गर्न प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए।
त्यस्तै ५ नेताको बैठकले सचिवालय बैठक बोलाउनपर्ने र पार्टी एकताका लागि हदैसम्मका प्रयास गर्ने निष्कर्ष निकालेको थियो। बिहीबार प्रचण्ड र नेपालले आफू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए।